सुगौलीको सन्धि र नेपालको सार्वभौमिकता
इतिहास

सुगौलीको सन्धि र नेपालको सार्वभौमिकता


नेपालको इतिहासमा भुल्नै नसकिने एक महत्वपूर्ण घटना हो, नेपाल अंग्रेज युद्ध र सुगौली सन्धि हो । भारतका सम्पुर्ण राज्यहरु ब्रिटिशसंग टिक्न नसकी आफ्नो अस्मिता पूर्ण रुपले नष्ट भईरहदा नेपालले केहि भुभाग गुमाएरै भएतापनि नेपालको सार्वभौमिकता जोगिनु पनि गर्वको कुरा हो । यद्यपी भारतमा ब्रिटिशहरुको राज खत्तम भईसकेको अवस्था र अनेकौ तथ्यहरुका आधारमा सुगौलीमा गुमेको भुभागहरु पुनः नेपालमै फिर्ता हुन सक्ने वातावरण छदैछ । सबल कुटनिती र देशभक्त राजनेताको शाशन भएको खण्डमा यो अवश्य सम्भव छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई अपमान गर्ने र उहाँको शालिक फोर्नेहरु शाशक भइरहेको अवस्थामा सुगौलीबाट गुमेको भुभाग फिर्ता होला भनेर आश गर्न सकिदैन । असक्षम कुटनिती र देशभक्तीको अभावमा यही बचेको सानो देश नेपालको पनि ७० भन्दा धेरै स्थानहरुमा सिमाना अतिक्रमण भएका छन । कालापानीको प्रशंग उठिरहेको छ, तर फगत राजनैतिक सत्ता जोजाउने वा देशभक्त हुँ भनेर सडकमा नारा लगाई राष्ट्रवादी देखिनका लागी त्यस्ता घटनाहरु घटाइन्छ ।


युद्ध र सन्धिको घटनाक्रम

१ नोभेम्वर १८१४ मा नेपाल अंग्रेज युद्ध सुरु भयो । यद्यपि प्रारम्भिक चरणमा नेपाली सेनाले विजय हासिल गर्दै गएका थिए  तर विस्तारै उनीहरुको चौतर्फी हार हुन थाल्यो । त्यसकारण २८ मे १८१५ मा राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय अंग्रेज प्रतिनिधि ब्राडशासँग सन्धि वार्ता गर्न सुगौली (हालको विहार) गए । ब्राडशाले नेपाली प्रतिनिधिसमक्ष निम्न किसिमको सन्धि गर्ने प्रस्ताव राखेका थिए । 

१) कालीनदीदेखि पश्चिमको सम्पूर्ण भूभाग, तराईको सम्पूर्ण भूभाग, पूर्वमा सिक्कमतिरको सम्पूर्ण भूभाग कम्पनी सरकारलाई दिने । 

२) दलबलसहित अंग्रेज राजदूत काठमाडौँ रहने । 

३) अंग्रेज सरकारको सल्लाहबिना नेपालले कुनै युरोपेली वा अमेरिकनलाई आफ्ना सेवामा नियुक्ति गर्न नपाउने । 


नेपालका प्रतिनिधिहरुले यस्ता आपत्तिजनक धाराहरु मंजुर गर्न सकेनन् । ब्राडशाले नेपालको तराई गुम्दा नेपाललाई घाटा पर्न जाने रकम वार्षिक रु २ लाख कम्पनी सरकारले उपलब्ध गराई दिने वचन दिएपछि पुनः सन्धि वार्ता सुरु भयो । २ डिसेम्बर १८१५ मा सुगौलीको सन्धिमा मन्जुरनामा भयो । ९ डिसेम्वर १८१५ मा कम्पनी सरकारले सुगौलीको सन्धिलाई स्वीकृति दियो । उक्त सन्धि पत्रलाई नेपालले पनि १५ दिनभित्र स्वीकार गर्नुपर्ने निर्णय भएकोमा दरबारमा छलफल हुँदाहुँदै १५ दिन बितिसक्यो । त्यसपछि फेब्रुवरी १८१६ मा अक्टरलोनीको नेतृत्वमा अंग्रेज सेना काठमाडौँका निम्ति प्रूथान गरे । नेपालको काठमाडौ शहरमा अंग्रेजले हमला गर्दैछ, भन्ने जस्तो भ्रम फैलाएर नेपाललाई सन्धि गर्न बाध्य पारियो भनिन्छ । 

त्यसपछि नेपालका महाराजले बाध्य भएर सुगौली सन्धि स्वीकृत गरिदिए । ४ मार्च १८१६ मा चन्द्रशेखर उपाध्यायले स्वीकृत भएको सन्धि पत्र अक्टरलोनीलाई दिए । ब्रिटिशपक्षले सन्धिमा नेपालका राजाले सन्धिमा हस्ताक्षर गर्नुपर्छ भनेर माग राखेपनि राजा अत्यन्त असन्तुष्ट भएकै काराण तत्कालीन राजा गिर्वाणयुद्ध बिक्रम शाहले हस्ताक्षर नगरी राजगुरु चन्द्रशेखर उपाध्याह र गजराज मिश्रलाई सो कार्यको जिम्मा लगाइन्छ । प्रस्तावित सन्धिका ९ धाराहरु थिए जुन निम्नानुसार छन् । 

