मेरो लिपुलेक
साहित्य / कला

मेरो लिपुलेक


– बिमन बुर्लाकोटी

कपटीहरूको छलकपटमा परि

बेसाहारा रातहरू काटिरहेको मेरो लिपुलेक

आज सुदूर बस्तीमा छिमेकीबाट बलात्कृत भइरहेछ

साच्चै छिमेकीबाट बलात्कृत भइरहेछ

जिउँदाको जन्ती र मर्दाको मलामी हो

मैले बुझेको मेरो छिमेकी

तर याँहा,

जन्ती र मलामी जानू त परको कुरा

उल्टै मेरी आमाको अस्तित्व लुटिरहेछ

मेरो छिमेकी

हो ,

मेरी आमाको अस्तित्व लुटिरहेछ

मेरो छिमेकी

आफ्नै रापहरूले पिल्सिएर

मेरी आमा

आँसु पिएर बाँचिरहेको मौका छोपी

मेरो छिमेकी

मेरो आमाको मानचित्रबाट

मेरो आमाको देह लुटिरहेछ

हो ,

मेरो छिमेकी

मेरो आमाको देह लुटिरहेछ

काली नदि वारि र पारि गर्दै

काठमाडौंको चुम्बनको खोजीमा वर्षौंदेखि

कालापानीमा भौंतारिरहेको

मेरो लिपुलेक

पटकपटक

छिमेकीबाट बलात्कृत भइरहेको छ

हो ,

छिमेकीबाट मेरो लिपुलेक

पटकपटक बलात्कृत भइरहेको छ

मानव भएर दानवको हंस पसेको

यस्तो निर्दयी छिमेकी

खै के छिमेकी ???


बिमन बुर्लाकोटी गर्जन कविता संग्रहका लेखक हुनुहुन्छ ।