नागपञ्चमी महिमा
धर्म

नागपञ्चमी महिमा


श्रावण शुक्ल पञ्चमीको दिनलाई नागपञ्चमी भनिन्छ (धर्मसिन्धु, पृ ५०) नागको विशेष पूजा आराधना हुने यो उत्तम दिन हो । प्रत्येक घरमा नागको चित्र टाँसी चन्दन, अक्षता, दुबो, दही, फूल आदि वस्तुले नाग देवताको पूजा गरिन्छ । नागको पूजा गर्ने विधान हेमाद्रिले यसरी बताएका छन् - 

श्रावणे मासि पञ्चम्यां शुक्लपक्षे नराधिप । द्वारस्योभयतो लेख्या गोमयेन विषेल्बणाः । पूजयेद्विधिवद्वीर दधिदूर्वाङ्कुरैः कुशैः । गन्धपुष्पोपहारैश्च ब्राह्मणाना च तर्पणैः । ये तस्यां पूजयन्तीह नागान् भक्तिपुरः सराः । न तेषां सर्पतो वीर मयं भवति कुत्रचित् ॥ (निर्णयसिन्धु, पृ. ७८) 

अर्थात् ढोकाको माथि दुवैतिर गाईको गोबरले नाग बनाउनू । यसपछि दही, दुवो, कुश, चन्दन, फूल आदिले पूजा गर्नुपर्दछ । जसले नागको भक्तिपूर्वक पूजा गर्छ उसको घरमा सर्पको भय कहिल्यै हुँदैन । 

श्रीमद्भागवतमा रसातलमुनि पातालमा नागलोक रहेको बताइएको छ । जहाँका नागराज वासुकी हुन् । यसैगरी शङ्ख, कुलिक, महाशङ्ख, श्वेत, धनञ्जय, धृतराष्ट्र, शङ्खचूड, कम्बल, अश्वतर सैदत्त आदि प्रमुख नाग रहेका छन् । कसैको पाँच, कसैको सात, कसैका दश र कसैका हजार शिर रहेका छन् । ती नागको फँणामाथि रहेका चम्किला मणिले पाताललोकको अन्धकारलाई नष्ट गरेका छन् (श्रीमद्भागवत, ५/२४/३१) कश्यपपत्नी कद्रुका गर्भबाट आठ नागको जन्म भएको पौराणिक कथा पनि पाइन्छ । अष्टनागमा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख पर्दछन् ।

अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः 
कुलीर: कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः ॥ (नागस्तोत्रम् श्लो. ३)

 कसैले नागका पाँच कुल पनि बताएका छन् : अनन्त, वासुकी, तक्षक, टकर पिंगल । अग्निपुराणमा ८० प्रकारका नागकुल बताइएको छ । 
पञ्चमी तिथिका स्वामी नाग (सर्प) भएकाले (मुहूर्तचिन्तामणि, ११३) पनि पञ्चमीका दिन नागको विशेष पूजा हुने गर्दछ । 

श्रावण महिनामा बढी खनजोत गर्नु पर्दछ । यसरी भूमि खन्दा सर्पलाई कष्ट नपुगोस्, सर्पजन्य भय नरहोस् भनेर नागको पूजा गर्ने पनि चलन रहेको पाइन्छ । यसैगरी नाग भूमिमा रहने प्राणी भएकाले नागपञ्चमीका दिन नागको सम्मान स्वरूप खनजोत गरिदैन । यस दिन नाग देवताको व्रत लिने पनि चलन रहेको छ । सर्पसूक्तको पाठले नागजन्य दोष निवारणका साथै सर्पभय पनि रहँदैन भन्ने फल बताइएको छ । 

शिवगणमा सर्पको स्थान महत्त्वपूर्ण रहेको छ । भगवान् शिवजीको गलामा नाग विराजमान देख्न सकिन्छ । शिवजीको अड़भरि नै सर्प रहेका कथा पनि पाइन्छन् । यसैगरी शेष नागकै आसन राखी विष्णु भगवान् पनि शयन गर्नुहुन्छ । नागपाश अस्त्रलाई सबैभन्दा बलियो शस्त्रको रूपमा प्रयोग गरेको पुराणमा कथा वर्णन पाइन्छ । 

शेष नागको फँडामा यो धर्ती अडिएको छ भन्ने पौराणिक मान्यता रहेको छ । अनन्त पनि शेष नागकै अर्को नाम हो । भगवान् श्रीकृष्णले नागमध्ये 'म अनन्त हुँ ' भनी गीतामा उपदेश गर्नुभएको छ - 

अनन्तश्चास्मि नागानां (गीता, १०।२९) 

विशाल र लामो शरीर भएका नाग वासुकी हुन् । समुद्रमन्धनमा वासुकी नागको नेती बनाइएको थियो । तक्षक नागले नै राजा परीक्षितलाई डसेका हुन् । सो पश्चात् जनमेजयले सर्पेष्टि यज्ञ गरेर नाग जातिको नाश गरेका थिए । कर्कोटक शिवगणमध्येका एक नाग हुन् । सर्पेष्टि यज्ञबाट पनि शिवजीको उपासनाले बाँच्न सफल भएको कर्कोटकको कथा पाइन्छ । भगवान् शिवजीको आराधना गरी साक्षात् कर्कटेश्वर भगवान्‌को प्रकट भएको हो । भविष्य पुराणमा नागका प्रकार, आकार आदि इतिवृत्त बताइएको छ । लक्ष्मण र बलरामलाई शेष नागकै अवतार मानिन्छ । 

नाग / राहु निवास 

गृह आरम्भ गृहप्रवेश एवं व्याभिषेकमा नागको मुख र पुच्छरको विशेष विचार गर्नुपर्दछ । नाग भनेका राहु हुन् । मंसिर, पुस र माघ महिनामा राहुको मुख पूर्व दिशामा हुन्छ । फागुन, चैत र वैशाख महिनामा दक्षिण दिशामा जेठ,असार र साउन महिनामा पश्चिम र भदौ, असोज र कार्तिक महिनामा राहुको मुख उत्तर दिशामा हुन्छ । 

अलिधनुमकरे राहुरास्ते च पूर्वे सघटसफरमेषे दक्षिणे दिग्विभागे।
वृषमिथुनकुलिरे पश्चिमस्थश्च कालो हरियुवतितुलायामुत्तरे सैंहिकेय ॥                                       (महासंहिता) 

मुखको विपरीत दिशामा पुच्छर हुन्छ । सम्मुख राहु शुभकार्यमा वर्जित रहन्छ । 

नाग पनि देवता हुन् । देवताको पूजा सर्वकल्याणकारी हुन्छ । नागपञ्चमीको दिन नागको पूजाले नागजन्य दोष निवारणका साथै सर्पभय रहँदैन भन्ने धार्मिक मान्यता रहेको छ । यही मान्यताका आधारमा विभिन्न नागमन्दिर एवं नागस्थानमा नागदेवताको विशेष पूजा आराधना हुने गर्दछ ।

 नारायण प्रसाद निराैला 
   संस्कार सुलाेचना 
    नागपञ्चमी महिमा

श्रोत: सामाजिक संजाल