यमराजको द्वारमा
धर्म

यमराजको द्वारमा


‘नदिनयोग्य गाईको दानले उल्टै अमङ्गल हुन्छ’ यस्तो विचारले साविक बुद्धिसम्पन्न ऋषिकुमार नचिकेता अधीर हुनुभयो। उहाँका पिता वाजश्रवस–वाजश्रवाका पुत्र उद्दालकले विश्वजित नामको महान यज्ञ अनुष्ठानमा आफ्नो सम्पूर्ण सम्पत्ति दान गर्नुभएको थियो, तर ऋषि ऋत्विज् र सदस्यहरूको दक्षिणामा राम्रा नराम्रा सबै किसिमका गाईहरू दिइरहेका थिए । पिताको मङ्गल रक्षाका लागि आफ्नो अनिष्टको शङका हुँदाहुँदै पनि नचिकेताले विनम्रतापूर्वक भन्नुभयो– ‘पिताजी ! म पनि तपाईंकै सम्पत्ति हुँ, मलाई कसलाई दिँदै हुनुहुन्छ ?

उद्दालकले कुनै उत्तर दिनुभएन । नचिकेताले फेरि त्यही प्रश्न गर्नुभयो, तर उद्दालकले फेरि टार्नुभयो । ‘पिताजी ! तपाईं मलाई कसलाई दिँदै हुनुहुन्छ ?  तेस्रोपल्ट सोध्दा उद्दालकलाई रिस उठ्यो । झर्किएर उहाँले भन्नुभयो – ‘म तिमीलाई मृत्युलाई दिन्छु ।’ नचिकेता विचलित हुनुभएन। परिणामका लागि उहाँ पहिले नै तयार हुनुहुन्थ्यो । उहाँले हात जोडेर पिताजीलाई भन्नुभयो – ’पिताजी शरीर त नश्वर हो, तर सदाचरण सर्वोपरि हुन्छ, तपाइँ आफ्नो वचनको रक्षाका लागि मलाई यम सदन जाने आज्ञा दिनुहोस् ।’  ऋषि झस्किनुभयो, तर पुत्रको सत्यपरायणता देखेर उहाँलाई यमपुरी जाने आज्ञा दिनुभयो। नचिकेताले पिताजीका चरणमा सभक्ति प्रणाम गर्नुभयो र यमपुरीतिर लाग्नुभयो ।
 
यमराज काँप्नुभयो। अतिथि ब्राह्मणको सत्कार नगर्दा हुने कुपरिणामसँग वहाँ पूर्णतया परिचित हुनुहुन्थ्यो र अनि उहाँ त अग्निसमान तेजस्वी ऋषिकुमार हुनुहुन्थ्यो, जसले वहाँको द्वारमा अन्न पानी ग्रहण नगरीकन तीन रात बिताइसक्नुभएको थियो । यम जलपूरित स्वर्णकलश हातमा लिएर दौडिनुभयो । वहाँले नचिकेतालाई सम्मानपूर्वक पाद्य, अघर्य दिएर अन्त्यन्त विनयभावले भन्नुभयो – ’आदरणीय ब्रह्मकुमार ! पूज्य अतिथि भएर पनि हजुरले मेरो द्वारमा तीन दिन उपवासमै बिताउनुभयो, यो त मेरो ठूलो अपराध भयो । हजुर एक–एक रात्रिका लागि एक–एक वर मसँग माग्नुहोस्।’

मृत्यो ! मेरा पिता मप्रति शान्त-सङ्कल्प, प्रसन्नचित्त र क्रोधरहित हुनुहोस् र म यहाँबाट फर्किएर घर जाँदा, मलाई चिनेर प्रेमपूर्वक कुरा गर्नुहोस्। पितृभक्त बालकले पहिलो वर माग्नुभयो। ’तथास्तु’ यमराजले भन्नुभयो ।

मृत्यो !  स्वर्गको साधनभूत अग्निलाई तपाईं राम्ररी चिन्नुहुन्छ । त्यसलाई चिनेर मात्र मानिसहरूले स्वर्गमा अमृतत्त्व–देवतत्त्व प्राप्त गर्छन, म त्यसलाई चिन्न चाहन्छु। यही मेरो द्वितीय वर– याचना हो ।

’त्यो अग्नि अनन्त स्वर्गलोकको प्राप्तिको साधन हो’ – यमराज नचिकेतालाई अल्पायु, तीक्ष्णबुद्धि तथा वास्तविक जिज्ञासुका रूपमा भेटेर प्रसन्न हुनुहुन्थ्यो । वहाँले भन्नुभयो – ’यो नै विराटरूप्ले जगत्को प्रतिष्ठाको मुख्य कारण हो। यसलाई तपाइँहरूजस्ता विद्वानहरूको बुद्धिरूप गुफामा भएको मान्नुहोस् ।’

त्यो अग्निका लागि जस्ता र जति इँटा चाहिने हुन्, तिनलाई कसरी राख्नु पर्ने हो र यज्ञस्थन निर्माण गर्नका लागि आवश्यक सामग्रीका साथै अग्नि छनोट गर्ने विधि बताउँदै अन्तन्त सन्तुष्ट भावमा यमले द्वितीय वरका बारेमा भन्नुभयो – ’मैले जुन अग्निका बारेमा तपाईंसँग कुरा गरें, त्यो तपाईकै नामले प्रसिद्ध हुनेछ र तपाईं यो विचित्र रत्नहरू भएको माला पनि ग्रहण गर्नुहोस् ।’
 
