एउटै गोत्रमा विवाह किन गर्न हुँदैन ?
जिज्ञाशा

एउटै गोत्रमा विवाह किन गर्न हुँदैन ?



सामाजिक, धार्मिक, सांस्कृतिक विधिविधानलाई पालन गरी, फरक गोत्रका युवा– युवतिले वंशपरम्परा चलाउन गृहस्थ जीवनमा प्रवेश गर्नुलाई विवाह भनिन्छ । विशेषरूपले वहन गरिने वा जिम्मेवारपूर्ण तरिकाले सम्पादन गरिने कार्यलाई विवाह भनिन्छ । विवाह एउटै गोत्रमा गर्न हुँदैन । सत्ययुगमा मानिसहरूको संख्या कम थियो, नियम प्रबल थियो । विवाह पहिले कुल, स्वभाव, गोत्रका साथै चिना जुराइन्थ्यो । जनसंख्या वृद्धि हुँदै गएपछि एउटै पिता–पुर्खाका सन्तानहरूमा विवाह हुने अवस्था देखा पर्‍यो। ऋषिहरूले छलफल गरी जुन ऋषिको सन्तान हो उही गोत्र राख्ने नियम तयार गरे । जस्तै भारद्वाज ऋषिका सन्तानलाई भारद्वाज गोत्र, काश्यप ऋषिका सन्तानलाई काश्यप गोत्र आदि । गोत्र राख्दा जति ऋषिको उपस्थिति थियो वा साक्षी बसे त्यसलाई प्रवर भनिन्छ ।
मरीचेस्तनयो धातुः पुत्रो य कश्यपो मुनिः । 
स धर्मिष्ठः सृष्टिकर्ता विध्याज्ञप्तः प्रजापतिः ।। —शिवपुराण, रुद्रसंहिता, युद्धखण्ड २७।४ अर्थात् 
ब्रह्माका पुत्र मरीचिबाट कश्यप पैदा भए, धर्मात्मा कश्यप ब्रह्माको आज्ञाअनुसार सृष्टिकर्ता प्रजापति बने । पुराण आदि ग्रन्थहरूमा कश्यप र मनुका सन्तानलाई मनुष्य (मानिस) एवं दनुका सन्तानलाई दानव भनिएको छ । मानवका पुर्खा कश्यप ऋषि भएकाले गोत्र थाहा भएन भने काश्यप गोत्र राखिन्छ ।


मानिसको सृष्टि कश्यप ऋषिबाट भएकाले उनलाई प्रजापति (मानवका सृष्टिकर्ता) भनिन्छ । अठासी हजार ऋषिमुनिहरूको चर्चा पुराणमा प्रशस्त पाइन्छन् । यीबाहेक अन्य ऋषि, महर्षिहरू पनि त्यो समयमा प्रशस्त थिए । उनीहरू ज्ञानविज्ञानका ज्ञाता एवं समाज–संस्कृतिका परिपोषक थिए । सभ्यता र संस्कृति संरक्षण गर्न एउटैका सन्तानमा विवाह नहोस् भनी व्यवस्थित बनाउने काम गरे । 
एउट गोत्रमा विवाह भयो भने सन्तानहरू शारीरिक र मानसिकरूपले कमजोर हुने, तामसी वा राक्षसी प्रवृत्तिका हुने, वंश परम्परा तुहिनेलगायतका समस्या आउने हुनाले सगोत्र विवाहमाथि प्रतिबन्ध लगाइयो । राईहरूमा एउटै पाछामा विवाह गर्ने चलन छैन । उनीहरूले प्रयोग गर्ने सामे र पाछाले गोत्रकै काम गर्दछ वा भनौं गोत्र परम्परालाई मान्दछन्
 । संस्कारयुक्त व्यक्तिले आमाको सात पुस्ताभित्र र बुबाको गोत्रमा पर्ने कन्या विवाह गरेर सन्तान उत्पादन नगरोस् । पाश्चात्यहरूले पनि अहिले एउटै परिवारभित्र विवाह गर्नु विभिन्न कारणले नराम्रो हुने विषयलाई परीक्षण गरी स्वीकारेका छन् । पशुहरूमा नियम छैन त्यसैले उनीहरू सामाजिक एवं मर्यादित प्राणी हुन सकेनन् ।


