निष्काम भावना- एक्काइस पिँढीहरू तारिए
धर्म

निष्काम भावना- एक्काइस पिँढीहरू तारिए


हिरण्यकशिपु जब आफै प्रह्लादलाई मार्नका लागि तम्सियो र क्रोधको आवेशमा आफ्नै अगाडिको खाँबामा मुड्की बजार्यो , तब त्यही खाँबोलाई फोरेर नृसिंह भगवान् प्रकट हुनुभयो र उहाँले हिरण्यकशिपुलाई पक्रिएर नङ्ग्राहरूले उसको पेट फोरीदिनुभयो। दैत्यराजका अनुचरहरू प्राण बचाएर भागे। हिरण्यकशिपुको आन्द्राको माला घाँटीमा लगाएर, बारम्बार जिब्रो लपलपाउँदै विकट गर्जना गर्दै अँगारजस्तै नेत्र लिएका नृसिंह भगवान् दैत्यराजको सिंहासनमा बस्नुभयो। उहाँको प्रचण्ड क्रोध शान्त भएको थिएन।
 
शंकरजी र ब्रह्माजीसँगसँगै सबै देवताहरू त्यहाँ आए। सबैले भिन्न भिन्न स्तुति गरे। तर परिणाम केही भएन। प्रभुजी शान्त नभए केही अनर्थ हुने हो कि भनेर ब्रह्माजी डराउनुभयो। उहाँले भगवती लक्ष्मीलाई पठाउनुभयो; तर श्रीलक्ष्मीजी त्यस्तो विकराल रूप देख्नेबित्तिकै फर्किनुभयो। उहाँले पनि भन्नुभयो 'आफ्ना आराध्यको यस्तो भयङ्कर रूप त मैले कहिल्यै देखेकी थिइनँ। म उहाँका छेउमा जान सक्तिनँ।'
 
अन्त्यमा ब्रह्माजीले प्रह्लादलाई भन्नुभयो- 'बाबु! तिमी नै छेउमा गएर भगवान्लाई शान्त बनाऊ।'
 
प्रह्लादलाई डर कस्तो हुन्छ भन्ने थाहै थिएन। उनी सहज भावले प्रभुको छेउमा गए र दण्डवत् प्रणिपात् गर्दै भुइँमा लम्पसार परे। भगवान् नृसिंहले आफै उनलाई उठाएर काखमा राख्नुभयो र वात्सल्यवस जिब्राले उनको निधार चाट्न थाल्नुभयो । त्रिभुवननाथले भन्नुभयो- 'बाबु! मलाई क्षमा गर। मलाई आउन धेरै ढिलो भयो, त्यसैले तिमीलाई यतिबिघ्न कष्ट भोग्नु पर्यो।
 
प्रह्लादले काखबाट ओर्लिएर श्रद्धापूर्ण गदगद स्वरमा प्राथना गरे। भगवानले भन्नुभयो- 'प्रह्लाद! म प्रसन्न छु। तिम्रो जे इच्छा छ त्यही वरदान माग।
 
प्रह्लादले भने- 'प्रभु! हजुर यो के भन्दै हुनुहुन्छ ? जसले केही पाउने आशामा स्वामीको सेवा गर्छ, ऊ त सवकै  भएन नि ! हजुर मेरो परमोदार स्वामी हुनुहुन्छ र म हजुरको चरणाश्रित सेवन हु। यदि तपाईं मलाई केही दिननै चाहनुहुन्छ भने, यही वरदान दिनुहोस् कि मेरो मनमा कुनै पनि कामना नरहोस्।'
 
भगवान् सर्वज्ञ हुनुहुन्छ। उहाँले ‘एवमस्तु' भनेर पनि फेरि। भन्नुभयो- 'प्रह्लाद! केही त माग।'
 
प्रह्लादले सोचे - 'यदि प्रभुले मसँग बारम्बार माग्न कर गरिरहनु भएको छ भने पक्कै पनि मेरा मनमा केही न केही कामना छ होला।' अन्त्यमा उनले प्रार्थना गरे - 'नाथ! मेरा पिताजीले तपाइँको सारै निन्दा गरेका छन् र तपाईंको सेवक-मलाई कष्ट दिएका छन्। म चाहन्छु उनी यो पापबाट मुक्त हुन।'
 
भगवान् नृसिंह हाँस्नुभयो- 'प्रह्लाद ! तिमीजस्तो भक्त जसको पुत्र भयो ऊ त आफैं पवित्र भइहाल्यो। जुन कुलमा तिमीजस्ता मेरा भक्तहरू जन्मिए, त्यस कुलका एक्काइस पिँढीहरू तारिए।'
 
आफूलाई कष्ट दिनेको पनि दुर्गति नहोस, यस्तै एउटा कामना थियो प्रह्लादका मनमा। धन्य होस त्यस्तो कामना। साचो भगवतभक्तको आफ्ना लागि कनै कामना कसरी बाकी रहनसक्छ र ?
 
- श्रीमद्भागवत