ब्रम्हाजीको शरीरबाट चार जातको जन्म
विचार

ब्रम्हाजीको शरीरबाट चार जातको जन्म


संसारमा कर्म (धर्म) जम्मा ४ प्रकारका छन ।  

१- अध्ययन/अध्यापन (खोज अनुसन्धान विभाग):- ब्राह्मण     

२- व्यापार/कृषि/उधोग (विभाग):- वैश्य 

३- सुरक्षा/सैन्य (विभाग):- छेत्री 

४- सेवा (विभाग):- शुद्र 

ब्राह्मणोsस्य मुखमासीद्‍ बाहु राजन्य कृत:।

उरु तदस्य यद्वैश्य: पद्मयां शूद्रो अजायत। (ऋग्वेद)


ब्रम्हाको मुखबाट ब्राह्मण, पाखुरा बाट क्षत्रि, पेट बाट वैश्य र पाउ बाट शुद्रको पैदा भयो भन्नुको तात्पर्य के हो भने, 

ब्रम्हाजीले गर्बधारण गरेर सालनाल सहित रगत बगाउदै मुख, हात, पाखुरा र पैतालाबाट चार जातलाई जन्माउनु भयो भन्ने अर्थ होइन । ब्रम्हाजी स्वयम पुरुष हुनुहुन्छ उहाले कसरी गर्बधारण गरेर जन्माउनु भयो ? यो असम्भव र अवश्य पनि गलत व्याख्या हो । पछिल्लो समय यस्तै व्याख्याहरुले प्रसय पाएको छ।


त्यसैले शास्त्रको अध्ययन गर्न, शास्त्रको मर्म बुझ्नको लागी शास्त्रयोचित तरिकाले अध्ययन अध्यापन गराउनु पर्दछ अन्यथा वेदको गलत व्याख्या भई मानिसहरु दिग्भ्रमित हुन पुग्दछन । जसको परिणाम आज हामिले समाजमा देखिरहेका छौ । सामाजिक विभेद र अशान्तिको कारण यही हो । त्यसैले ज्ञानको सही प्रचार र सही व्याख्या अति आवश्याक छ ।  


मानिसको जन्म केवल माता पिताको सम्भोग भएको मितिले माताले ९ महिना गर्वधारण पस्चात मात्र हुन्छ।  स्वयम भगवान श्री रामजी, राजा दसरथ र आमा कौश्यलाबाट जन्मेका हुन भने हामी धर्तिका बोझहरु ब्रम्हाको मुख, पाखुरा वा पाउ भनेर बिबाद गर्नु बेकार छ । यस्ता तर्कहरु अल्पग्यानको पराकास्ठ बाहेक केही होइन। 


मानिसको कर्मले उसको जीवनको सार्थकता र परिचय निर्धारणा गर्दछ ।  उसको परिचय कर्मबाट हुन्छ,  त्यो कर्मको जन्म नै उक्त व्यक्तिको जन्म भनिएको हो प्रतीकात्मक रुपमा जसलाई ब्रम्हाजीको अङगहरुबाट जन्म भयो भनियो। कुनै व्यक्तिले पढने पढाउने काम गर्छ भने उसको कर्म (मुखार्बिन्दु) वचन बाट हुने भयो त्यसैले उसको कर्मको जन्म मुख हो ।  कसैले पाखुरा (शक्ती सामर्थ्य)को प्रयोग गरी कर्म गर्दछ,  अर्थात  छेत्रीय कर्म गर्दछ भने उसको जन्म पाखुराबाट भयो भनेर परिभाषित गरियो । कसैले पेट भर्ने/ भराउने छेत्रमा कर्म गर्दछ भने उस्को कर्मको जन्म ब्रम्हाजीको पेटबाट भयो भनेर परिभाषित गरियो ।  त्यस्तै कसैले शिल्पी/कला समबन्धी र सेवा गर्ने कार्यहरु गर्दछन भने भने उसलाई शुद्र भनेर परिभाषित गरियो ।  यसमा कोही सानो ठुलो भन्ने नै छैन र भेदभाव पनि नै छैन।    


