हलो मासेर मुङ्ग्रो
इतिहास

हलो मासेर मुङ्ग्रो


- - - आशिष पाठक 

नेपालमा एउटा जाति छ, जसलाई "गन्धर्वजाति" भनिन्छ। गायनकलामा निपुण हुने हुनाले गाउँघरतिर गन्धर्वजातिलाई "गाइने" पनि भन्छन्। अहिले विकासको नाममा जुन घातक पाश्चात्य प्रकल्प चलाइएको छ, त्यसको चपेटमा आएर लोपोन्मुख हुँदै गएको गन्धर्वजाति, २०६८ सालको जनगणना अनुसार नेपालमा जम्मा ५,८८७ जना थिए। अबको जनगणनामा सायद त्यति पनि नहोलान्, र भए पनि अधिकांश जातिगन्धर्व बाँकी होलान्, जसमा गन्धर्वोचित तेज र कलाको सर्वथा अभाव हुन्छ। गन्धर्वजातिको मुख्य वाहुल्य कास्की जिल्लाको बाटुलेचौरमा छ, तर अन्य विभिन्न जिल्लाहरु जस्तै, तनहुँ, लम्जुङ, गोरखा, चितवन, बाग्लुङ, पाल्पा, दैलेख, सुर्खेत, भोजपुर, दाङ, जाजरकोट गरी नेपालको झण्डै ६९ जिल्लाहरुमा गन्धर्व जातिको बसोबास रहेको पाइन्छ ।

वर्तमान शासनतन्त्र र समाजले वातावरण प्रतिकूल बनाइरहेको अवस्थामा पनि गन्धर्वजातिले अहिले पनि केही हदसम्म आफ्नो मौलिक कला र पहिचानलाई जसोतसो सुरक्षित नै राखेका छन्। वैदिक व्यवस्थामा सङ्गीतक्षेत्रको महान् दायित्व गन्धर्वजातिलाई नै दिइएको थियो। मनुष्यमा मात्र होइन, देवताहरूमा पनि "देवगन्धर्व" हुन्छन्, जसले देवलोकमा गायनको काम गर्छन्। देवलोक अन्तर्गत उनीहरूको दिव्य गन्धर्वलोक पनि हुन्छ, जसको उल्लेख पुराणमा मात्र होइन, तैत्तिरीयोपनिषद् जस्तो श्रुतिशास्त्रमै पाइन्छ। देवलोकका गन्धर्वमध्ये प्रमुख गन्धर्वको नाम 'चित्ररथ' हो, त्यसैले गीतामा समेत श्रीकृष्ण बताउनुहुन्छ : "गन्धर्वहरूमा म चित्ररथ हुँ" - [गन्धर्वाणां चित्ररथः] (गीता १०।२६)। गान्धर्वविद्यामा समर्पित एउटा "गन्धर्ववेद" नामको उपवेद नै छ, जो "सामवेद" को उपवेद हो। 

