यसरी सुरु भयो इन्द्रजात्रा
समसामयिक

यसरी सुरु भयो इन्द्रजात्रा


विशेषगरी काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल र देलखामा इन्द्रजात्रा मनाइन्छ । संस्कृतिविदहरुका अनुसार यो जात्रा दशै तिहार र फागुभन्दा पनि पुरानो हो भनिन्छ । हरेक वर्ष भाद्र शुक्लपक्ष यँलाथ्व द्धादशीका दिन इन्द्रजात्रा धुमधामका साथ मनाइन्छ । यो पर्व र लिगों ध्वजा ठड्याउने प्रचलनको बारेमा वाल्मीकि रामायण,महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, भविष्य पुराण आदिमा वर्णन पाइन्छ । इतिहासमा आजकै दिन राजा पृथ्वीनारायण शाहले राजा जयप्रकाश मल्ललाइ हराई कान्तिपुर विजय गरेका थिए । 


जात्रा सम्बन्धी किम्बदन्ती 

स्वर्गका राजा इन्द्र आफ्नी आमालाई वसुन्धराको व्रतका निम्ती पूजा सजाउन आवश्यक फुल पुष्प लिन राजा इन्द्र स्वयं काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा स्थानीय जनताले नियन्त्रणमा लिई डोरिले पाता कसे । यसरी जनताले राजा इन्द्रलाई पाता कसी बिच बाटोमै जात्रा गरेको दिनलाई स्मरण गर्दै इन्द्रजात्रा मनाइन्छ । यस बन्धनबाट मुक्त गराउन राजा इन्द्रका आमा पनि काठमाडौँ आई छोरालाई छुटकारा दिलाउन स्थानीय जनतालाई फकाउन कुहिरो दिने वाचा गर्छिन । आजप्रयन्त धानबाली राम्रो गराउन कुहिरोले विशेष भुमिका खेल्दछ भन्ने जनजिब्रोमा प्रचलित नै छ । 


पुराणहरुका अनुसार प्राचीन कालमा देवता र असुरहरु ठुलो युद्धको तयारीमा लागे । देवराज इन्द्रलाई युद्धमा जिताउन त्रिदेव र सम्पुर्ण देवगणहरुले ध्वजा पाता बनाएर इन्द्रलाई हस्तान्तरण गरे । उक्त ध्वजालाइ इन्द्रध्वजा भनियो । देवासुर संग्राममा देवताहरुको विजय भयो । यसपछी उक्त इन्द्रध्वज पुजा र समारोहले निरन्तरता पायो भनिन्छ । यस समारोह पछि स्वर्ग र पृथ्वीलोकमा विजयको कामना सहित इन्द्रध्वज स्थापना गर्न थाले ।  


काठमाडौँको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजाको लिगों ठड्याइएपछि यो जात्राको शुरुवात हुन्छ । बिभिन्न प्रकारका नाचगान, पुजाआजा गरी आठदिनसम्म मनाइन्छ । लिगों ठड्याउने सन्दर्भमा तान्त्रिक बिधि सहित  काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जंगलमा छोडिएको बोकाले छोएको रुखलाई काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजको लिगों तयार पारिन्छ । हनुमान ढोकाको विशाल काल भैरवको मुर्ती अगाडी लिगों ठड्याएपछि जात्राको चहलपहल सुरु हुन्छ । लिगों ठड्याउने समयमा नेपाली सेनाको ब्याण्ड  बाजा, गुरुजुको पल्टन र पञ्चैबाजा समुहले मंगलधुन बजाउछन ।

इन्द्रजात्राको अर्काे महत्वपुर्ण पाटो भनेको जिवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा पनि हो ।


तस्बिर श्रोत: नेपाल बुज