चार जातलाई अहिलेको पारीभाषा अनुसार शिक्षा मन्त्रालय, रक्षा मन्त्रालय, वाणिज्य मन्त्रालय, कला तथा विज्ञान प्रबिधी मन्त्रालय  आदी भनेर परिभाषित गर्न सकिन्छ । यदी कसैलाई प्रश्न सोधियो,  चार वटा दिशाहरु पुर्व पश्चिम उत्तर दक्षिण मध्ये कुन प्रिय र कुन अप्रिय ? चार वेद मध्ये कुन ठुलो ? कुन सानो ? उत्तर अवश्य कठिन हुनेछ, किनकी यसमा कुनै छान्ने कुनै नछान्ने, कुनै राम्रो कुनै नराम्रो भन्ने हुँदैन । कुनै ठुलो र कुनै सानो भन्ने पनि हुँदैन । एकको अस्तित्व बिना अर्को हुन नसक्ने अवस्थामा अवश्य राम्रो नराम्रो भन्न सकिने प्रश्न नै सही होइन ।  त्यसैले सबै जात महान र सबै जात ठुला छन ।  

“अहं ब्रह्मास्मि” अर्थात  म ब्रम्हा हु । वेदको मुल मर्म यही हो, हरेक व्यक्ती ब्रम्हा हुन, ब्रम्हाकै स्वरुप हुन । हरेक व्यक्तीले बोलिको कार्य गर्नु पर्दा अवश्य पनि मुखबाटै गर्छौ, कसैले आक्रमण आदी गरे हातले छेकी (सुरक्षा) क्षत्रियको काम गर्दछौ, व्व्यापार/व्यवशाय वा धन दौलत भुडी भर्न कै लागी गर्दछौ, हिडडुल श्रम आदी आफ्नै खुट्टाले गर्दछौ । त्यसैले हाम्रो आफ्नै शरिरमा ४ जात छ । 


वैदिक शास्रले हरेक व्यक्ती ईश्वरकै स्वरुप हुन्, हरेक प्राणी भित्र ईश्वरले बास गर्नुहुन्छ भन्छ । हाम्रो शरिर नै स्वयम ब्रम्हाको स्वरुप हो भन्ने वेदको मर्म छ । त्यसैले कुनै विवाद नै छैन, हरेक व्यक्तीको शरिरका अङगहरुलाई चार भागमा लगाउने हो भने त्यहाँ ४ जातको स्वरुप स्पस्ट देख्न सकिन्छ । शृष्टीको नियम अनुशारको व्याख्या यही हो ।


समग्र सृस्‍टि गर्ने ब्रम्हाजीले कर्मको परिचय दिने र कर्म अनुसार व्यक्तिको परिचय  दिने हेतुले साहित्यिक अर्थ भनौ वा दार्शनिक परीभाषा दिने गरी ब्राम्हण मुखबाट र छेत्री पाखुराबाट जन्म भयो भनिएको हो । 


 जस्तो भारतको जन्म सन १९५७ अगस्ट १५ मा भयो भनिन्छ यस अर्थमा भारत देशको माता पिता को हुन ? कस्ले जन्मायो ? कस्ले गर्बधारण गर्‍यो ?  ब्रम्हाजिको शारिरिका बिभिन्न अङ्गबाट चार जात जन्मिए भन्ने कुरा पनि यस्तै हो।  


फेरी ब्रम्हाजीको  सृस्‍टिको पारीभाषा यत्तिमा सिमित हुँदैन । यो नै पारीभाषा पूर्ण भने होइन ।  माथि भनिए जस्तै  धर्मको मर्म र शास्त्रको ज्ञान बुझ्न् केही तपस्या र आश्रममा बसेर साधुको सेवा गरेपछी मात्र प्राप्त हुने कुरा हो । 


