गरीब (कविता) - लक्ष्मीप्रसाद देवकोटा
साहित्य / कला

गरीब (कविता) - लक्ष्मीप्रसाद देवकोटा


गरीब


गरीब भन्छौ ? सुखको मझैं धनी
मिल्दैन संसारभरी कतै पनि ।
विलासको लालस-दास छैनँ म
मीठो छ मेरो रसिलो परिश्रम ।
                                         .
प्रयासको पत्थरमा नदीसरि
बहन्छु हाँसी म तरङ्गले भरी ।
म पोखरीझैं उहि ठाउँ जम्दिनँ
छ शुद्ध यो जीवनको सबै कण ।
                                         .
निधार मेरो पसिना-जडाउ छ
मोती तिनैको अनमोल भाउ छ ।
छ शान्तिको सुन्दर दीप वासमा
पीयूषको स्वाद छ गाँसगाँसमा ।
                                         .
छ भोक मीठो, रसिलो प्यास
छ अन्तमा व्यञ्जनको सुवास ।
छ थोर आवश्यकता पुगेपछि
म बस्छु संसार नयाँ नयाँ रची ।
                                         .
जगत् छ मेरो घरबार सुन्दर
आकाश नीलो छ: तले मनोहर ।
छन् रत्न सारा उसमा भराभर
छन् चन्द्रमा दीप तथा प्रभाकर ।
                                         .
प्रभात सन्ध्याहरू रङ्ग भर्दछन्
र मेघ आईकन दङ्ग पर्दछन् ।
छ नृत्य राम्रो ऋतुको समागम
दृश्यादि पर्दा दिन-रातको क्रम ।
                                         .
परीसरी फूल हिली झुलीकन
टप्काउँछन् सुन्दर मोतिका कण ।
हजार गाना रसिलो निरूपम
सुनाउँछन् पातविषे विहङ्गम ।

छ मख्मली घाँस बडो मुलायम
म लेट्छु जस्माथि सकी परिश्रम ।
पङ्खा छ मेरो वटवृक्ष सुन्दर
समीर हम्कीकन चल्छ सर्सर ।
                                         .
आनन्दको एक कुटी छ झोपडी
पुगिन्छ त्यसमा शिर शैलको चढी ।
समीरको खेल खुला वरीपरी  
अनन्त आकाश निलो शिरोपरि ।

                                         .
अलग्ग, साधा र अनन्त बीचमा
छ एक्लो, निर्झरको नजीकमा ।
यस्माथि ताराहरु झल्मलाउँछन्
शशी हँसीली यसमा उदाउँछिन् ।
                                         .
प्रभात सन्ध्या यसलाई सुन्दर
पहाड, यी खेत बडा मनोहर ।
आनन्दमा बस्दछु न्यानु घाममा
अनन्त मिल्दछ अन्धकारमा ।
                                         .
बिमान खासा मनको लिईकन
म चन्द्र, तारा, पृथिवी घुमीकन ।
विहारको मोज लुटी लुटीकन
फर्कन्छु फेरी उहि रम्य आँगन ।
                                         .
पाई हँसीलो अलमस्त यौवन
छाती फुकाई, जलका ठुला कण ।
पैह्रेर आभूषण, झल्किईकन
गुलाब चल्छन् अलि ढल्किईकन ।
                                         .
उद्यान मेरो भरमा परीहरू
गुलाब मिठी , फूल नामका अरू
सुगन्धले मग्मग वस्त्र
रङ्गीनले शोभित छन् भरीभर ।

                                         .
निद्रा सुशारे छ अपूर्व सुन्दरी
जादू छ उसको सपना मिठोसरी ।
संसार बिर्सन्छु म अङ्कमालमा
भाग्छे बिहानै लजिली मनोरमा ।

                                         .
छ साथ मेरो दिन-रात ईश्वर
ममा यहाँ छैन कतै कुनै डर ।
संसार यस्तो रसिलीविषे अहो
मलाई राख्ने अति धन्य धन्य हो ।