श्री पशुपतिनाथको महास्नान र महाभोगमा मैथिली ब्राह्मणहरूको सहभागिता
अध्यात्म

श्री पशुपतिनाथको महास्नान र महाभोगमा मैथिली ब्राह्मणहरूको सहभागिता



- प्राज्ञ डा. जगमान गुरुङ

प्रत्येक पूर्णिमाका दिन पशुपतिनाथलाई पञ्चामृतले स्नान गराएर चामलको भुजाको महाभोग अर्पण गरी कीर्तिमुख भैरवलाई राागा, बोका र हाासको बलि दिने परम्परा छ । त्यस अवसरमा भगवान् श्री पशुपतिनाथलाई ६ मुरी, ६ मुठी चामलको भुजा पकाएर महाभोग चढाइन्छ । महाभोगलाई महाबलि पनि भनिन्छ । त्यस अवसरमा १३ जना मैथिली झा ब्राह्मणहरूले महाभोगको भुजा पकाएर भगवान् श्रीपशुपतिनाथ मन्दिरको दखिनढोकाको सामुन्ने रहेको धर्मशीलामा ल्याएर थुप्रो पारी सजाउँदछन्। महाभोगको अवसरमा भगवान श्रीपशुपतिनाथ मन्दिरको दक्षिनपट्टि रहेको यज्ञशालामा हवन सहित विधि विधानद्वारा पूजा पाठ गरिन्छ। पूजाको आचार्यत्त्व राजोपाध्याय ब्राह्मणले ग्रहण गर्दछ । त्यस पूजामा राजोपाध्यायका अतिरिक्त अचाजु (कर्माचार्य), जोशी र वैद्यको पनि सहभागिता रहेको हुन्छ। त्यस अवसरमा एघारजना मैथिली झा ब्राह्मणहरूले रुद्रीपाठ गर्दछन् त्यस अवसरमा उन्मत्त भैरवको मन्दिरको माथिल्लो तलामा तान्त्रिक विधिद्वारा कुमारीको गोप्य पूजा गरिन्छ। भगवान् श्रीपशुपतिनाथलाई महाभोग चढाउँदा कुसुलेहरूले वाजा बजाउँदछन्।

अघि प्राचीन कालमा नेपालमण्डल, मिथिला, वैशाली र पाटलिपुत्रको बीचमा धार्मिक, सांस्कृतिक, आर्थिक एवम् राजनैतिक अन्तर सम्बन्ध थियो। त्यसबेला मिथिलाले नेपालमण्डल, वैशाली र पाटलीपुत्रको बीचमा सम्प्रेषणभूमिको काम गर्दथ्यो। पूर्वमध्यकालमा भक्तपुर दरबारसंग मिथिलाको वैवाहिक सम्बन्ध कायम भएको थियो। त्यसबेला नेपाल उपत्यकाको मल्लदरबारमा मञ्चन गरिने नाटकहरू मैथिली भाषामा रचिएका हुन्थे। हरिसिंहदेवको समयदेखि सिम्रौनगढको पतन भयो र त्यसपछि मिथिला राज्य बृहत् नेपालमा समाहित भयो। यसबाट कुनै बेला गङ्गासम्म नेपालको सीमाना कायम भएको थियो। 

जयस्थिति मल्लले बकह्निमकुलका कीर्तिनाथोपाध्याय, कान्यकुब्जी रघुनाथ झा र मैथिली श्रीनाथ भट्ट, महिनाथ झा तथा रामनाथ झा यति पाँचजना शास्त्रज्ञ ब्राह्मणहरूको बुद्धिमत्त उपदेशबाट थिति बााधेका थिए । यसबाट एउटा राम्रो थिति बाँधेर नेपाललाई सुव्यवस्थित गराउने कार्यमा मैथिली ब्राह्मणहरूको प्रमुख हात रहेको स्पष्ट हुन्छ। 

यसरी नेपाल राष्ट्रको दुर्भिक्ष र अनिष्ट हटाएर राष्ट्रमा सुख, शान्ति र समृद्धि स्थापना गराउनका लागि भगवान् श्रीपशुपतिनाथलाई महास्नान गराएर महाभोग चढाउने पवित्र कार्यमा मैथिली ब्राह्मणहरूको सहभागिताबाट नेपाली जनमानसमा समन्वय, सहिष्णुता र सहअस्तित्वको भावना जागृत भएको छ र भगवान् श्रीपशुपतिनाथ सााच्चि नै नेपालको राष्ट्रदेव एवम् राष्ट्र, राष्ट्रियता र सर्वधर्मसमभावको प्रतीकका रूपमा विराजमान भइरहनुभएको छ।