नेपालमा गन्धर्वजाति गीतकार, सङ्गीतकार, साहित्यकारमात्र होइनन्, पत्रकार पनि हुन्, र कतिपय अवस्थामा प्ररणादायि व्यक्तिहरू पनि हुन्। पहिला पहिला युद्धमा जानु अघि सैनिकहरूलाई गन्धर्वले आफ्नो गीतमार्फत वीररसको सञ्चार गर्थे। युद्ध जितेर फर्केपछि गन्धर्वलाई अघि लगाएर उनीहरूको यशोगान गर्दै स्वागत गरिन्थ्यो। युद्धमा वीरगति प्राप्त गरेका सैनिकहरूको महान् गाथा गाउँगाउँमा पुऱ्याउने काम पनि गन्धर्वजातिकै थियो। देश, विदेशमा घुमेर हरेक प्रमुख समसामयिक घटनालाई तुरुन्त सारगर्भित र मर्मस्पर्शी शब्द-सङ्गीतमा ढालेर गाउन सक्ने अद्भूत क्षमता गन्धर्वजातिमा थियो- जुन कला आजका साहित्यमामा स्नाकोत्तर गर्नेहरूमा र लेखकहरूमा पनि बिरलै भेटिन्छ। उनीहरू आफ्नो मौलिक परम्परागत वाद्ययन्त्र "सारङ्गी" बजाउँदै, देशविदेशका तिनै समाचारहरू गीतमार्फत गाउँदै हरेक गाउँगाउँमा, घरघरमा पुग्थे। फलतः टेलिभिजन, रेडियो, ईन्टरनेट, पत्र पत्रिकाको अभावमा पनि, हरेक निरक्षर अनपढ व्यक्तिले समेत देशको प्रमुख घटनाहरूको राम्रो जानकारी राख्थ्यो। जानकारी मात्र नभएर - सङ्गीतमय लययुक्त हुनाले ती घटनाक्रम वर्षौँवर्षसम्म स्मरण पनि रहन्थे। आज पनि कुनै अनपढ बुढाबुढीलाई सोध्ने हो भने १९९० सालको भूम्कम्पको कथा पनि धेरैले तिथिमितिसहित आरामले बताइदिन्छन्- जुन तिथिमिति school मा पाश्चात्य विधिले History पढ्नेलाई पनि जाँच सकिएपछि याद हुँदैन। अहिले जुन महत्व टेलिभिजन, रेडियो, को छ, प्राचीन नेपालमा त्यही महत्व गन्धर्वजातिको थियो। 

हिजोआज आफ्नो परम्पराको र परिचयको संरक्षणमा कटिबद्ध गन्धर्वजातिका दाजुभाइहरू कहिलेकाहीँ लामो दूरीको यात्रामा बसमा भेटिन्छन्। अब केही वर्षमा त्यो पनि गाह्रो छ। 

नेपालको भाषा र संस्कृतिसम्मत, विकृतिमुक्त, अनावश्यक तडकभडकविहिन, अश्लीलताविहीन, सारगर्भित, भावसमन्वित, मर्मस्पर्शी गीतको प्रचारप्रसार गन्धर्वजातिबाट हुन्थ्यो। प्रेमरस (शृङ्गाररस), हास्यरस, करुणरस, वीररस, आदि विभिन्न रसले युक्त गीतहरू समयानुकूल रचिन्थ्यो, र गाइन्थ्यो। पृथ्वीनारायण शाहको वीरगाथा कर्खा, सवाई, चरित्र, चाँचरी, मंगलधुन, बाह्रमासे गीत, घटनाप्रधान गीत, ठट्टा, रमाईलो प्यारोडी गीत, झ्याउरे ठेट लोकगीत, लाहुरेको सन्देश र डाँफे र मुरली चराको गीत गन्धर्व जातिको मौलिक सिर्जना पनि हो ।

नेपाल एकीकरणको समयका हिरादेवी गाइने, मणिराम गाइने, बखतवीर बूढापृथी लगायतको योगदान र पछिल्लो समयमा २०६२/६३ को जनआन्दोलनमा कलाकार रुविन गन्धर्वले खेलेको भूमिका महत्वपूर्ण छ । रेडियो नेपालमा समेत झलकमान गन्धर्व, तीर्थबहादुरगन्धर्व जस्ता कलाकारहरूले स्थान र सम्मान पाए। लोकगायक धर्मराज थापाको सहयोगले रेडियोनेपालमा पहिलो पटक गन्धर्वगीत रेकर्ड गराउने उनै थिए। झलकमानले विभिन्न प्रकारका गीतहरू जस्तै झ्याउरे, कर्खा, ख्याली, आदि रेकर्ड गराए। उनले दोस्रो विश्वयुद्धको समयमा बहादूरी कमाएका करीव २० नेपालीहरूको प्रशंसामा कर्खाहरू रचना गरे। उनले आफ्नो सम्पूर्ण जीवन गन्धर्व गीतको सङ्कलन, परिमार्जन तथा प्रस्तुतीमा लगाए। झलकमान गन्धर्वले जर्मनी , चेकोस्लोभाकिया, बेल्जियम, फ्रान्स र भारतमा पनि आफ्नो सांगितीक कला प्रस्तुत गरेका थिए।

