सफला एकादशी
धर्म

सफला एकादशी


पौष महिनाको कृष्णपक्षमा सफला नामको एकादशी पर्छ । यस दिन भगवान नारायणको विधिपूर्वक पूजा गर्नुपर्छ । यो एकादशी कल्याणकारिणी एकादशी हो । यस एकादशीको ब्रतपछि गूरु ब्राम्हणहरुलाई दिप अथवा दियो दान गर्नु फलदायी मानिन्छ । अरु एकादशीमा झै सफला एकादशीमा पनि सात्विक आहार व्यवहार गरी ब्रत बस्नु पर्दछ ।

एकादशी व्रत विधानका विषयमा भगवन श्रीकृष्ण बताउनु हुन्छ दशमी तिथिकै दिनदेखि शुद्ध र सात्विक आहार एक छाक मात्र ग्रहण गर्नुपर्छ । यस दिन आचरणमा पनि ख्याल राख्नुपर्छ र सात्विक व्यवहार गर्नु पर्छ । व्रत लिने व्यक्तिले भोग विलास एवं कामनाको भावनालाई त्यागेर नारायणको छवि मनमा स्थापित गर्नका निम्ति राम्ररी प्रयत्न गर्नुपर्छ । बिहानै उठेर स्नान गरी शुद्ध भई शिरमा श्रीखण्ड चन्दन लगाई भगवान बिष्णुलाई कमल अथवा बैजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूपदीप, नैवेद्ध चढाएर पूजा गर्नु पर्दछ । भोलीपल्ट द्वादशीका दिन बिहानै ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिईसकेपछि मात्रै ब्रतालुले भोजन गर्नु पर्दछ । यसप्रकार सफला एकादशी ब्रत विधी पुरा गरेको खण्डमा अखण्ड फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

सफला अर्थात सफल हुने, समृद्धि पाइने र कर्मको यथोचित फल पाइने । तसर्थ सफलता र खुशी चाहने जोकोहीले पनि यस एकादशीको व्रत लिन जरुरी रहने कुरा धर्मशास्त्रमा उल्लेख छ । यस एकादशीको ब्रत बस्ने सवैलाई सफलता प्राप्त हुने भएकोले यस एकादशीको नामै सफला एकादशी भएको हो ।