विवाहमा प्रयोग गरिएका प्रत्येक क्रियाकलाप र सामग्रीमा सामाजिक, वैज्ञानिक, धार्मिक आदि अर्थ र रहस्य लुकेका छन् । जस्तै पाँचवटा केराको घरी(थाम)बाट जगियाको निर्माण गरिन्छ । पाँच केराको बोटले पञ्चतत्वले बनेको शरीरलाई बुझाउँछ । पूर्वदिशामा तीनवटा केराको घरी राखिन्छ जसले ब्रह्मा, विष्णु, महेशको प्रतिनिधित्व गरेका हुन्छन् । जसरी केरा एक पटक रोपेपछि आफैँ फैलदै, झाँगिदै जान्छ, त्यसरी नै वंश, ज्ञान, वैभव आदि मौलाओस्, झाँगियोस् भन्न खोजिएको हो । जगियामा वाँस र सालको साना हाँगा राखिन्छ । बाँस अत्यन्त उपयोगी वनस्पति हो, तामाको रूपमा तरकारी र अचार खान, वस्तुभाउलाई घाँस खुवाउन, काठलाई घरायसी प्रयोजनमा, शीतलता प्राप्त गर्न, फोहोर पानीलाई शुद्धीकरण आदिका लागि परम उपयोगी हुन्छ । 
बाँसबाट डोका, थुन्चे, भकारी, मान्द्रोलगायतका उपयोगी सामग्री निर्माण गरिन्छ । शाल (सखुवा) यस्तो वृक्ष हो, जसको आयु चार हजार वर्षसम्म हुन्छ । नेपालीमा उखान छ—हजार बढे, हजार पडे, हजार लढे, हजार सडे अर्थात् शाल हजार वर्षसम्म बढ्छ, हजार वर्षमा बलियो हुन्छ, हजार वर्षसम्म भुईँमा लडेर पनि कुहिदैन र हजार वर्षको अवधिमा पूर्णरूपले कुहिन्छ वा सड्छ । वरवधूको पारिवारिक जीवन त्यति नै लामो होस् जति शालको छ । शाललाई पवित्र वृक्ष मानिन्छ, यज्ञ गर्दा यसैका दाउराको समिधा बनाइन्छ । शालको वृक्षजस्तै वरवधूको स्थान पूजनीय होस् भन्ने अर्थमा जगियामा शाललाई राखिन्छ । बेहुलालाई आमाले दही खुवाएर शुभ साइत गराई जन्तीको जिम्मा लगाएर पठाउँछिन् । सुपारीलाई गणेश स्वरूप मानिन्छ, जसले पारिवारिक जीवनको विपत हरण गर्दछ । बेहुलाले वरपीपलको पातसहित जनै लिए जानुपर्छ ।


व्रतबन्ध गरेको, पच्चीस वर्षसम्म गुरुकुलमा बसेर पढेको प्रमाण जनै हो । वरपीपलको पातले विष्णु र शिवलाई साक्षी राखेर मैले दाम्पत्य जीवन स्वीकार गरेँ भनेको हो । विवाहपछि महिलाहरूले हातमा चुरा लगाउँछन् । सिन्धूर, पोते र चुरा लगाएकी अर्काकी महिलालाई आमा समान व्यवहार गर्नुपर्छ भन्ने हाम्रो आदिम मान्यता छ । चुराको पे्रशर एवं स्पर्शले प्रजनन् क्षमता, पेटसम्बन्धी समस्यालाई हटाउन र घटाउन सहयोग गर्दछ । चुरा लगाउने ठाउँमा सामान्यरूपमा थिच्दा दुःख्यो भने महिलाको पेट र पाठेघरसम्बन्धी समस्या हुन्छ भन्ने अकुप्रेशरहरूको मान्यता छ । विवाहमा लेखिने लग्नपत्रिका विवाह भएको धार्मिक र कानूनी प्रमाण हो । प्राचीनकालमा यसैलाई विवाह दर्ताको कागज मानिन्थ्यो । कति बजेर कति मिनेटमा विवाह भयो भन्ने जानकारी यसले बताउँछ । केही वर्षअगाडि सम्म फरक–फरक स्थानका जन्तीहरू आपसमा भेट भए भने बलिया पक्षले कमजोर पक्षको बेहुली लुट्ने कुप्रथा थियो । व्यावहारिक दृष्टिले हेर्दा दुई फरक जन्ती आपसमा भेट नहोस् भनेर एउटाले अर्कोलाई जानकारी दिनका लागि बन्दुक पड्काउने चलन थियो । सांस्कृतिकरूपले हेर्दा वर र वधूको जीवनमा अशुभ क्षण, तामसी प्रवृत्ति देखा नपरोस् भन्ने कामनाका लागि पनि बन्दूक पड्काउने गरिनथ्यो । वरले वधूलाई सिन्धुर लगाएर पारिवारिक जीवनमा बाँधिएको साक्षीका लागि जन्ती जाने परम्पराको विकास भयो । 
पारिवारिक सुखशान्ति होस् भनी गीत गाउने, श्लोकमा दोहोरी खेल्ने गर्दछन् । पञ्चेबाजा बजाएर मङ्गलमय जीवनको कामना गरिन्छन् । यज्ञकुण्डदेखि बेहुलीको सिउँदोसम्म राखिएको सेतो कपडामा कत्ति पनि नटुटाईकन सिन्दूर तीन पटकसम्म लगाइन्छ ।


