शिवरात्रीको महिमा-सांस्कृतिक परिवर्तनको दोशाधमा
अध्यात्म

शिवरात्रीको महिमा-सांस्कृतिक परिवर्तनको दोशाधमा


हाम्रो वैदिक सनातन संस्कारमा बर्षको ३६५ दिनमा हरेक दिननै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो होला शायद । जीवनका हरेक पलहरु आनन्द अनि स्वतन्त्र रुपले जिउन सिकाउनकालागि भएका पूर्वीय दर्शनका यस्ता कुराहरुले त होला पश्चिमाहरु पनि पूर्वतर्फ फर्कन थालेका छन् । हाम्रा चाडपर्वहरु जीवन जिउनका विभिन्न कारणहरु अनि उदेश्यहरुप्रति समर्पित छन्, हरेक चाडले केही न केही सिकाएर अनि झकझकाएरै जान्छन् ।

यो हावा, सुख्खा यो फाल्गुनको महिनामा उडेका झरेका पातहरु, पलाएका पालुवादेखि छरिएको बिजले माटोमा अङ्कुरण गर्ने स्वरुपसम्ममा त्यो निराकार शिवतत्वको उपस्थिती छ । धर्म अनुसार नाम फरक होला, ब्याख्या फरक होला तर शिवतत्वका सृजनाकारुपमा हामी रहेका छौं । के बालक के वृद्ध अनि के वयस्क ? यस दिन नारी पुरुष, स्वदेशी विदेशी आदि सबैको घुँईचोले शिवालयहरु भरिएका हुन्छन्, हामीमध्य धेरैले शिवलाई गाँजा भाँङ धतूरो आदि सेवन गर्ने एउटा अचम्मको भगवान पात्रका रुपमा अपब्याख्या या अल्पब्याख्या गरिरहेका हुन सक्छौं तर शिवका यि सम्पूर्ण बानीभित्र सृष्टी अनि समाजको गहिराई लुकेको छ ।

आज तिनै शिवको विवाह वार्षिकी अनि साधकहरुकालागि भने आज शिव भगवान पर्वतको रुप धारण गरेर अचल, अमर अनि अजर आशुतोष हुनुभएको दिन हो तसर्थ शिवरात्रीको रातलाई अचल अनि निर्भय रात्रीकारुपमा पनि लिइन्छ।

 योगी अनि साधकहरुकालागि शिव भगवान नभईकन एउटा आदिगुरु हुन् जसले योगशिक्षा सप्तऋृषिहरुलाई औपचारीक अनि दस्तावेजका रुपमा हस्तान्तरण गरेका थिए, तिनै योग अनि अभ्यासहरु आज संसारभरि स्वस्थ्य रहनकालागि धेरैले अनुशरण गर्नेगर्दछन् । 

यस दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल-पत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण गर्दछन् । 

दोश्रो पक्ष भनेको यस रात वैज्ञानिक रुपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरुमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ । शायद यसै कारणले होला यस दिन प्रकृतिलेनै मानिसलाई अध्यात्मिक पक्षतर्फ तान्ने विश्वास गरिन्छ । यसै अध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई पनि आज रातभरि जाग्राम बसेर शिवरात्री मनाईने सांस्कृतिक चलनलाई वैज्ञानिक रुपमा ब्याख्या गरिएको पाईन्छ ।

अझ नेपाल त झन ईतिहासले पनि आफ्नो दस्तावेजमा समेट्न नसकेको आराध्य देव पशुपतिनाथको देश, विभिन्न पुराण अनि धार्मिक दस्तावेजमा उल्लेख गरिएको श्लेषमान्तक वनजस्तो पवित्र चरनभूमी, कैलाशको शितल छायाँ परेको भूमी अनि हिन्दुहरुको आस्थाको भूमी ।

 वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो । यहाँ रात्रि शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन गर्छ । परमात्मा नै ज्ञानको सागर हो जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाश तर्फ अथवा असत्यबाट सत्य तर्फ लैजान्छ । ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री-पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन् । यस व्रतको विधानमा सवेरै स्नानादिबाट शुध्द भएर उपवास गर्ने गरिन्छ ।

