गीता-माधुर्य एघारौं अध्याय, भाग २
धर्म

गीता-माधुर्य एघारौं अध्याय, भाग २


हे देवश्रेष्ठ ! हजुरलाई नमस्कार ! हजुर प्रसन्न हुनुहोस् । आदिरूप हजुरलाई मैले तत्त्वपूर्वक जान्दछु । मलाई बताउनुस् कि यस्तो उग्ररूपधारी हजुर को हुनुहुन्छ ?

भगवान्ले भन्नुभयो–सम्पूर्ण लोकलाई नाश गर्ने म बढेको काल हुँ ।

हजुर यहाँ किन आउनुभएको हो नि ?

यतिबेला म यिनीहरूको संहार गर्नका लागि म यहाँ आएको हुँ ।

हजुरबाट कोही बच्नेवाला छन् कि छैनन्, यहाँ ?

तिम्रो प्रतिपक्षमा जति पनि योद्धा उभिएका छन्, ती तिमीले युद्ध नगरे पनि रहने छैनन् । यी सबै मद्वारा पहिल्यै मारिइसकेको छन् । यसर्थ, तिमी युद्धका लागि तयार बन र यशलाई प्राप्त गर्दै शत्रुमाथि विजय प्राप्त गरी धनधान्यले परिपूर्ण राज्यलाई प्राप्त गर ।।

त्यसोभए मैले युद्ध किन गर्नुपर्यो त नि ?

हे सव्यसाचिन् ! तिमी केवल निमित्तमात्र बन ।। ३१–३३ ।।

तर, भगवान भीष्म, द्रोण, जयद्रथ, कर्णलगायत शूरवीरहरूमाथि कसरी विजय हुन्छ र ?

भीष्म, द्रोण, जयद्रथ, कर्ण तथा अन्य जति पनि शूरवीरहरू छन्, ती सबै मद्वारा पहिल्यै मारिइसकेका छन्। ती मद्वारा पहिल्यै मारिइसकेका शूरवीरहरूलाई नै तिमीले मार । अतः तिमी नडराऊ र युद्ध गर। युद्धमा तिमीले सबै शत्रुहरूलाई जित्ने छौ ।। ३४ ।।

त्यसपछि के भयो त सञ्जय?

सञ्जयले भने– भगवान् केवशका यी वचन सुनेपछि भयले काम्दै गरेका अर्जुन हात जोडेर नमस्कार गर्दै र अत्यन्त भयभीत हुँदै फेरि प्रणाम गर्दै गद् गद् वाणीले कृष्णको स्तुति गर्न थाले ।। ३५ ।।

अर्जुनले भने–हे अन्तर्यामी भगवान् ! हजुरका गुण, नाम, आदिको कीर्तन गर्नाले यो सम्पूर्ण जगत् हर्षित भइरहेको छ र अनुराग प्राप्त गरिरहेको छ । हजुरका नाम, गुण आदिको कीर्तनबाट डराएर राक्षसहरू दशौँ दिशातिर भागिरहेका छन् सिद्धहरूका समुदायले हजुलाई बारम्बार नमस्कार गरिरहेका छन् ।

जे भएको छ, उचित भएको छ ।। ३६ ।।

किन उचित भएको छ, अर्जुन ?

किनकि हजुर अनन्त हुनहुन्छ, सम्पूर्ण देवताका मालिक हुनुहुन्छ र यस जगत्का आधार हुनहुन्छ । हजुर अक्षरस्वरूप हुनुहुन्छ । हजुर सत् पनि हुनुहुन्छ, असत् पनि हुनुहुन्छ भने सत्असत्भन्दा पर जे छ, त्यो पनि तपाई न हुनुहुन्छ। हे महात्मन् । हजुर गुरुहरूका पनि गुरु र ब्रह्मालाई पनि जन्माउने हुनुहुन्छ हजुरलाई सिद्धहरूका समुदायले किन नमस्कार नगरून् त ? ।। ३७ ।।

हजुर नै आदिदेव र पुराणपुरूष हुनुहुन्छ । हजुर नै यस संसारका परम आधार हुनुहुन्छ । हजुर नै सबैलाई जान्ने र जान्न योग्य हुनुहुन्छ । हजुर नै सबैका परम गन्तव्यस्थान हुनुहुन्छ । हे अनन्तरूप ! हजुरबाटै सम्पूर्ण संसार व्याप्त छ ।। ३८ ।।

हजुर नै वायु, यमराज, अग्नि, वरुण, चन्द्रमा, प्रजापति र पितामह ब्रह्माजीका पनि पिता हुनुहुन्छ । यसर्थ, हजुरलाई हजारौं पटक नमस्कार ! नमस्कार ! बारम्बार नमस्कार ! हे सर्व! हजुरलाई अगाडि, पछाडि सबैतिरबाट नमस्कार! हे अनन्तवीर्य ! हजुर अमितविक्रमवाला हुनुहुन्छ। हजुर सर्वत्र संसारमा व्याप्त हुनुहुन्छ, अतः सबै हजुर नै हुनुहुन्छ ।। ३९–४० ।।

हे भगवान् ! हजुरको यो महिमा र स्वरूपलाई नजान्दा मैले हजुरलाई आफ्नो साथी मानेर प्रमादवश अथवा प्रेमवश (नबुझीकन) ’हे कृष्ण! हे यादव! हे सखा!’ भन्दै जे भनें, हे अच्युत ! घुम्दाफिर्दा, सुत्दाउठ्दा, उठ्दाबस्दा र खाँदापिउँदा एक्लै अथवा ती साथी, इष्टमित्र आदिका अगाडि हाँसोठट्टामा हजुरलाई जसरी तिरस्कार गरें, त्यसका लागि म अप्रमेयरूपले हजुरसित माफी माग्छु ।। ४१–४२ ।।

हजुर नै यस चराचर जगत्का पिता हुनुहुन्छ, हजुर नै पूजनीय र गुरुका पनि महान् गुरु हुनुहुन्छ । हे असीम प्रभावयुक्त भगवन् !

