शिवमय अर्थशास्त्रको व्याख्या
विचार

शिवमय अर्थशास्त्रको व्याख्या


शिवको अर्थ कल्याण हो। अर्थशास्त्र र विकास शब्दले पनि कल्याण गर्ने, भलो गर्ने भन्ने बुझाउछ ।  शिव अलौकिक र पदार्थ भन्दा बाहिर हुन् भने अर्थशास्त्र लौकिक र पदार्थमा सिमित विषय हो। बर्तमान अर्थशास्त्र जसलाई नविन तथा आधुनिक पाश्च्यात्य  बिद्या भनिन्छ।  मानव समाजमा धन या अर्थशास्त्र सम्बन्धित विविध क्रियाहरु यसकारण हुन्छन, कि मानिसको जीवन निर्वाह वा भोग विलासको लागी र आफ्नो छेमता वृद्धिको लागी जरुरत हुन्छ । अत: अर्थशास्त्रको मुख्य विषय "मानविय आवश्यकता" हो।  आधुनिक अर्थशास्त्रको विचार यो छ कि नित्य नया आवश्यकता वृद्धि गर्ने फेरी त्यसैको पूर्तिको प्रयत्न गर्नु आर्थिक उन्नति हो।  


परन्तु यस उन्नतिबाट मानव समाजको अभिष्ट शुख/कल्याण कहासम्म पुगेर प्राप्त हुन्छ ? सर्वत्र असन्तोष बढदै गएको छ । सभ्यताको स्वरुप बहिर्मुख हुन्छ।  धन वैभवको जुन परिणाममा वृद्धि हुन्छ, त्यो भन्दा धेरै गुणा हाम्रो आवश्यकता बढदै जानाले अभाव जनित दुखको मात्रा निरन्तर अधिकाधिक हुदै गईरहेको छ।  


यसको विपरित शिवको आदर्श हो, आफ्नो आवश्यकता सिमित वा न्यून राख्नु, बन्य पदार्थ, जडि बुडी सेवन गर्नु, सरल भोजन गर्नु, आफ्नो धन सम्पत्ति अर्काको भलाइको लागि प्रयोग गर्नु (दान दिनु), थोरैमा सन्तोष हुनु, ऐश्वर्य तथा वैभवको त्याग गर्नु, र सदैव आनन्दित रहनु आदि।  यस्तो आदर्श बोकेको व्यक्ति आजकल आधुनिक अर्थशास्त्रको व्याख्या अनुसार जंगली कहिन्छ।  शैव चिन्तनमा प्रकृतिको संरक्षण, प्रेम र प्राकृतिक जीवनको कल्पना गरिन्छ।  तर आधुनिक अर्थशास्त्रले मानविय आवश्यकता पूर्ति गर्ने रफ्तारमा प्रकृतिको नाश गर्ने कल्पना गर्दछ, र यस्तै भईरहेको छ।  

पूर्वीय दर्शन अनुसार मानिसको जीवनमा ४ पुरुषार्थको विवेचना गरिएको छ, धर्म, अर्थ, काम र मोक्ष।  त्यसैले आधुनिक अर्थशास्त्रको व्याखा हुनुभन्दा धेरै पहिले नै हाम्रा दर्शनले अर्थको बारेमा स्पष्ट पारेको छ।  जीवनका पुरुस्वार्थहरुमा अर्थ पनि एक महत्वपुर्ण बिसय हो भनेर पूर्वीय दर्शन भन्छ। अरुको भलाईको लागि, मानव मात्र नभएर सम्पुर्ण प्राणि हित, प्राकृतिक अवयवहरुको यथोचित सम्मान सहित धार्मिक आचरणले युक्त तवरले धनोत्पादन र समाज सेवाको भावनाले ओतप्रोत भई गरिने क्रियाकलापलाई आर्थिक क्रियाकलाप भनिन्छ, र यो नै लोक कल्याणकारी, सर्वहितकारी अर्थशास्त्र हो । यहि शिवको अर्थशास्त्र अर्थात कल्याणमय अर्थशास्त्र हो । 

भगवान शिवले लोक कल्याणकारी गङ्गा मातालाई आफ्नो शिरमा धारण गरेर यो वताउनु भयो कि सादगी तथा तपको जीवन जिउनुनै आनन्दित हुनु हो, र हरेक कठिनाई बाट पार पाउने माध्यम ।  तर भोग विलाशामा फसेकाहरु आनन्दित हुनै सक्दैन।  


हामि स्वस्थ जीवन जिउनको लागि अस्वस्थकर मसलेदार खाना त्याग्न सक्छौ? हामि शरीरलाई सहज र सन्तुलित बनाउन मुलायम प्राकृतिक तवरले बनेका पहिरन लगाउन सक्छौ ? हामि प्रकृतिलाई नाश गर्ने  विलाशी वस्तुको त्याग गर्न सक्छौ ?  