हाम्रा प्रत्येक चाड पर्वहरु मनाउनुको पछाडी विशिष्ट अर्थ र अन्तर्निहित उद्द्येश्य रहेको छ ! त्यसको महत्व युगौ युग देखि जस्ताको त्यस्तै रहदै आएको छ ! यी चाड तथा पर्वहरुको अध्ययनले हामी ,हाम्रो समाज र हाम्रो समाजिकताको झलकलाई प्राचिन कालदेखि डोर्याएर ल्याएको छ ! नेपाली समाज , नेपाली राष्ट्रिय एकता र अखण्डताको शम्रिद्धिकोलागि यी चाड पर्वहरु महत्वपूर्ण खाँबोको रुपमा रहेका छन् ! हाम्रो धार्मिक समन्वय र सामाजिक एकताको प्रेरक प्रतिक भएका छन् ! हाम्रो सामाजिक सौहार्दतामा बेला बखत परेको खाडल पुर्दै ल्याएका छन् भने सामाजिक बनौटमा देखिएको मतभेद हटाउन मद्दत गरेका छन् ! यीनको क्रियाबिधि बिभिन्न रुपमा रहेको छ तर मूल तत्व भने एउटै छ ! त्यसकारण यी हाम्रा संस्कृतिक सम्पति भई हाम्रो धार्मिक ,संस्कृतिक,सामाजिक र आध्यात्मिक मेरुदण्ड भई हामी नेपालीहरुको गौरवको रुपमा उभिएका छन् ! हामीमा मानवीय चरित्र निर्माण गराउनुमा यी चाड पर्वहरुको ठूलो योगदान छ।

समयक्रममा कतिपय चाड–पर्वहरुका स्वरुपमा परिवर्तन आएको तथा कतिपयचाहिँ बिर्सिइएका पनि उदाहरण हामीसँग छन् । तथापि, समग्रमा हिन्दूधर्मशास्त्रका विधान अनुरुपका विविध चाड, पर्व, उत्सव आदि नेपाली समाजका विशिष्टताका रुपमा रहिरहेकै छन् र तिनले नेपालीहरुका सांस्कृतिक जीवनमा खास किसिमको स्थान ग्रहण गरेका छन् । महाशिवरात्री पनि नेपाली सामाजिक सांस्कृतिक जीवनमा विशिष्ट स्थान रहेको पर्व हो । नेपाली समाजको अध्ययन गर्दा यहाँ प्रचलित सामाजिक संस्कार सनातन धर्मानुप्रणित देखिन्छन् । नेपालीहरुको सामाजिक विश्वास, रितिथिति देखिलिएर उच्च दार्शनिकता सम्म जहाँतहिँ वैदिक धर्मशास्त्र, श्रुति–स्मृति आदिको प्रत्यक्ष प्रभाव छ । यतिमात्रै होइन, हाम्रो चित्रकला, मूर्तिकला, वास्तुकला, संगीत देखिलिएर मुद्रासम्म सबैथरीमा ऐतिहासिक कालदेखिनै धर्मको प्रभाव परेको छ ।

हाम्रा नाट्य, काव्य आदिका सांस्कृतिक कोणबाट अध्ययन गर्दाखेरीमा पनि तिनमा सनातन हिन्दू धर्म–चेतना स्पष्ट छ । सामाजिक एवं सांस्कृतिक इतिहास जस्तै राजनीतिक इतिहासले पनि नेपाल नेपालीभूमि परम्परागत रुपमा सनातन हिन्दूधर्मको मूलभूमि हो । यस कारणले पनि हिन्दूधार्मिक चाड–पर्वहरुको यहाँ विशेष महत्व हुनु स्वाभाविक हो र नेपालीहरुको महाशिवरात्रीसँगको साइनो खुट्ट्याउनका निम्ति नेपाली संस्कृतिको जगमा सनातन हिन्दूधर्म एवम् वैदिक संस्कृतिको आधारशीला रहनु आफैंमा जाज्वल्यमान आधार हुँदै हो । यस अतिरिक्त उक्त साइनोको प्रगाढता अभिवृद्धिमा हाम्रा विशिष्ट परिस्थितिहरु पनि कारकतत्वका रुपमा रहेका छन् ।

जस्तोकि, नेपालको पहिलो राजवंश ‘गोपाल’ हो र यस राजवंशको प्रतिस्थापनासँग पशुपतिनाथ ज्योतिर्लिङ्ग प्रकटीकरणको इतिहास पनि समेटिएको छ । किराँतकालको कुरा गर्दा, तत्कालीन सभ्यताको अवशेषका रुपमा प्राप्त केही मूर्ति तथा कलावस्तुहरुको आधारमा किराँतकालीन नेपाल शैव मतानुयायी रहेको प्रमाणित हुन्छ । शैव मतानुयायी समाजमा महाशिवरात्रीको स्थान, महत्ता एवं गरिमा हामी सहजै अड्कल गर्न सक्छौं । लिच्छवीकालदेखिको नेपालको इतिहासलाई प्रामाणिक मानिएको छ र त्यो बेलाको सांस्कृतिक स्वरुपबारेमा आधिकारिक तवरले भन्न सक्ने स्थितिमा हामी छौं, जसअनुसार तत्कालीन नेपाली समाज सनातन वैदिक धर्मावलम्बी रहेको र शैव सम्प्रदाय जनस्तरमा गहिरोसँग व्याप्त रहेको थियो । तसर्थ महाशिवरात्रीजस्ता पर्व त्यतिबेला प्रमुख पर्व थिए नभन्नुपर्ने कुनै कारण छैन ।