यस त्रिलोकमा हजुरसमान अर्को कोही छैन भने हजुरभन्दा ठूलो झन् को नै हुन सक्छ र ? यसर्थ, लम्पसार शरीरले ढोग गर्न योग्य हजुर ईश्वरलाई मैले प्रणाम गरी प्रसन्न तुल्याउन चाहन्छु । जसरी, पिताले पुत्रको, साथीले साथीको र पतिले पत्नीको तिरस्कारलाई सहन्छ, त्यसैगरी हे देव! हजुरले मैले गरेको अपमानलाई पनि सहन गर्नुहोस् ।। ४३–४४ ।।

ठीक छ, अब भन के चाहन्छौ ?

हजुरको यस्तो अपूर्वरूपलाई देखेर म हर्षित पनि भएको छु भने डरले मन पनि व्याकुल भइरहेको छ । अतः हे देवेश ! हे जगन्निवास ! हजुर प्रसन्न हुनुस् र आफ्नो त्यही देवरूप(विष्णुरूप) देखाउनुस्, जुन शिरमा मुकुट धारण गरिएको, हातमा गदाचक्र, शङ्ख र पद्य लिएको छ । मैले यतिबेला हजुरको त्यही रूपलाई देख्न चाहन्छु । हे सहस्रबाहो ! हे विश्वमूर्ते ! हजुर त्यही चतुर्भुजरूपमा प्रकट हुनुस् ।। ४५–४६ ।।

भगवान्ले भन्नुभयो–हे अर्जुन! मैले निकै प्रसन्न भएर आफ्नो सामर्थ्यसाथ तिमीलाई यो अत्यन्त श्रेष्ठ, तेजोमय, सबैको आदि र अनन्त विश्वरूप देखाएँ, जसलाई तिमीबाहेक कसैले पनि पहिला देखेको छैन ।। ४७ ।।

हजुरको यो विश्वरूपलाई मानिसले कुन साधनले देख्न सक्छ त भगवान ?

कुनै पनि साधनले सक्दैन । हे कुरूप्रवीर ! मनुष्यलोकमा तिमीजस्तो       कृपापात्रबाहेक यस्तो रूपलाई कुनै वेदाध्ययन, यज्ञ, दान, उग्र तपस्या र ठूलाठूला क्रियाहरूले पनि देख्न सकिँदैन ।। ४८ ।।

तर, भगवान्! यतिबेला त मैले हजुरको भयानकरूपलाई देखेर साहै डराइरहेको छु, के गरूँ ?

हेर बाबु, मेरो यो रूपलाई देखेर तिमी डराउनुपर्दैन र आफूमा विमूढ (मोह) भाव पनि आउन दिनुहुँदैन । अब तिमी भयरहित र प्रसन्न मन बनाएर मेरो त्यही रूपलाई फेरि हेर ।। ४९ ।।

यति भनेपछि भगवान्ले अर्जुनलाई कुनचाहिँ रूप देखाउनुभयो त सञ्जय?

सञ्जयले भने–यति भनेर भगवान् वासुदेवले अर्जुनलाई आफ्नो चतुर्भुजरूप देखाउनुभयो। त्यसपछि भगवान्ले पुनः सौम्य द्विभुजरूप भएर भयभीत    अर्जुनलाई आश्वासन दिनुभयो ।। ५० ।।

अब त तिम्रो डर हट्यो, होइन अर्जुन ?

अर्जुनले भने–हे जनार्दन ! हजुरको यो सौम्यरूप देखेर अब भने मेरो चित्त स्थिर भएको छ र म स्वाभाविक स्थितिमा आएको छु ।। ५१ ।।

भगवान्ले भन्नुभयो–तिमीले यो जुन चतुर्भुजरूप देखेका छौ, यसको दशन साहै दुर्लभ छ, देवताहरू पनि यस रूपलाई हेर्न सधैं लालायित रहन्छन् ।
तिमीले मलाई जस्तो देखेका छौ, त्यस्तो त म वेदले, तपले, दानले र यज्ञले पनि देखिन सक्दिनँ ।। ५२–५३ ।।

त्यसोभए हजुर कसरी देखिनुहुन्छ त ?

हे शत्रुतापन अर्जुन ! यसप्रकार, चतुर्भुजवाला म अनन्यभक्तिले नै देखिन सक्छु । देखिने मात्रै होइन, तत्त्वपूर्वक जान्न पनि सकिन्छ, प्राप्त गर्न पनि सकिन्छ ।। ५४ ।।

त्यो अनन्य भक्ति कस्तो हुन्छ, भगवान् ?

हे पाण्डव ! सबै कर्मलाई मेरालागि गर्नु, मेरै परायण हुनु, भक्त हुनु, आसक्तिरहित हुनु र कुनै पनि प्राणीसित वैरभाव नराख्नु, यस्तो खालको भक्तिले युक्त भक्तले मलाई प्राप्त गर्दछ ।। ५५ ।।

गीता - माधुर्य, गीता प्रेस