• आमैले सोध्लिन् नि खै छोरा भन्लिन्... रज है खुल्यो भन्दिए

बाबाले सोध्लान् नि खै छोरा भन्लान्... रण जित्दैछ भन्दिए

• घाँसै काटौँ दुई खोली दोभान, 

हाँसीखेली बिताउँला जोबन, 

तानसेन घमाइलो। 

जता निरमाया, उतै रमाइलो। 

• तिम्रो नै माया लाउँदछ साहिँली, सम्झन्छु छिनछिन। 

तिमीले माया नगरे पनि, गर्छु म दिनदिन॥

आदि उनका लोकप्रख्यात गीत हुन्। 

रेडियो नेपालमा ३२ वर्षससम्म काम गरेका तीर्थबहादुर गन्धर्वका "बल्ल पऱ्यो निरमाया माकुरी जालैमा" जस्ता गीत प्रख्यात छन् र उनले लगभग १५० जति गीत गाएका छन्।

गन्धर्वजातिको सङ्गीत पूर्णतया श्रुतिपरम्परामा आधारित छ। कुनै गन्धर्वजाति कहिल्यै संगीत सिक्न कुनै संस्थामा गएन, गीत रचना गर्न कुनै Literature पढेन, कसैले उसलाई गीत कापीमा लेखेर दिएन, उसँग कुनै प्रमाणपत्र पनि हुँदैन, न त कसैले उसँग प्रमाणपत्र माग्यो : तर पुस्तौँदेखि सुनेकै भरमा गायनकला, सारङ्गीवादन, सिर्जनकला र सिर्जना एकदम सटिक रूपमा सफलतापूर्वक हस्तान्तरण भयो। अहिले गन्धर्वजाति नै विलुप्त गर्ने, उनीहरूको कला, प्रतिभा र पहिचान नै नष्ट गर्ने, गन्धर्वको हातबाट सारङ्गी खोसेर संग्राहलयमा थुपार्ने कार्य, पाश्चात्य मानसिकता बोकेको अदूरदर्शी शासनतन्त्र, शिक्षातन्त्र र शिक्षानीतिले गरिरहेको छ, जुन अत्यन्त खेदको विषय हो। त्यही षडयन्त्रमा फसेका नेपाली जनताले पनि गन्धर्वजातिको कलाको उपेक्षा गर्दै आएका छन्, जसले सारङ्गीलाई "कमाइखाने भाँडो" र गन्धर्वजातिलाई "माग्ने" को रूपमा हेर्ने गर्छन्। महङ्गा होटलमा ५०० को "Tips" छोडेर हिँड्ने, सयौँ तिरेर मंचमा उफ्रिन जाने, र सामाजिक सञ्जालमा अधिकारवादी भएको दावा गर्ने "पढेलेखेका" भनिनेहरू, नेपाली सङ्गीतका संरक्षक गन्धर्वलाई कहीँ सार्वजनिक यातायातमा आफ्नो कला प्रस्तुत गऱ्यो भने लाज नमानी ५ रुपैँया दिन्छन्, त्यो पनि मुस्किलले। त्यहीमध्ये कतिजना गन्धर्वलाई दुईचारपैसा दिनुपर्ला भनेर निदाएको अभिनय गर्छन्। 

सङ्गीतक्षेत्रको संरक्षण गर्ने महान् जिम्मेदारी गन्धर्वजातिमा थियो, त्यसैबाट उनीहरूको जीविका चल्थ्यो, घरपरिवार चल्थ्यो। वैदिक व्यवस्थामा कुनै ब्राह्मणले कहिल्यै गीत गाएर गन्धर्वको अधिकारमा हस्तक्षेप गरेन, कुनै क्षेत्रियले गीत गाएर कमाइ गरेन, कुनै वैश्यले गीत गाएर हिँडेन। कुनै सुवर्णकारले, लोहारले गीत गाएर कमाइ गरेन। सांगीतिक क्षेत्रबाट आफ्नो जीविका सुरक्षित हुने जन्मसिद्ध अधिकार गन्धर्वजातिको थियो- उसको जीविका खोस्न, उसँग "तँ भन्दा म के कम?" भनेर प्रतिष्पर्धा गर्न अरु कोही आउँथेन। मेरो जीविका कसैले खोस्छ भन्ने डर कुनै गन्धर्वमा थिएन, निर्धक्क उनीहरू आफ्नो परम्परा र नेपाली संस्कृतिको संरक्षणमा लाग्ने गर्थे। 

