पाथीभरा देवी 
धर्म

पाथीभरा देवी 


पाथीभरा देवीको स्थान, मेची अञ्चल, ताप्लेजुङ जिल्ला अन्तर्गत पुरुवा गा.वि.स. मा करीब बाह्र हजार फीटको उचाइमा पर्दछ । यो एउटा अग्लो चुली पहाड हो। यस डाँडाको आकारप्रकार धान, चामल आदि नाप्नेको पाथीमा अन्न भर्दा जसरी चुलिन्छ, त्यस्तै किसिमको चुली परेको डाँडा हँदा यसको ‘पाथीभरा' नामाकरण हुन गएको हो।


यहाँ मन्दिर परिसरबाट कुम्भकर्ण हिमाल नजिकै जस्तो देखिन्छ । साथै यहाँ जडिबुटीमा- हडचुर, पाखनबेत, चिराइतो, यार्सागुम्बा, कुड्की र वनस्पतीहरूमा- लौठासल्लो, धुपी, गोब्रेसल्लो र धेरै प्रजातिका गुराँसहरु छन । नौरङ्गी डाँफे, मुनाल जस्ता पक्षीहरू र कस्तुरी मृग, हिमचितुवा जस्ता जनावरहरू यस क्षेत्रमा रहेका छन् ।


 देवीस्थानको उत्पत्तिबारे रोचक कथा वा किंवदन्ती रहेको पाइन्छ । स्थानीय लेकाली क्षेत्रमा बस्ने भेंडा गोठालाहरूको भेंडा चराउने क्रममा गोठ सार्दै जाँदा गोठालाहरू कुनै दिन यसै ठाउँमा पुगेछन् । एक दिन गोठबाट चर्न निस्केका भेंडाहरू फर्की नआई हराएका हुँदा यस ठाउँमा देवी छन् भन्ने विश्वासमा रहेका चिन्तित गोठालाहरूले थानमा गई ढोग गर्दै 'हे भगवती ! भेंडा फर्की आएमा हजुरलाई बलि चढाइ पूजा गर्नेछौ' भनी भाकल गरेछन् । नभन्दै, संयोगवश वा राती सबै भेंडाहरू सकुशल  फर्की आएका हुँदा गोठालाहरूले खुशी हुँदै पहिलो पटक बलि चढाई देवीको पूजा गरे । यसरी क्रमश: स्थानीय जनतामा देवीप्रति आस्था र विश्वास बढ्दै गई ‘पाथीभरा देवी' को ख्याति फैलिदै गएको हो भन्ने जनश्रुति रहेको पाइन्छ।


भगवतीको स्थान पहाडको टाकुरामा रहेको छ। बलि चढाउन छुट्याइएको ठाउँ पूर्व ढुङ्गाको चौतारो, पश्चिममा पाटी, उत्तरमा ढुङ्गाको चौघेरो र दक्षिणमा अर्को सानो पाटीको बीचको क्षेत्र हो। यसै बीचमा अलिकति ढङ्गाको चौतारो उठाएको जस्तो ठाउँमा भगवतीको धातको मति । दायाँ-बायाँ पट्टि अन्य देवी र गणेशका मूर्तिहरू पनि राखिएका छन् । वरिपरि त्रिशूल, घण्टहरू र केही खड्ग एवं तरवारहरू रहेका देखिन्छन् ।


यहाँकी भगवतीप्रति जनताको अगाध आस्था र विश्वास रहेको पाइन्छ । टाढाटाढाबाट पनि मानिसहरू देवीको पूजा गर्न र बलि चढाउन आउने गर्छन् । अधिकांश व्यक्तिहरू साँझमा त्यहाँ पुगी पाटीमा बास बसी भोलिपल्ट बिहानै आफैले लगेको पानी वा हिउँ पगालेको पानीले हातमख धोई धूप, अक्षता, चन्दन र फूलले देवीको पूजा गर्छन् र चाहनेले बलि चढाउने कामसमेत सकी प्रसाद लिएर फर्कने गर्दछन् ।


यहाँकी भगवतीको पूजा गरेमा बिरामी भएकाले रोगमुक्त हुने, अन्य सङ्कटको अवस्थामा परेकाहरूले पनि त्यसबाट छटकारा पाउने र मनले चिताएको कुरा पूरा हुने भन्ने कुरामा गहिरो जनविश्वास रहेको बुझिन्छ ।


यात्रामार्ग र वासस्थान आदि 

ताप्लेजुङ जिल्ला सदर मुकामसम्म मोटरबाटो छ। त्यहाँबाट पैदल हिँडेर साधारणत: दोस्रो दिन पाथीभरा पुगिन्छ । त्यहाँ बस्नका लागि मन्दिर परिसरमा रहेको पाटी (पौवा) मात्र हो । त्यस क्षेत्रमा देवीस्थान नजिक घर-बस्ती छैनन् । देउराली भन्ने ठाउँ भन्दा माथि पानी पनि पाइँदैन । खानेकुरा र ओढ्ने बिछ्याउने आफैले लैजानुपर्छ । बिहानै पूजा सकेर हिँडेपछि फर्कंदा ओरालो पर्ने भएको हुँदा गाउँ-बस्ती भएको ठाउँमा सजिलै पुग्न सकिन्छ ।

सम्बन्धित लेखहरू