१) नेपाल र कम्पनी सरकारबीच स्थानिय शान्ति र मित्रता कायम रहने छ । 

२) युद्ध हुनुभन्दा अगाडि दुई देशबीचका विवाद ग्रस्त भूभागहरुमा नेपालले आफ्नो दाबी त्याग गर्ने र ती भूभागहरुमाथि कम्पनी सरकारको अधिकारलाई स्वीकार गर्ने । 

३) नेपालको निम्नलिखित भूभागहरु कम्पनी सरकारलाई दिनुपर्ने ।

क, काली र राप्ती बीचको सबै तराई क्षेत्र 

ख, राप्ती र गण्डकी बीचको सम्पूर्ण तराई 

ग, गण्डकी र कोशी बीचको तराई 

घ, मेचीदेखि टिस्टासम्मको समस्थल भूभाग 

ङ, मेचीनेदीदेखि पूर्वको सम्पूर्ण पहाडी भाग साथै नागरीको किल्ला र जग्गा समेत गरी मोरंगदेखि पहाडतिर जाने नगरकोट मार्ग र त्यस नजिकको समस्त भूभाग ४० दिनभित्र गोर्खालस् सेनाले खाली गर्नु पर्ने । 

४) धारा ३ अनुसारको जग्गा गुमाउँदा नेपालीभारदारलाई हानि हुन आएको क्षतिपूर्ति स्वरुप कम्पनी सरकारले वार्षिक २ लाख रकम नेपाललाई दिने । 

४) नेपालका राजा र उनका उत्तराधिकारीले पनि काली नदीदेखि पश्चिमका प्रदेश र त्यहाँका निवासीहरुसँग कुनै सम्बन्ध राख्न पाउने छैनन् । 

६) नेपालले सिक्किमको भूभागमा कुनै दाबी गर्न नपाउने, नेपाल र सिक्किम बीच झगडा वा विवाद भएमा त्यस्ता विषयहरु कम्पनी सरकारसमक्ष पेश गर्ने र कम्पनी सरकारले गरेको निर्णयलाई नेपालले स्वीकार गर्ने  । 

७) नेपालले ब्रिटिश सरकारले गरेको पूर्व स्वीर्कतिबिना ब्रिटिश, याुरोपेली वा अमेरिकीहरुलाई आफ्नो सेवामा भर्ना गर्न नपाउने । 

८) दुई देशबीच कायम भएका मित्रता एवं शान्ति सम्बन्धलाई सुदृढ पार्न दुबै देशका मिनिस्टर एक अर्काे देशमा रहने । 

९) यो सन्धिलाई नेपालका राजाले १५ दिनभित्र हस्ताक्षर गरी ब्राडशालाई बुझाउने र उनले पनि १० दिनभित्र गभर्नर जनरलको स्वीकृति गराउने । 

तराई सुपुर्द सन्धि 

नेपालको तराईको भूभाग लिएर प्रशस्त लाभ उठाउने कम्पनी सरकारले आशा लिएको थियो । उक्त तराई भूभागमध्ये धेरैजसो नेपालका कर्मचारीहरुको जागीर थियो । त्यसकारण कम्पनी सरकारले उक्त भूभाग लिएकोमा वार्षिक २ लाख नेपाललाई बुझाउन मंजुर गरेको थियो । तर कम्पनी सरकारले उक्त भुभागबाट १ वर्षमा २ लाखसम्म पनि मालपोत उठाउन सकेन । त्यसकारण ८ डिसेम्बर १८१६ मा उक्त तराईको भूभागमध्ये केही नेपाललाई फिर्ता गर्ने सम्बन्धमा एउटा सन्धि भयो । सन्धिका प्रमुख विषयहरु निम्नानुसार थिए । 

१, कोशीदेखि गण्डकीका र गण्डकीदेखि राप्तीसम्मका तराईको भूभाग नेपालले फिर्ता प्राप्त गर्ने । 

२, दुई देशबीच सिमाना झगडा भएमा मेल मिलापका आधारमा दुई देशका प्रतिनिधि बसेर सिमाना निर्धारण गर्ने र सीमा रेखा सोझो पार्न आवश्यक भएमा दुवै देशका र्भमि सट्टापट्टा गरी मिलाउने । 

३, सुगौली सन्धिअनुसार कम्पनी सरकारले नेपाललाई दिन कबुल गरेको वार्षिक दुई अबदेखि दिनु नपर्ने । 


यसरी दुई पटकको सीमा सम्बन्धी कुरा र सम्झौता भएपछि नेपालको सीमा आधिकारीक रुपमा निर्धारण हुनपुग्यो । तर सुगौली सन्धि भएको ४१ वर्षपछि केहि भुभाग फिर्ता भयो । भारतमा भएको सिपाही बिद्रोह दवाउन नेपालले सहयोग गरेवापत बिट्रिश सरकारबाट सन् १९६० नेपाललको पश्चिमी नेपालको भुभाग सम्बन्धी सन्धि भई नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) फिर्ता भयो । र वर्तमानको नेपालको सिमाना निर्धारण भयो । 

दोस्रो भागमा सुगौली सन्धिको मुल्यांकन , र विशाल नेपालको सम्भावनाका बारेमा चर्चा गरिनेछ ।