केही दशक अघिसम्म हरेक वर्ष, नयाँवर्षको दिनमा कर्मचारी मिलन केन्द्रमा, त्यसैगरी वर्षको १ पटक पञ्चायत प्रशिक्षण केन्द्रमा, श्री ५ महाराजाधिराज र श्री ५ बडामहारानीको शुभजन्मोत्सवहरूमा, पुष १ गते, भदौ ४ गते, तथा विभिन्न राष्ट्रिय उत्सवहरूमा गन्धर्वजातिलाई सारङ्गी बजाउन, र गाउन बोलाइन्थ्यो, र  बाटुलेचौरका गन्धर्वजाति सामूहिक रूपमा हर्षोल्लासका साथ त्यस्ता कार्यक्रममा सहभागी हुने गर्थे।

सन् १९८९ जनवरीमा त्रिभुवन विश्वविद्यालय सिनास (CNAS) का लागि गन्धर्वजातिको विषयमा ज्ञानु क्षेत्रीद्वारा तयार पारिएको अनुसन्धान पत्रमा, विसं. २०४१ सालमा बाटुलेचौरका एकजना वृद्ध गन्धर्वसँगको अन्तर्वार्ता लिँदा उनले भने:-

"पहिलेको जमानामा गाउन जाँदा प्रशस्त धान, मकै, कोदो पाइन्थ्यो। परिवार आरामले पालिन्थ्यो, दुःख धेरै गर्नु पर्दैनथ्यो। विष्टहरूको घरमा वर्तमन, बिहा, आदि चाडहरूमा गइन्थ्यो, ल्याएर मज्जासँग खाइन्थ्यो, राम्रोसँग चाड मनाइन्थ्यो। २५ पैसा मानो घ्यू, एक रुपियाँको पाँच पाथी धान, एक रुपियाँको पाठो, आदि पाइन्थ्यो। त्यस्तोबेला जग्गा-जमिन केही चाहिँदैन भनियो, र त्यस्तै पेशाको पछि लागियो।" 

गन्धर्वजातिले‍ त्यतिबेला कृषिकर्ममा मेहनत गरिरहन पनि आवश्यक थिएन- धान, मकै, कोदो, तरकारी, पैसा, आदि त्यही गायन र सारङ्गीवादनबाटै आरामले प्राप्त हुन्थ्यो। त्योबेला त्यति व्यवस्थित प्रणालीलाई अहिले दिशाहीन विकासको नाममा लोपोन्मुख बनाइएको छ। 

केही वर्षदेखि पश्चिमाहरूको अनुकरण गरेर नेपालमा नयाँ गायनप्रथाको प्रवेश गराइयो - प्रतिस्पर्धा (Competition)...! हामीलाई परम्परागत रूपमै प्राप्त गायकहरू छोडेर, कृत्रिम ढङ्गले व्यावसायिक हिसाबमा वैकल्पिक गायक उत्पादन हुन थाले। 