यज्ञको आगो परमात्माको प्रतीक हो, यो अलौकिक साक्षी हो, जन्तीहरू लौकिक साक्षी हुन् । सिन्दूर रातो हुन्छ जसले शक्तिको प्रतिनिधित्व गरेको हुन्छ । सिन्दूरलाई निधारको उपल्लो भागदेखि शिरको मध्ये भागसम्म लगाइन्छ । जसले गृहस्थ जीवनका लागि चाहिने शारीरिक, मानसिक, सहन एवं संयमशक्ति बढाउनका साथै सन्तान उत्पन्न गर्ने, क्षमता वृद्धि गर्दछ । वरले वधूलाई सिन्दूर लगाउँदा ॐ सुमङ्गलीरियं वधूरिमां समेत पश्यत । 
सौभाग्यमस्यै दङ्खव याथास्तं विपरेतन लगायतका मन्त्र पढिन्छ जसले गर्दा वैवाहिकसम्बन्ध कहिल्यै चुडिदैनथ्यो, फुस्कदैनथ्यो, तुहिदैनथ्यो । पण्डितले समाजलाई साक्षी राखी दुलाह र दुलहीलाई शर्तनामा गराउँछन् । जस्तै तिमी र म कहिल्यै छुटिने छैनौँ, नमिठो वचन र व्यवहार हुने छैन आदि यसले आपसी सद्भाव र आत्मीयता सृजना गराउँछ । 
कुटुम्बं रक्षयिष्यामि सदा ते मञ्जुभाषिणी 
दुःखे धीरा सुखे हृष्टा द्वितीये साऽब्रवीद्वचः ।। अर्थात् 
म तपाईको कुटुम्बको रक्षा गर्नेछु, सधैं मिठो बोल्नेछु, दुःखमा धैर्य र सुखमा सुखी बन्नेछु । जीवन र पारिवारिक सम्बन्धलाई मजबुत बनाउन बेहुला र बेहुलीलाई जन्तीका सामु राखेर जुवा खेलाउने, धान निफन्न लगाउने, साथसाथै दही खुवाउनेलगायतका कार्य गरिन्छ । ढिँकी, जाँतोका काम कति जानेको छ, व्यवाहार कुशलताका साथै दैनिक घरव्यहारका कार्य जाँच्ने मान्यता विवाह पद्धतिमा रहेको यसले देखाउँछ । एउटाले अर्काको जुठो खाने भनेको आत्मीयता सृजना गर्ने काम हो । विवाहका समयमा गरिने हरेक अनुष्ठानको सम्बन्ध व्यावहारिक जीवनसँग जोडिएको हुन्छ । अहिले त पण्डितलाई भन्दा विवाह गर्नेहरूलाई हतार हुन्छ । यसले गर्दा विवाह पद्धतिका कैयौं कर्महरू छुटिराखेका, त्रुटिहरू भइराखेका छन् । पण्डित बोलाउनु एक प्रकारले औपचारिकता पुरा गर्नुमात्र भएको छ । यसले न त धर्मको रक्षा गर्दछ, न कर्म पुरा हुन्छ, न त कर्तव्यको वहन हुन सक्छ ।


