जनैपुर्णिमा तथा विश्व संस्कृत दिवस
समसामयिक

जनैपुर्णिमा तथा विश्व संस्कृत दिवस



आज श्रावण शुक्ल पक्ष अर्थात जनै पुर्णिमा । देशभर धुमधामका साथ यो पर्व मनाइदै छ । यसलाई पुरुषहरुको विषेश पर्व पनि भनिन्छ । आजैको दिनलाई विश्व संस्कृत दिवसको रुपमा समेत मनाइदै छ । श्रावण शुक्ल चतुर्दशीका दिन चोखनीतिका साथ मुण्डन गर्दै एक छाक खाई पुर्णीमाका दिन गुरु र शिष्य लगायतका अन्य व्यक्तिहरु पवित्र जलाशयमा गई माटो, गोबर, भष्मका साथ कुश, दतिवन, दूबो प्रयोग गर्दै स्नान गर्दछन । स्वास्थ विज्ञानका आधारमा उत्त स्नानमा आध्यात्मिकताका साथ निरोगिता र वैज्ञानिकता रहेको पाइन्छ ।


पवित्र काचोँ धागोबाट बनाइएको, शिवालयमा अग्नि होम आदि गरेर वैदिक मन्त्रबाट जागृत गराई हातमा डोरो बाधिन्छ ।

येन बद्धो वलिःराजा दानवेन्द्रो महावलः तेन त्वां प्रतिबध्नामि रक्षमाचल माचल ।।

अर्थात जसरी सत्ययुगमा दानवद्धारा लखेटिएका देवगणलाई बचाउन गुरु बृहस्पतिले रक्षाविधान गरी तयार गरेको रक्षाबन्धन बाट अत्यन्त वलशाली दानवराज वलिलाई बाँधेका थिए, त्यसरी नै म तिमीलाई बाध्छु , यसले तिमी सुरक्षित बन, विचलित नहोउ । भन्ने  अर्थ भएको वैदिक मन्त्र वाचन गरेर रक्षा बन्धन बाँध्ने प्रचलन छ । यज्ञोपवित संस्कार अर्थात जनै धारण योग्य ब्राम्हण तथा क्षत्रीयहरुले आज नयाँ जनै धारण गर्दछन । 


नेवारहरुमा यो पर्व गुन्हु पुन्ही का रुपमा मनाइन्छ भने बौद्ध मार्गीहरुले पवित्र तिर्थमा गई स्नान गरि मनाउछन । आजैका दिन भगवान गौतम बुद्धले काममाथी विजय प्राप्त गरेको कथन छ । काठमाडौँको पशुपतिनाथ, गोकर्णेश्वर, कालिञ्चोक, हलेसी, गोसाइकुण्ड, कुम्भेश्वर लगायत स्थानहरुमा विशेष मेलालाग्ने गर्दछ । यसका साथ साथै देशभरका तलाउहरुमा स्नान गरि ब्राम्हणबाट रक्षाबन्धन र जनै धारण गरिन्छ । तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी बहिनी र दाजु भाईको आपसी मायाको चाडका रुपमा पनि लिइन्छ । आजको दिन दिदी बहिनीले आफ्ना दाजु भाइको दीर्धायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको बचन लिने चलन छ । 


जनैपुर्णीमाका तिनपक्ष रहेका छन । यज्ञोपवित, रक्षाबन्धन र अध्यायोकर्मागऋषितर्पणी । हिन्दु धर्मका वैदिक ग्रन्थ अनुसार जनैलाई ब्रम्हसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न वा वेदाध्यान गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ ।  


जनैपुर्णीमाको अर्काे महत्वपुर्ण पक्ष भनेको क्वाटि हो । नौ थरीका गेडागुडी भिजाएर टुसा उम्रेपछि खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारणचिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।