इतिहासको कालखण्डमा केही गलत अभ्यास भएकै हो संसारभरी ।  नेपाल भारतमा गलत बुझाईका कारण छुवाछुतको गलत पारीभाषा  र प्रयोग भयो । 


त्यसैले हाम्रो शास्त्र पढन र पढाउन कम्तिमा १२ वर्ष  योगी, जोगी, सिद्द महापुरुश वा गुरु चेला परम्परा अनुसार आश्रम बाट मात्र सहि  ढंगले  हुनसक्छ ।  त्यसको लागि ज्ञान दिने र लिने दुबै योग्य हुनुपर्छ ।  अहिले जती पनि तर्क बितर्क भईरहेका छन केवल अल्पज्ञानी अनपढ र मुर्खहरुबाट भईरहेको छ । पुर्वाग्रह सहित कसैले लेखेको एउटा सानो लेख पढेको भरमा हिन्दू धर्म माथि तथानाम गाली गर्दैछन यो सरासर अपराध हो ।  


चार जातको बिषयमा ब्रम्हाजीको शरिरका बिभिन्न अङगहरुबाट जन्मिएको भन्ने जुन कुरा छ् त्यो वास्तवमा अत्यन्त वैज्ञानीक र अकाट्य सत्य छ् ।  व्यक्ती स्वयम ब्रम्हाजीको एक स्वरुप हो भन्छ हाम्रो शास्त्रले । हरेक व्यक्तीमा एकै ईश्वर (ब्रम्हाजी) निवास गर्नुहुन्छ ।  कसैले रामजी, कसैले बिष्णुजी, कसैले शिवजी, निवास गर्नुहुन्छ भन्छन आखिर कुरो यौटै  हो हरेकको हृदयमा निवास गर्ने परमात्मा एकै हुनुहुन्छ ।  त्यसैले जानेर वा नजानेर कसैले कसैलाई भेदभाव गर्नु वा हेला गर्नु ठुलो अपराध हो, यो सरासर परमात्मा परमेश्वर प्रतिको अपमान हो। समाजमा कुनै प्रकारको भेदभाव  छ भने त्यो अपराधिक काम हो धार्मिक होइन । हिन्दू धर्म दर्शनका कुनै पनि वैदिक शास्त्रहरुमा सामाजिक वेदभाव आदिको बारेमा उल्लेख छैन ।यदी समाजमा कतै भेदभाव छ भने न त्यो धर्म अनुकुल कार्य कदापि होइन । यो सरासर अवैदिक र अनैतिक कार्य हो । 


वेद उपनिषद आदी शास्त्रहरु कतै पनि “दलित” शब्द उल्लेख छैन । शुद्रको अर्थ दलित पनि होइन । अहिले दलित शब्द आदी प्रयोग गरी सामाजिक भेदभाव गरिएको पाइन्छ, वास्तवमा दलित शब्द धर्मसङ सम्बन्धित नै छैन । शुद्र आदिलाई हेप्नु बहिस्कार गर्नु भनेर पनि कतै लेखेको छैन । हाम्रा शास्त्रहरुको ज्ञानबाट प्राप्त हुने फल केवल ब्रामणलाई मात्र मिल्छ भनेको पनि छैन ।  ति शास्त्रका ज्ञान तथा भागवत्प्राप्त गर्न सबैको बरावर हक छ।  केवल शास्त्रयोचित ढंगबाट अध्ययन गर्नु पर्‍यो, खुल्ला र उदार हृदय बनाउनु पर्‍यो । सबैलाई समान ठान्नु पर्‍यो आफ्नै मित्र आफ्नै दाजुभाई दिदिबहिनी वा आफ्नै स्वरुपमा देख्नु पर्‍यो ।  शास्त्रको मर्म यही हो ।