गीता-माधुर्य एघारौं अध्याय, भाग १
धर्म

गीता-माधुर्य एघारौं अध्याय, भाग १


अर्जुनले भने–हे भगवान् ! केवल ममाथि कृपा गर्नका लागि
नै हजुले जुन परम गोपनीय आध्यात्मिक रहस्य(सबैको केन्द्रमा म
छु) भन्नुभएको छ, त्यसले गर्दा मेरो मोह हराएको छ । हे कमलनयन!
मैले हजुरसित सम्पूर्ण प्राणीहरूको उत्पत्ति र प्रलयका कुरा पनि
सुनँ र हजुरको अविनाशी महात्म्य पनि सविस्तार सुनें ।। १–२ ।।
 
अब तिमीलाई अरु के चाहियो त ?
 
हे पुरुषोत्तम ! हजुरले आफूलाई जस्तो भन्नहुन्छ, वास्तवमा त्यस्तै हुनुहुन्छ । अब हे परमेश्वर ! मैले हजुरको त्यो परम स्वरूप देख्न चाहन्छु, जसको एउटा अंशमा अनन्नकोटि ब्रह्माण्ड व्याप्त छन् । तर, हे प्रभो ! यदि मैले त्यो परम स्वरूप देख्न सक्छु भन्ने हजुरलाई लाग्छ भने त्यो हजुरको अविनाशी स्वरूप मलाई देखाइदिनुस् ।। ३–४ ।।
 
भगवान्ले भन्नुभयो– हे पार्थ! तिमीले मेरो एउटा मात्रै रूपलाई किन, मेरा सयौँ, हजारौं रूपलाई हेर, जो दिव्य छन्, अनेक प्रकारका छन्, अनेक रङ्गका छन् र अनेक किसिमको आकृतिका छन् ।। ५ ।।
 
अरु के हेरौं भगवान ?
 
हे भारत! तिमी आदित्य, वसु, रुद्र, अश्विनीकुमार एवम् मरूतहरूलाई पनि हेर। जुन रूपलाई तिमीले पहिला कहिल्यै देखेका थिएनौ, ती विभिन्न आश्चर्यजनक रूपहरूलाई पनि तिमीले हेर ।। ६ ।।
 
मैले कहाँ हेरूँ, भगवान् ?
 
हे निद्राविजयी अर्जुन ! मेरो यो शरीरको कुनै पनि एउटा अंशमा चराचरसहित सम्पूर्ण जगत्लाई तिमीले अहिल्यै हेर । यदि यसबाहेक पनि तिमीले अन्य केही हेर्न चाहन्छौ भने ती पनि तिमीले हेर ।। ७ ।।
 
हजुरले लगातार ’तिमीले हेर, तिमीले हेर’ मात्रै भन्नुभएको छ, तर मैले त केही पनि देखिरहेको छैन, कसरी देखू ?
 
बाबु, तिमीले आफ्ना यी चर्मचक्षुले मलाई देख्न सक्दैनौ।
लौ, मैले तिमीलाई दिव्य चक्षु दिन्छु, यसकै बलमा तिमीले मेरो ईश्वरसम्बन्धी दिव्य सामर्थ्यलाई हेर ।। ८ ।।
 
यसो गरेपछि भगवान्ले के गर्नुभयो त सञ्जय ?
 
सञ्जयले भने– हे राजन् ! यति भनेर महायोगेश्वर भगवान्
श्रीकृष्णले अर्जुनलाई आफ्नो परम ऐश्वर्यमय रूप देखाउनुभयो ।। ९ ।।
 
कस्तो रूप देखाउनुभयो?
 
जसका अनेक मुख र आँखा छन्, अनेक किसिमका अद्भुत दर्शन छन्, अनेक दिव्य गहना छन् र जसले हातमा अनेक किसिमका दिव्य अस्त्रशस्त्र उठाउनुभएको छ, अनेक दिव्य माला र वस्त्र धारण गर्नुभएको छ, शरीरमा अनेक दिव्य चन्दन आदि लगाउनुभएको छ, यस्ता सर्वथा आश्चर्यमय र चारैतिर मुखभएको आफ्नो अनन्तरूप देखाउनुभयो ।। १०–११ ।।
 
त्यो रूप आश्चर्यमय किन थियो, सञ्जय?
 
यदि आकाशमा हजारौं सूर्य एकै पटक उदाई त्यो सबै मिल्दा पनि विश्वरूपको प्रकाशका अगाडि केही हुँदैन, त्यस्तो ।। १२ ।।
 
अर्जुनले त्यो रूप कहाँ देखे?
 
अर्जुनले देवहरूका पनि देव भगवान्को शरीरको एउटा अंशमा सम्पूर्ण संसारलाई अनेक विभागहरूले युक्त देखे ।। १३ ।।
 
सञ्जय, त्यो रूपलाई देखेर अर्जुनले के गरे त?
 
भगवान्को त्यो विश्वरूपलाई देखेर अर्जुन निकै आश्चर्यचकित भए भने उनका रौँ ठाडा भए । उनले हात जोडेर र शिर झुकाएर प्रणाम गर्दै विश्वरूप भगवान्को स्तुति गर्न थाले ।। १४ ।।
 
अर्जुनले के भने त सञ्जय?
 