विवाहलाई समयानुकुल बनाउने नाममा दुई दिनको विधिलाई दुई घण्टाबाट दुई मिनेटमा सिमित गराउँदा विवाहका शास्त्रीयपक्षहरूको इतिश्री भएको छ । यति विकृतिले नपुगेर सामूहिक विवाहको सुनामी ल्याएर सनातनी परम्परालाई सिनित्त बनाउने काम अभ्यासमा आउन थालेको छ ।
अहिलेको तडकभडक देख्दा त गरिबले विवाह नै गर्न नसक्ने हो कि जस्तो देखिन थालेको छ । खर्चको अभावमा विवाह रोकिँदैन । मठ, मन्दिर, विहार, गुम्बामा गएर देवीदेवतालाई साक्षी राखी पाँच रुपियाँको सिन्दूर लगाएर पनि शास्त्रसम्मत तरिकाले विवाह गर्न सकिन्छ । अनावश्यक ढोङ्गमा फस्न थालेपछि वरको अर्थसमेत भुल्न थालिएको छ । वरितुं योग्यो वर वरण गर्न योग्य पुरुषलाई वर भनिन्छ । बध बन्धने धातुको अर्थ बाँध्नु हुन्छ । वध्नाति वरं÷पतिं धारयति स्वरूपं इति वधू, आफ्नो पतिदेवलाई असल आचरण, कर्मका माध्यमले वशमा राख्ने नारीलाई वधू भनिन्छ । पच्चीस वर्षसम्म गुरुकुलमा बसेर अध्ययन गरी विदुषी बनेकी कन्या विवाहका लागि योग्य हुन्छिन् । विहेपछि वेहुलीको भूमिका माइतीघरमा गौण हुन्छ, त्यसदिन बुवाले छोरीको गोत्र परिवर्तन गरेर ज्वाईका गोत्रमा हस्तान्तरण गरिदिन्छन् । 
परमात्मालाई साक्षी राखेर एउटै परिवारका सदस्यबीचमा विवाह भयो भने त्यो भन्दा ठूलो अर्को कुन अपराध होला र ? सगोत्र विवाह धार्मिक दृष्टिकोणबाट मात्र होइन सामाजिक हिसाबले पनि अवैज्ञानिक, असभ्य र जङ्गली मानिन्छ । आफ्नै कन्यालाई विवाह गरेर आफ्नैमा भित्रयाइयो भने ज्वाईलाई ससुराले ढोग्ने कि, ससुरालाई ज्वाईले ढोग्ने ? एउटै घरका बधू र वर भए कन्यादान कसले दिने ? कसले लिने ? त्यसैले एउटै गोत्रमा विवाह गर्नुभन्दा ठूलो पाप र अनर्थ अरु के हुन सक्छ ? कुरीति हटाउने नाउँमा धर्मलाई सर्वनाश गर्नु जघन्य अपराध हो । एउटै गोत्रको विवाहले मानिसमा पशुवत् व्यवहार र आचरणको सृजना गराउँछ, छाडावादले प्रश्रय पाउँछ । फरक गोत्रमा विवाह भएको हुनाले पारिवारिक जीवनमा द्वन्द्व, पारपाचुके, आत्महत्यालगायतका कुरीति र कुकृत्य आर्यक्षेत्रमा थिएन । जे गरे पनि हुन्छ, जस्तो पनि चल्छ भन्ने गलत प्रवृत्तिका कारण समाज सर्वनाशको लक्ष्मण रेखानजिकै पुग्न लागेको छ । 


मूर्खा यत्र न पूज्यन्ते धान्यं यत्र सुसंञ्चितम् । 


दाम्पत्य–कलहो नास्ति तत्र श्रीः स्वयमागता ।।

अर्थात्
 जुन घरमा मूर्खको पूजा हुँदैन र धन–धान्यको सञ्चय गरिन्छ । जहाँ श्रीमान्– श्रीमतीको झगडा हुँदैन त्यो घरमा लक्ष्मी आफैं आउँछिन्, बोलाउनु पर्दैन । विवाह न त झगडाका लागि, न त मोजमस्तिका लागि हो । पुर्खाको धर्म, संस्कृति, सम्पत्तिलाई सदुपयोग गरी भावीपुस्तालाई हस्तान्तरण गर्दै समाज र राष्ट्रका लागि बाँच्न हो । यी सबै समस्याहरूबाट मुक्ति पाउनका लागि सगोत्रमा विवाह गर्न हुँदैन, गरेमा वंशमा खिया लाग्छ, वर्णशंकरको संख्या बढ्छ । चाण्डालहरू (बुबा–आमाले एउटै गोत्रमा विवाह गरेर जन्मेका सन्तानलाई चाण्डाल भनिन्छ )को जन्म हुन्छ । शास्त्रले तीन तरिकाबाट चाण्डालको जन्म हुन्छ भनेका छन् । पहिलो हो, चाण्डालबाट जन्मिएको सन्तान । दोस्रो हो, शुद्र संस्कारको श्रीमान् एवं ब्राह्मण संस्कारकी श्रीमतीबाट जन्मिएका सन्तान । तेस्रो हो, सहगोत्रमा विवाहबाट जन्मिएका सन्तान । चाण्डालको पेटमा धर्म, हातमा कर्म, मनमा मर्म हुँदैन । चाण्डालहरूसँग शरम (लाज) र श्रम हुँदैन ।

यसले परिवार, समाज, संस्कार, संस्कृति र राष्ट्र नै बर्बाद हुन्छ, त्यसैले सगोत्रमा विवाह गर्नु हुँदैन ।

सन्दर्भ श्रोत : हिन्दू जागरण अभियान नेपाल