घृणावाद को युग
इतिहास

घृणावाद को युग


. . . . .मोहन लामा रुम्बा 

२०४७ लाई नेपालको सामाजिक इतिहासमा पानी ढलो मान्ने हो भने ०४७ पछिका पुस्ताहरु बिभाजित मानसिकतामा राज्यले उत्पादन गरेका विषाक्त बाली हुन् । 

यो बाली विषाक्त छ दिमागमा साम्प्रदायिक चिन्तन कुटकुट भरिएको छ हिजो सम्म एउटै गुफामा एउटै पोखरीमा एउटै देवी देउरालीमा संगै पुजा गर्ने छिमेकी छिमेकी बिचमा अहिले आएर त्यो त तेरो होइन रे । त्यो त हाम्रो हो रे तिमीहरुले अविर धसेर हिन्दु बनाएको रे, लादेको रे, थुपारेको रे, भन्न थाले। यही बिकास भयो यही उपलब्धि पायौं हामीले, नेपालमा यस्तै बिचार धारालाई राज्यले प्रश्रय दिएर समाजमा थुप्रै आङ्काजी प्रवृत्तिको बिकास गरे यही हो आजको हाम्रो आधुनिक समाजको वास्तविकता ।

हिजो गाउँमा मिश्रित जाति बसोबास हुन्थ्यो एउटा झाँक्री बोन्पो भए सबैको साझा हुन्थ्यो । असिना पानीको त अघिल्लो अंकमा पोस्ट गरिसकें लामा पनि सबैको साझा भनेर एउटा पण्डित भए सबै गाउँलेले शुभ अशुभ तिथि मिति हेर्न पुग्थ्यो । त्यस्तो थियो नेपाल ....

त्यो हो नेपाल यहाँ भारतमा जस्तो साम्प्रदायिक बिखण्डन कहिल्यै भएन किनभने यहाँनेर सैव परम्परामा आधारित हिन्दु र बोन बौद्धको समन्वयात्मक संस्कृतिले बाँधेकोले कसैले अलग्याएर हेर्नै सकेन । थुप्रै इस्ट इन्डिया कम्पनीको अंग्रेजहरु नेपाल आएर यहाँको सामाजिक अवस्था हेरे सबै धर्मावलम्बीले एकै ठाउँमा पुजा गरेको देखेर अलमल्ल भएर गएको कुरा सिल्भालेभीले आफ्नो पुस्तकमा नै उल्लेख गरेको छ।

अलमल्ल किन नहोस् ? यहाँको धर्म संस्कृति नै अनादी कालदेखि समन्वयात्मक छ त्यसको एउटा नमूना हेरौं "रसुवाको नागथली गुम्बामा भोट भाषामा लेखेको एक पुरानो टिपोटमा " रामशाहका पालामा गोर्खा दरबार भित्र दाजुभाइ बिद्यामान कलहको निराकरण गर्न र राजगद्दीको उत्तराधिकारी सन्तान जन्माउनको निम्ति तान्त्रिक अनुष्ठान गर्न भुटानी लामालाई गोर्खा निम्त्याएको चर्चा गरेको पर्चा छ। भुटानी लामालाई गोर्खा ल्याउन राम शाहले एउटा दुत भुटानी धर्मराजा कहाँ पठाएको र धर्मराजाले त्यहाँको प्रसिद्ध लामा दम् छ्याे पे- कर् लाई गोर्खा पठाएको चर्चा गरेको छ।(नेपाल भुटान ऐतिहासिक साँस्कृतिक सम्बन्ध- रमेश ढुंगेल) राम शाहले १२ वटा गुम्बा दान दिएको बारेमा पनि उल्लेख गरेको छ तर कहाँ कहाँ दिएको थियो विवरण उल्लेख गरेको छैन।

त्यस्तै योल्मो क्षेत्रमा राजा राजेन्द्र बिक्रम शाहले दिएको ताम्रापत्र अनुसार :

"आगे काल्साङ लामाके योल्मोको आम्वाला मध्ये ल्हाखाङ भन्याको काला बम्जरा त्यसको सदा पुर्व अलोसक……… चिन्ह हिले डाँडा उत्तरा शिवा सोलो पश्चिममा चिमुथाङ्को बाटो यति चार किल्ला भित्रको जंगलमा गोम्बा बनाई श्री देउता थापी नित्य नैमित्यका पुजा गर्नु परापुर्व देखि बनाएको आफ्नो लामाको चैत्य मर्यादा तिथि रिति शास्त्र पढाउनु पुश्त दर पुश्त सम्म भोग्य गर्नु भनी श्री ५ बुबा ज्यु बाट मोहरा गरि बसानु भन्याको रहेछ सो बमोजिम ताम्र पत्र गरि बक्सियुम। हाम्रो जय मनाई भोग्य गर। इति सम्वत १८८० साल मिति आश्विन सदि १२ रोज ५ शुभम।" 

अर्को पत्रमा:

"मलाई थाहा भयो की यिहरु ती लालमोहरमा समावेश थिए जुन मेरा पिता राजा गिर्वाण युद्धले दिनु भएको थियो सो बमोजिम अब म तपाईंलाई ताम्रापत्र दिंदै छु त्यसैले तपाईं ध्यान पुर्वक र सजगताका साथ कर्म गर्दै अनिवार्य रूपमा हाम्रो सार्वभौमको मर्यादामा रहि यस भुमिको स्वामी बन्नु।" सन् १९८० Graham E. clarke द्वारा लिखित A helambu history बाट साभार गरिएको (महातिर्थ गुप्त क्षेत्र योल्मो हिमश्रींखला तथा योल्मोपा आदिवासीको इतिहास- ले-दावा साङ्बो योल्मोपा)

यि माथिल्लो पंक्तिले हाम्रो समग्र एउटा सामाजिक धार्मिक इतिहासको कालखण्ड दर्साउछ कसरी हजारौं वर्षको हिन्दुपती राजाको राज्यमा तिनको अधीनमा बोन, बौद्ध, किराँत, गुराउ, घ्याब्री,पच्यु जस्तो संस्कृति यति लामो समयसम्म कसरी जोगिएर अहिलेसम्म आएर हाम्रो पुस्ता सम्मले देख्न पायौं भनेर एकछिन गम खाएर सोचौं त ? 

तर दुर्भाग्यवश हाम्रो पुस्ताले हाम्रै कालखण्डमा भावी आउने पुस्तालाई आफ्नो मौलिक संस्कृति हस्तान्तरण गर्न अब नसक्ने अवस्थामा पुगिसकेका छौं अल्पसंख्यक धेरै संस्कृतिहरु लोपोन्मुख हुँदै छ, अब हामी संग आउने पुस्तालाई हस्तान्तरण गर्ने भनेको केवल हिन्दु राजालाई गाली गर्ने दुत्कार्ने जातीय साम्प्रदायिक घृणा गर्ने भाषा मात्रै छ सिर्जनशीलता केहि छैन सबै क्रमशः मर्दै छ । हामी एकापसमा वैरी भावमा लड्दा लड्दै हाम्रो धर्म संस्कृति त त्यही हिन्दु राजा संगै सती गएको पत्तै पाएन छौं जतिबेला पत्तो पाउने छ त्यतिबेला अफ्रिकाको नागरिक डेसमंड टुटू ले चाल पाएको जस्तो मात्रै हुने छ ।