लाखौँलाख धन, अधिक जन, श्रोत, साधन र समयको अनावश्यक खर्च गरेर नेपाल आइडल, भोइस अफ नेपाल, नेपाली स्टार, Singing Star, आदि प्रतियोगिता हुन थाले। अस्वस्थ प्रतिस्पर्धा र अस्वस्थ मतदान प्रणाली (भोटिङ्ग) को कारण वास्तविक प्रतिभा ओझेलमा पऱ्यो भने देशको आर्थिक, सामाजिक, सांस्कृतिक दृष्टिले पनि लाभभन्दा हानि बढी भयो। वैकल्पिक गायकलाई तालिम दिँदैमा अधिक धन र समय नष्ट भयो, र भइराखेको छ। अहिले नेपालको मौलिक गीतसङ्गीत-संस्कृतिलाई विकृत र दूषित गर्ने कार्य पनि यिनै वैकल्पिक गायकहरूद्वारा हुँदैछ। तिनैमध्ये कतिपय हजुरका मन परेका गायक पनि हुन सक्छन्। परम्परागत गायक गन्धर्वजातिले कहिल्यै संस्कृतिमा विकृति ल्याउँदैनन्, किनकी उनीहरूलाई कसैसँग अस्वस्थ प्रतिस्पर्धा गर्नु छ, न त्यसरी कतै भाईरल हुनुछ, न संस्कृति मासेर धन आर्जन गर्नु छ। आफ्नो पहिचान, संस्कृति, परम्परा र मौलिकताप्रति प्रेम र संरक्षणको भावना उनीहरूको रगतमा छ। देशको मिडियातन्त्रले त्यस्ता कृत्रिम गायकको प्रतिस्पर्धाको प्रचार यस्तो धूमधामले गऱ्यो कि नेपालको गन्धर्वजाति, र उनीहरूको कला समाजबाट विलुप्त हुन पुग्यो।

शासनतन्त्रबाट आफ्नो अधिकारको रक्षा नभएपछि, प्रोत्साहन नभएपछि, गन्धर्वहरू पनि वाध्य भएर अन्य क्षेत्रमा लाग्न थालेका छन्। कोही कोही आफ्नो प्राचीन परम्परामा र पहिचानको जगेर्ना गर्न कटिबद्ध छन्, तर उनीहरूले पनि राज्य र समाजबाट उचित सम्मान र पारिश्रमिक पाउन सकेका छैनन्। आउँदो पुस्ताले त्यसलाई निरन्तरता दिने सम्भावना कमै छ। गन्धर्वजाति यतिकै हराएर जान्छ, तर त्योसँगै नेपालको एउटा एेतिहासिक सांस्कृतिक सम्पदा लोप भएर जान्छ। 

सारङ्गीलाई संग्राहलयमा थन्क्याएर, गन्धर्वजातिलाई विलुप्त गरेर, नेपालमा वैकल्पिक गन्धर्व आउँछन्, वैकल्पिक सारङ्गी आउँछ: "भायोलिन" को नाममा, जसको मूल्य हजारौँ पर्छ। सारङ्गी बजाउने कला, र बनाउने कला: दुबै लुप्त हुन्छन्। आजकलको पढेलेखेका आधुनिक मूर्खको दृष्टिमा सारङ्गी उपेक्षाको वस्तु बन्छ, र भायोलिन सम्मानको वस्तु बन्छ। भायोलिन सिकाउने नाममा संस्था खोलेर धन, श्रम र समयको अनावश्यक खर्च गरिन्छ। आजकल यस्तै अनर्थकारी कामलाई, नै "विकास" को रूपमा परिभाषित र प्रचार गरिएको छ।

" सुनको खोजीमा, हिरा गुमायौं "  भन्छन्, सबैतिर त्यही भइराखेको छ। हुन त अब परम्परागत जाति नै हटाउने, जम्मा "लोग्ने - स्वास्नी" दुई जाति बनाउने अभियान चलेको बेला गन्धर्वजातिको आवश्यता पनि नहोला, त्यति नगरे त परम्परा, संस्कार, संस्कृति कहाँ मासिन्छ र? हुनेखानेले धन, श्रम र समयको खर्च पनि कहाँ गर्ने? परम्परागत गन्धर्व फालेर वैकल्पिक गन्धर्व बनाउन! पश्चिमाले आफ्नो उच्छृङ्खल कला, संस्कृति कहाँ प्रचार गर्ने? यहीँ त हो। गन्धर्वजातिलाई प्रोत्साहन दिए त पश्चिमाको अनुकरण कसले गर्दिने?