भगवानको नामले जोडिएका वैदिक सन्तानहरु
विचार

भगवानको नामले जोडिएका वैदिक सन्तानहरु


नेपाली समाजमा राम, हरि सिता, शिव, गणेश, पार्वती, उमा, गौरी आदि शब्दहरुलाई अत्यन्त आदर गरिन्छ।  भगवानकै नाम भएको हुनाले पनि यी नामहरुको  जप समेत गर्ने गरिन्छ। भगवानको नाम बारम्बार लिईयो  भने धर्म हुन्छ भन्ने मान्यता रहिआएको छ। साधु सन्तहरु यिनै नाम हजारौ पटक जप गरेर  मोक्ष प्राप्त गर्दछन।  भगवानको नाम निरन्तर जप्न पाइयोस भनेर नै छोराछोरीको नाम  भगवानकै नामबाट राखिन्छ।  छोराछोरीलाई बोलाउदा भगवानकै नाम जप गरे समान हुन्छ।  


 ए राम यता आउ, ए श्याम यसो भन, ए हरि यस्तो गर, ए गोबिन्द खाना खायौ , ए पार्वती कता गएकी ?, ए उमा सन्चै छेस , ए महेश्वरी कति बेर लगाएकी, ए गणेश बोल्दैनस ? आदि आदि।  हरेक काम गर्दा गफ गर्दा, बोलाउदा उठदा बस्दा जे गर्दा पनि भगवानलाई बोलाए जस्तो हुने हुनाले सबैले भगवानकै नाम राख्छन।  यस्ता नामहरु सबै जात जातिमा प्रचलित छ।  नेपालका प्राय सबैले यस्तै नाम राख्छन।  बाहुन भए प्रसाद र कुमार जोडछन, छेत्री वा शिल्पीभए बहादुर, यादव भए लाल, थारु भए दास र लाल, मगर र गुरुङ भए बहादुर आदि थपेर राख्छन।  

जस्तै: 

ब्राह्मण: राम प्रसाद सुबेदी , शिव प्रसाद अधिकारी, राम कुमार आचार्य, शिव कुमार तिमल्सिना हरे राम दाहाल, पार्वती रेग्मी 

छेत्री:  राम कुमार बस्नेत, राम बहादुर खडका, शिव राम कार्की, उमा थापा, गोपाल कुवर 

शिल्पी: शिव परियार, राम बहादुर परियार, राम हरि विश्वकर्मा, सिता कुमारी सुनुवार 

यादव वा झा: राम लाल यादव, राम मनोहर झा, राम किशोर यादव, शिवमाया यादव, हरे राम झा 

थारु : रामलाल चौधरी, सिताराम चौधरी, गङ्गा चौधरी, गणेश चौधरी 

नेवार: कृष्ण मानन्धर, मदन कृष्ण श्रेष्ठ, राम चन्द्र तुलाधर, 

मगर वा गुरुङ: राम बहादुर थापा मगर, सीता घले, हरि बहादुर गुरुङ, गणेश गुरुङ, राधिका घर्ति मगर 

राई लिम्बु: राम सिङ राई, पार्वती राई,  सिता राई, 

माझि: विष्णु माझि, राम माझि, 

तामाङ्ग: सिता कुमाई वाइवा, विष्णु तामाङ्ग, सिता तामाङ्ग, 


यस्ता नामहरुका अलावा रबि ( सुर्य), सुरज (सुर्य), सरोज, धिरेन्द्र, यसकुमार, पशुपति, निरोज, युवराज, बिजया, अमृत,  दिपेन्द्र, दिपक, बसन्ती, राम प्यारी, भारत, रुद्रांस, शम्भुआदित्य, आदित्य, शंकर आदि नामहरु पनि राख्ने चलन छ, यी पनि वैदिक शब्दहरु नै हुन्।  यी नामहरुको वैदिक अर्थ अत्यन्त गहन हुने गर्दछ।  यस्ता नामहरु उच्चारण मात्र गर्नाले पनि पुण्य हुन्छ भन्ने वैदिक मान्यता छ । 


यसका अलावा केहि तामांग र शेर्पा  जातिहरुले मिङ्गमा, पासाङ्ग, सोनाम, तेञ्जिङ्ग, आदि नाम राख्छन, यी नामहरु उनीहरुकै भाषा संस्कृति अनुसारका शब्दावलीहरु हुन्।  


त्यसैले हरेक नेपाली जात जातिमा बिशेष गरेर वैदिक देवी देवताहरुकै नाम धारण गर्ने प्रचलन छ।  यसो गर्नाले भगवानको नाम जप निरन्तर जपिरहन पाइयोस भन्ने पनि हो।  यसरि नेपाली समाजका बिभिन्न जात जाति र समुदायहरुलाई जोडनमा पनि यस्ता नामहरुले भूमिका खेलेका छन्।  सबै जाति सबै भाषीको एकै खाले नाम, एकै खाले भावना भन्ने हो।  नेपाली समाजमा धेरै प्रकारका संस्कृति भएर पनि मिलेर सौहार्दपुर्ण भावका साथ एक अर्कामा मिलेर बस्नुको कारण यो पनि एक हो।  सबैले आफुलाई एकै सम्झिन्छन।  सबैको मौलिक जरो कुनै न कुनै रुपमा प्रकृति पुजक, वेद मार्गी, शिव पार्वती र सिता राम आदिलाई आदार गर्ने नै हुन्छन।  राई लिम्बु किरातीहरुले परुहांग सुम्निमा भन्नु र अन्य समुदायले शिव पार्वती भन्नु एकै हो।  पुजिने देवता एकै हुन्, जपिने नाम एकै हो, भाषा फरक हुन सक्छ।  यो हाम्रो विविधता भित्रको एकता हो।  


पछिल्लो समय बाबु र आमाको नाम संग मिलाउने चलन चलेको छ, यसो गर्दा अर्थहिन नाम बन्न पुगेका छन्।  अझ आफुलाई आधुनिक पढेलेखेको भन्ने भान परेकाहरुले आफ्ना सन्ततिको नाम बिदेशी भाषामा राख्न थालेका छन्, जस्तै ज्याक्की, एलिसा, टोनी, टेनिस, ओजन आदि नाम राख्ने गरेको पाइएको छ।  यस्ता नामहरुका खस अर्थ हुदैन।  हाम्रो मौलिकता भित्र पनि पर्दैन।  नेपाली धर्म संस्कृतिलाई पनि यसले अपनत्व गर्दैन। कुनै यस्ता नामहरुको अंग्रेजी अर्थ अनुसार अत्यन्त घृणित कुरा जनाउने पनि हुने हुन्छन।  त्यसैले बिदेशी नाम राख्नु उचित हुदैन।  


आफ्नो मौलिकता अंगाले धर्म संस्कृति जोगिन्छ, धर्म संस्कृति भए संस्कार जीवित हुन्छ । संस्कार भए मात्र हामि सभ्य कहिनेछौ।  त्यसैले नाम राख्दा, मौलिकता नभुलौ।   यो हाम्रो बिरासत हो।