जवसम्म हाम्रो आवश्यकता सिमित हुदैन, जवसम्म आवश्यकताहरु निरन्तर बढिरहन्छन, हामी दिन रात उसलाई प्राप्त गर्नका लागि विविध प्रयत्नका लागि रहनु पर्ने हुन्छ।  यसकारण हामीले हरेक दिन नयाँ-नयाँ वस्तु बनाउनु पर्ने हुन्छ, जसले गर्दा हामि कहिले पनि सुखी र आनन्दित हुनै सक्दैनौ।  जति धेरै आवश्यकता त्यति धेरै असन्तुष्टि । यसरी हाम्रो जीवनको हरेक घडि कुनै वस्तु प्राप्त गर्ने अभिलाषामा नै बित्दछ।  


जव हामि भगवान शिवको रहन सहनबाट थोरै मात्र भए पनि शिक्षा लिएर आफ्नो वस्त्र र भोजनलाई सिमित गर्ने चेष्टा गर्यौ भने उसको पूर्ति प्रकृति-रत पदार्थबाट अत्यन्त सहज तवरले हुन सक्दछ।  जो असहज छ त्यसको लागि थोरै प्रयत्न मात्र गर्दा सबै कुरा पूर्ति हुन सक्दछ।  यस प्रकार हाम्रो जीवनको शेष समय विविध प्रकारको आध्यात्मिक चिन्तन, ध्यान, तपस्या तथा ज्ञान विज्ञान  उपार्जन र नैतिक चेतना हाशिल गर्नमा प्रयोग गर्न सक्छौ।  आजभोलि मानिससंग केवल वस्तुको भोग गर्ने समय छ, ज्ञान विज्ञान तथा आध्यात्मिक चिन्तन गर्ने फुर्सद नै छैन, यसैका कारण मानिसहरु दिर्घरोगि, मनोरिगी (डिप्रेशन) आदिमा फसिरहेका छन्।  भौतिक शुख सुबिधा भएर पनि यदि मानिस आनन्दित हुन सक्दैन भने त्यस्तो विकासको के काम ? त्यसैले आधुनिक अर्थशास्त्रले मानिसलाई आनन्दित बनाउने कुरामा ध्यान दिदैन, केवल भौतिक सुख सुविधा प्राप्त गर्न यौटै लहरमा कुदन सिकाउछ भने आनन्द र खुशी भन्ने कुराको स्थान नै हुदैन।  


यस समय मादक पदार्थ तथा मानव स्वास्थ्यलाई असर गर्ने वस्तुहरुको निर्बाद रुपमा बिक्रि बितरण भईरहेको छ।  राज्यबाट नै त्यस्ता कुराहरुको प्रचार समेत भईरहेको छ भन्नु  दुखद कुरा हो।  मानिसलाई कुनै तवरले फाइदा नगर्ने कुराको समेत व्यापार गरेर अर्थोपार्जन गर्ने कार्यलाई कहिँ  अर्थशास्त्र भनिन्छ!  शैवमत अनुसार प्राणिहितका लागि धर्मयोचित तरिकाबाट आर्जन गरिएको धनलाई मात्र अर्थ भनिन्छ अन्यथा त्यो अनर्थ कहलिन्छ ।  अर्थ र अनर्थ विचको भेद यहि हो।  हित गरे अर्थ अहित गरे अनर्थ।  तर आजभोलि मानव मात्र नभएर सम्पुर्ण चराचर जगतलाई नै अहित हुने, प्रकृतिलाई नाश गर्ने कुराको व्यापार गरेर धन कमाउनुलाई अर्थशास्त्रिय विषय भनि व्याख्या गरिन्छ।  


मानव स्वास्थ्य र वातावरण दुषित गर्ने पदार्थ बेचबिखन गर्ने कार्यलाई धनकमाउने माध्यम मान्न सकिन्छ ? वैदिक शास्त्र अनुसार लोक हित बिपरित, अधार्मिक तवरले, नैतिकता भन्दा बाहिर गएर आर्जन गरिएको धन समेत धार्मिक कार्यको लागि प्रयोग गर्न तथा दान दिनको लागि पनि अयोग्य मानिन्छ । त्यसैले धन कमाउने भन्नाले सबै प्रकारका धनलाई धन मान्नु र सबै प्रकारका रकमी कारोवारलाई आर्थिक कारोबार भन्नु सर्वथा अन्याय पुर्ण र असंगत हुनेछ।  


आजभोलि मानिसहरु अरुलाई दुख दिनु, छलकपट गर्नु, मिथ्या व्यवहार गर्नु आदिलाई गौरव मान्दछन । अन्यको धन चोर्नु, अरुलाई छक्काउनु आदिलाई चलाखी काम मान्दछन।  मानिसहरु यो सोच्दछन कि सबैको धन आफ्नो हातमा आवस। यद्यपि असिमित धनको आर्जन गरेर पनि हाम्रो तृप्ति हुदैन।  त्याग गरेर नै मानिस तृप्ति हुन्छ, आनन्दित हुन्छ यस्तो पूर्वीय दर्शनको मान्यता छ।  आफ्नो सर्वस्व अरुलाई दिएर, अरुलाई सम्पन्न देखेर नै आफु आनन्दित हुने स्वभाव शिवको हो।  आज गरिव झन् झन् गरिव बन्दै गएका छन्, धनिहरु झन् झन् धनि  हुदै गएका छन्।  धनीको विलासिताको पूर्ति गर्नका लागि धनको दम्भमा गरिवहरुको गास समेत मेटिएको अवस्था छ।  त्यसैले सबैलाई बराबरी हुने, लोक कल्याणकारी भावले ओतप्रोत भएर गरिने आर्थिक क्रियाहरु र त्यस्तो अर्थशास्त्रको परिकल्पना नै वास्तविक अर्थशास्त्र हो । 

लेख श्रोत प्रेरणा: शिवोपासनाङ्क