यात्री कविता : महाकवि लक्ष्मीप्रसाद देवकोटा
साहित्य / कला

यात्री कविता : महाकवि लक्ष्मीप्रसाद देवकोटा


यात्री

कुन मन्दिरमा जान्छौ यात्री

कुन मन्दिरमा जाने हो ?

कुन सामग्री पूजा गर्ने,

साथ कसोरी लाने हो ?


मानिसहरुको काँध चढी

कुन देवपुरीमा जाने हो ?

हाडहरुका सुन्दर खम्बा 

मांस पिण्डका दीवार!


मस्तिष्कको यो सुनको छाना,

इन्द्रियहरुका द्वार!

नसा नदीका तरल तरङ्ग,

मन्दिर आफु अपार !


कुन मन्दिरमा जान्छौ यात्री,

कुन मन्दिरको द्वार ?

मनको सुन्दर सिंहासनमा

जगदीश्वरको राज! 


चेतनको यो ज्योति हिरण्मय

उसको शिरको ताज!

शरीरको यो सुन्दर मन्दिर,

विश्वक्षेत्रको माझ!


भित्र छ ईश्वर बाहिर आँखा

खोजी हिँड्छौं कुन पुर?

ईश्वर बस्तछ गहिराइमा

सतह बहन्छौ कति दूर?


खोजी गर्छौ? हृदय लगाऊ,

बत्ती बाली तेज प्रचुर?

साथी यात्री बीच सडकमा

ईश्वर हिँड्दछ साथ,



चुम्दछ ईश्वर काम सुनौला

गरीरहेको हात,

छुन्छ तिलस्मी करले उसले,

सेवकहरुको साथ।


सडक किनारा गाउँछ ईश्वर,

चराहरुको तानामा,

बोल्दछ ईश्वर मानिसहरुको

पीडा, दु:खको गानामा


दर्शन किन्तु कही दिँदैन,

चर्मचक्षुले कानामा।

कुन मन्दिरमा जाने यात्री,

कुन नवदेश बिरानामा?


फर्क फर्क हे! जाऊ समाऊ,

मानिसहरुको पाउ!

मलम लगाऊ आर्तहरुको,

चहरारहेको घाउ,

मानिसहरु भै - इश्वरको त्यो

दिव्य मुहार हसाउँ