अर्जुनले भने– हे देव ! मैले हजुरको शरीरमा सम्पूर्ण देवता, प्राणी, विशेष समुदाय, कमलासनमाथि बस्नुभएका ब्रह्माजी, कैलाशमा विराजमान शङ्कर, सम्पूर्ण ऋषि एवम् दिव्य सर्पहरूलाई देखेको छु ।। १५ ।।
 
हे विश्वरूप! हे विश्वेश्वर ! मैले हजुरलाई अनेक पेट, हात, मुख र आँखा भएका एवम् सबैतिरबाट अनन्तरूपयुक्त देखिरहेको छु ।
म हजुरको आदि, मध्य र अन्तलाई पनि देखिरहेको छैन । मैले हजुरको शिरमा मुकुट तथा हातमा गदा, चक्र(शङ्ख र पद्य) धारण गर्नुभएको, तेजका समूह, सबैतिर प्रकाश छर्ने, देदीप्यमान अग्नि र सूर्यसमान कान्तिभएका, आँखाले बल्लबल्ल देख्न सकिने र सबैतिरबाट अप्रमेयस्वरूपलाई देखिरहेको छु ।। १६–१७ ।।
 
हे नाथ! हजुर नै जान्नका लागि योग्य परम अक्षरब्रह्म हुनुहुन्छ, हजुर नै यस सम्पूर्ण विश्वका परम आधार हुनुहुन्छ र हजुर नै सनातनधर्मको रक्षा गर्ने सनातन पुरूष हुनुहुन्छ भन्ने मलाई लाग्छ ।। १८ ।।
 
केवल मानिरहेका छौ कि देखिरहेका पनि छौ, अर्जुन ?
 
मैले हजुरलाई आदि, मध्य, अन्तरहित, अनन्त, प्रभावशाली, अनन्त भुजाभएका, चन्द्र र सूर्यरूप आँखा भएका, प्रज्वलित अग्निसमान मुख भएका र आफ्नो तेजले सम्पूर्ण संसारलाई तताउँदै गरेका देखिरहेको छु ।। १९ ।।
 
हे महात्मन् ! यो स्वर्ग र पृथ्वीको बीचमो अन्तराल र दशै दिशाहरू एक हजुरसितै परिपूर्ण भइरहेका छन् । हजुरको यो अद्भुत एवम् उग्ररूपलाई देखेर तीनै लोक व्यथित हुँदै छन् ।
अहो ! तिनै देवताका समुदाय (जसलाई मैले पहिला स्वर्गमा देखेको थिएँ) हजुरमा प्रवेश गरिरहेका छन्। उनीहरूमध्ये पनि कति त भयभीत भएर हात जोड्दै हजुरका नाम र गुणको कीर्तन गरिरहेका छन् । महर्षि र सिद्धहरूको समुदाय ’कल्याण होस मङ्गल होस’ भन्दै उत्तमभन्दा उत्तम स्तोत्रहरूले हजुरको स्तुति गरिरहेका छन ।। २०–२१ ।।
 
जो रूद्र, आदित्य, वसु, साध्यगण, विश्वेदेव, अश्विनीकुमार, मरूद्गण, पितृ, गन्धर्व, यक्ष, असुर र सिद्धहरूका समुदाय छन्, ती पनि सबै आश्चर्यचकित भएर हजुरलाई हेरिरहेका छन् ।। २२ ।।
 
हे महाबाहो! हजुरका अनेक मुख, आँखा, हातपाखुरा, जाँघ, गोडा, अनेक पेटभएको एवम् विकराल दाह्री भएको विशालरूपलाई देखेर सबै प्राणी भयभीत भइरहेका छन् भने म स्वयम् पनि भयभीत भइरहेको छु ।। २३ ।।
 
हे विष्णु ! अनेक प्रदीप्त वर्णभएको, आकाशको स्पर्श गर्ने, फैलिएको मुख भएको एवम् प्रदीप्त र विशाल आँखा भएको देदीप्यमान रूपलाई देखेर भित्रैबाट भयभीत भएको मैले धैर्य र शान्ति पाइरहेको छैन । हजुरको प्रलयकालको अग्निसमान प्रज्वलित र दाह्रीका कारण भयानक मुखलाई देखेर मैलाई न त दिशाबोध भइरहेको छ, न त शान्ति नै प्राप्त भएको छ । यसैले, हे देवेश ! हे जगन्निवास! हजुर प्रसन्न हुनुहोस् ।। २४–२५ ।।
 
हाम्रो पक्षका मुख्य योद्धासहित भीष्म, द्रोण र कर्ण पनि हजुरमा प्रवेश गर्दै छन् । राजाहरूको समुदायसहित धृतराष्ट्रका सम्पूर्ण पुत्र हजुरको विकराल दाहीले भयङ्कर देखिएको मुखमा तीव्रतासाथ प्रवेश गरिरहेका छन्। उनीहरूमध्ये कति त चूर्ण भएका शिरसहित हजुरको दाँतको बीचमा अल्झिरहेका देखिंदै छन् ।। २६–२७ ।।
 
जसरी नदीका कति पानीका प्रवाहरू स्वाभाविकरूपमा समुद्रतिर दौडिन्छन्, त्यसरी नै मनुष्यलोकका ती भीष्म, द्रोण आदि महान् शूरवीरहरू हजुरको प्रज्वलित मुखमा प्रवेश गरिरहेका छन् । जसरी पतिङ्गरहरू मोहवश आफ्नो नाशका लागि अत्यन्त वेगका साथ प्रज्वलित अग्निमा प्रवेश गर्दछन्, त्यसैगरी दुर्योधन आदि सबै मानिस मोहवश आफ्नो नाश गर्नका लागि निकै तीव्रतासाथ प्रवेश गर्दै छन् भने हजुर पनि आफ्नो प्रज्वलित मुखद्वारा सबैलाई खाँदै चारैतिरबाट बारम्बार चाटिरहनुभएको छ ।
हे विष्णो! हजुरको उग्र प्रकाशले आफ्नो तेजमार्फत सम्पूर्ण जगत्लाई परिपूर्ण गर्दै सबैलाई सन्तप्त गरिरहेको छ ।। २८–३० ।।
 
गीता-माधुर्य, गीता प्रेस