’हे नचिकेता, अब तेस्रो वर माग्नुहोस् ।’ अग्निलाई स्वर्गको साधनका रूपमा राम्री अथ्र्याएर यमराजले भन्नुभयो। ’तपाई मृत्युका देवता हुनुहुन्छ।’ श्रद्धा समन्वित नचिकेताले भन्नुभयो – ’आत्माको प्रत्यक्ष वा अनुमानले निर्णय हुन सक्दैन त्यसैले म तपाईंबाट त्यही आत्म–तत्त्व जान्न चाहन्छु । कृपापूर्वक बताइदिनुहोस् ।’

यम अकमकिनु भयो । आत्मविद्या साधारण विद्या होइन । वहाँले नचिकेतालाई त्यस ज्ञानको दुरूहता बताउनुभयो, तर उहाँलाई आफ्नो निश्चयबाट हल्लाउन सक्नुभएन । यमले भुवन मोहन अस्त्रको प्रयोग गर्नुभयो–सुर–दुर्लभ सुन्दरीहरू र दीर्घकालसम्म स्थायी रहने भोगका सागग्रीहरूको प्रलोभन पनि दिनुभयो, तर ऋषिकुमार आफ्नो तत्त्वसम्बन्धी गूढ वरबाट विचलित हुनसक्नुभएन ।
 
’तपाइँ धेरै भाग्यमानी हुनुहुन्छ ।’ यमले नचिकेताको वैराग्यको प्रशंसा गर्नुभयो र वित्तमयी संसार गतिको निन्दा गर्दै भन्नुभयो कि विवेक–वैराग्य–सम्पन्न पुरुषहरू मात्रै ब्रह्मज्ञान प्राप्तिका लागि योग्य हुन्छन् । श्रेय–प्रेय र विद्या–अविद्याको स्वरूपको पूरा वर्णन गर्दै यमले भन्नुभयो – ’तपाईं श्रेय चाहनुहुन्छ तथा विद्याका लागि योग्य हुनुहुन्छ ।’
 
’हे भगवन ! यदि तपाइँ मसँग प्रसन्न हुनुहुन्छ भने सबै प्रकारका व्यावहारिक विषयहरूबाट पर जुन परब्रह्मलाई तपाई देख्नुहुन्छ, मलाई सुनाउने कृपा गर्नुहोस्। ।’ ’आत्मा चेतन हो । न त्यो जन्मन्छ, न मर्छ । न त्यो कसैबाट उत्पन्न भएको हो न अर्कै कोही त्यसबाट उत्पन्न भएको छ ।’  नचिकेताको जिज्ञासा देखेर यम अत्यन्त प्रसन्न हुनु भएको थियो । वहाँले आत्माको स्वरूपलाई विस्तारपूर्वक बुझाउनु भयो – ’त्यो जन्मिएको छैन, नित्य छ, शास्वत छ, सनातन छ, शरीर नास हुँदा पनि नास हुँदैन। त्यो सुक्ष्मभन्दा सुक्ष्म र महानभन्दा महान छ । त्यो समस्त अनित्य शरीरहरूमा बसेर पनि शरीररहित छ। समस्त अस्थिर वस्तुहरूमा बसेर पनि सधैं स्थिर छ । त्यो कण–कणमा व्याप्त छ । समस्त सृष्टिक्रम उसैको आदेशले चल्छ । अग्नि उसैको डरले बल्छ, सूर्य उसैको डरले तातिन्छ तथा इन्द्र, वायु र पाँचौँ मृत्यु त्यसैको डरले दौडिन्छन । जुन पुरुषले कालको काखमा जानु अघि त्यसलाई चिन्छन्, तिनीहरू मुक्त हुन्छन् । शोक आदि क्लेशहरूलाई पार गरेर परमानन्द प्राप्त गर्छन् ।’

यमले भन्नुभयो – ’त्यसलाई न वेदको प्रवचन गरेर प्राप्त गर्न सकिन्छ, न विशाल बुद्धिले भेटिन्छ न जीवनभरी शास्त्र श्रवण गरेर प्राप्त गरिन्छ ।’ ’त्यो तिनैलाई प्राप्त हुन्छ जसका वासनाहरू शान्त भैसकेका हुन्छ, कामनाहरू मेटिइसकेका हुन्छ जसको पवित्र अन्तस्करणलाई मलिनताको छायाले स्पर्श पनि गर्न सक्तैन र जो त्यसलाई प्राप्त गर्न अत्यन्तै व्याकुल हुन्छन्।’
 
आत्मज्ञान प्राप्त गरिसकेपछि उद्दालक–पुत्र कुमार नचिकेता आफ्नो पिताको आश्रममा फर्किंदा उहाँले वृद्ध तपस्वीहरूको समुदाय आफ्नो स्वागतका लागि तयार भएको पाउनुभयो।

– कठोपनिषद्