सिमाना अतिक्रमणको बिरुद्धमा उत्रिए हिन्दू अभियान्ता
समसामयिक

सिमाना अतिक्रमणको बिरुद्धमा उत्रिए हिन्दू अभियान्ता


२२ कार्तिक, निरन्तर भईरहेको सिमाना अतिक्रमणका बिरुद्ध हिन्दू अभियान्ताहरुको एक समुह बिरोधमा उत्रिएको छ। "हिन्दू युवा संयोजन नेपाल" नामक धार्मिक समुहका युवा अभियान्ताहरु चिनियाँ दुतावास (बालुवाटार) नजिक करिब १ घण्टा जति हातमा विभिन्न नारा लेखिएको प्लेकार्ड सहित सडक पेटिमा लामबद्ध भई शान्तिपुर्ण बिरोधको कार्यक्रम सम्पन्न गरे। करिव ३०-३५ जनाको उपस्थिति रहेको कार्यक्रममा युवाहरुले, "सिमा अतिक्रमण बन्द गर","चीनद्वारा मिचिएको भुमि फिर्ता गर", "हुम्ला हाम्रो हो" लगायतका प्लेकार्डहरु बोकेका थिए।  


 सिमाना अतिक्रमणको कुरा गर्ने बित्तिकै भारतको तर्फ धेरैको ध्यान खिच्ने गरेको छ। तर बिगत केहि समय यता नेपालको उत्तरी छिमेकी चीनसंग पनि सीमाविवादका घटनाहरु आउन थालेका छन। चिनपट्टिको सिमाना अत्यन्त कठिन भौगोलिक क्षेत्र भएर पनि बारम्बार सीमाविवादका घटनाहरु आइरहेका छन्।


हिन्दू युवा संयोजन नेपालका महासचिव रोशन नेपालले "यस्ता एक दिने बिरोध कार्यक्रम गर्नाले सरकारले अवश्य पनि सुन्दैन र सिमा अतिक्रमणका बारेमा ठोस पहल गर्दैन, तर पनि यस्ता बिरोधका कार्यक्रमहरु निरन्तर गरिरहन आवश्यक छ, सचेत देशभक्त युवाहरुले देशको सिमाना, धर्म र राष्ट्रियताका बिसयमा निरन्तर सरकारलाई घचघच्याइरहने हो भने सरकार अवश्य पनि यस्ता कुराहरुमा निर्णय लिन बाध्य हुनेछ। त्यसैले हरेक तह र तप्का बाट सीमाविवादका घटनाहरुमा सचेत नागरिकहरु जागरुक भई बिरोध गर्नुपर्ने" बताए। 


त्यस्तै समुहका अर्का सदस्य बिकास अधिकारीले, "चीन र भारत दुवै तर्फबाट अतिक्रमित र विवादित क्षेत्रका बारेमा एक आयोग नै गठन गरि प्राबिधिक तवरले सिमाको अध्ययन अनुसन्धान गर्नुपर्ने बताए।  साथै उनले सिमा अतिक्रमणाका घटनाहरुमा नेपाल सरकारले आफ्नो बलियो कुटनैतिक पहल गरि गुमेका नेपाली भूमिको फिर्ता गर्नुपर्ने माग गर्नुभयो।" 


कस्ता छन चीनसंगका सीमाविवादका घटनाहरु ? 

हालसालैको घटनाको रुपमा हुम्लाको सिमा विवादलाई लिन सकिन्छ। कालापानीमा भारतले सडक बनाए जस्तै हुम्ला जिल्लाको नेपाली सरहद भित्र, चीनले भवन निर्माण गरेको घटना बाहिर आएको छ। नेपाली राजनीतिमा लामो समय यसले तरंगित बनायो।  यसले नेपाली राजनीतिज्ञहरुको अकर्मण्यताको उजागर गरेको छ। बिडम्बना कतिसम्म्म भयो भने, सिमा क्षेत्रको सुरक्षा गर्न खटिएका नेपाली पक्षसंग आवश्यक हात हतियार, प्रयाप्त नक्सा र अध्यनका लागि उपकरणहरुको अभाव छ। सिमानाको पहरेदार भएर खटिनुपर्ने सुरक्षाकर्मीहरु सिमाना सम्म गएर सिमा क्षेत्रको अवलोकन समेत गर्न सक्ने अवस्थामा छैनन। साथै नेपाल सरकार समेत यस्ता कुराहरुमा चासो दिदैन।  सरोकारवाला व्यक्तिहरुले नै ध्यान नदिए पछि अतिक्रमणका घटनाहरु नहुने कुरै भएन।   


केहि महिना अगाडि गोरखा जिल्लाको उत्तरी भेगको रुई गाउँका बारेमा संसदमा समेत निक्कै चर्चा भएको थियो। जुन केहि दशक अघि सम्म नेपाल सरहद भित्रै भएको तर बिगत केहि समय यता चीन पट्टि परेको छ। परराष्ट्रमन्त्रि प्रदिप ज्ञवालीले रुई गाउँ नेपालभित्र नपर्ने बताएका थिए।  तर सिमा सम्बन्धि अध्यन अनुसन्धान गर्ने व्यक्तिहरुले सरकारको टिप्पणीलाई गलत भनेका छन्। हाल नेपाल सरहद भित्र भएको साम्दो नामको एक गाउँ छ, जहाका बासिन्दाले रुई गाउ पहिले नेपालकै थियो भनिरहेका छन्। उनीहरु समेत तत्कालिन समयमा आफ्नो खेत बारी र बस्तु गोठ भएको क्षेत्रमा आई बसेको हुनाले साम्दो गाउँमा अडिए तर वास्तविक थाकथलो हालको रुई गाउँ भएको बताइरहेका छन् ।आजपनि साम्दो (हाल नेपाल) गाउका केहि परिवारहरुको पारिवारिक सम्बन्ध रुई गाउँ ( हाल चीन) पट्टि छदै छ। केहि दशक सम्म वारि-पारि एकै थियो। त्यसैले पनि यो घटनामा नेपालको आफ्नो बलियो प्रमाणहरु हुँदाहुदै पनि नेपाल सरकार यसबाट पन्छिन खोजेको हो कि भन्ने आरोप लाग्दै आएको छ।

चीन पट्टिको सीमाविवाद तथा सिमा अतिक्रमण भारतको तुलनामा संख्याको हिसाबले थोरै भए पनि केहि सीमाविवादका घटनाहरु निक्कै पुराना पनि छन्। सगरमाथाकै बिसयमा पनि विवाद नभएको होइन, तर तत्कालिन समयमा बिशेष कुटनैतिका कारण सो समस्या समाधान गरियो।

बिगत लामो समयको राजनीतिक अस्थिरताको कालखण्डमा चीन र भारत तर्फ बाट के कति सिमा अतिक्रमण भए त्यसको पनि कुनै लेखाजोखा छैन, पुराना अतिक्रमित भूमिमा कुनै पनि उचित कुटनैतिक पहल गरिएको छैन।  नेपालले आफ्नो भूमिको  बारेमा प्राबिधिक खोज अनुसन्धान पनि गरेको छैन।  जसले गर्दा नेपाली सार्वभौमिकता प्रहार भईरहेको छ।  सिमा अतिक्रमणका घटनाहरु आइरहेका छन्।