अहिले वैदिक सनातन हिन्दू धर्म संस्कृतिप्रति चौतर्फी प्रहार भइरहेको तथा नेपाली संस्कृति अभूतपूर्व सङ्कटमा छ भनेर प्रचार भइरहेको परिस्थितिमा समेत महाशिवरात्रीको दिनमा नेपालका लाखौं घरहरुमा रुद्री लगाइन्छ, हजारौं मन्दिरहरुमा रुद्राभिषेक हुन्छ, लाखौं भक्तजनहरु बेलपत्र चढाउनकानिम्ति निराहार बस्छन् । यति हुँदाहुँदैपनि सोचनीय कुरा के छभने पशुपतिक्षेत्रजस्ता स्थानमा महाशिवरात्रीको रौनकमा अझै कमी नआएतापनि समग्र देशको स्थिति बिचार्दा हालैका केही वर्ष यता विविध कारणहरुले महाशिवरात्री पर्वको सर्वसाधारण जनस्तरमा अक्षुण्णतामा आँच आउन थालेको स्थिति छ । हाम्रो महाशिवरात्री पर्व धर्मको हिसाबबाट सुदृढ रहँदा रहँदैपनि सांस्कृतिक हिसाबबाटचाहिँ क्षयीकरणतर्फ उन्मुख भइराखेको तथ्यलाई बेवास्ता गर्नु बुद्धिमानी हुँदैन । वास्तवमा यतिखेर नेपाली समाजमा परम्परागत रुपमा चल्दै आएको महाशिवरात्री पर्व परम्परा र परिवर्तनको दोसाँधमा रहेको छ । एकातिर यसको सुदीर्घ परम्पराले नेपाली जनमानसलाई यस पर्वसँग आबद्ध गराइ राखेको छ भने अर्कोतिर समकालीन परिवेश, परिप्रेक्ष्य एवं परिस्थितिको अनुकूल हुने लहरमा लहरिएकाहरु यसबाट टाढिँदै पनि छन्।

महाशिवरात्री लगायतका विविध नेपाली सांस्कृतिक चाड–पर्वहरुबाट कतिपय नेपालीहरु किन टाढिएका हुन् भन्ने सवालको जवाफ यहीँनेर रहेको छ । पूँजीवादी उपभोक्तावादलाई आफ्नो व्यापारिक स्वार्थसँग मतलब हुन्छ र त्यसैकारणले हरेक अवसरलाई व्यापारिकरण गरिदिन्छन् । पूँजीवादीहरुकालागि नेपालका मौलिक परम्परागत चाड–पर्व भन्दापनि आयातित चाड–पर्व बढी प्यारा हुनुको कारण यही होकि खासगरी पश्चिमा पाराका सांस्कृतिक चाड–पर्वहरुमा व्यापार गर्न सकिने मौका बढी हुन्छ । जस्तोकि— ‘भ्यालेन्टाइनडे’ होस् या ‘बर्थडे’ होस् वा ‘क्रिसमस’ होस्, आकर्षक ‘ग्रिटिङकार्ड’देखिलिएर अनेकन् ‘गिफ्ट’का बिक्रीले व्यापारिक मौका जति मिल्दछ, त्यति मौका नेपाली समाजका परम्परागत चाड–पर्वहरुमा नदेखेपछि पूँजीवादी व्यावसायिकताले आफ्नो स्वार्थ अनुरुपनै नेपाली समाजका परम्परागत चाड–पर्वका बदलामा आगन्तुक चाड–पर्वको पक्षपोषण गर्दछ— चाहे त्यो प्रत्यक्ष होस् वा परोक्ष । जसका कारण महाशिवरात्रीजस्ता पर्वहरुलाई नेपथ्यमा धकेल्न खोजिने सम्भावना हुन्छ । तर यसको अर्को पाटो पनि छ ।

एकातिर स्वयम् नेपालीहरुमा शिवरात्रीको असर घट्दै गरेको होकि त भनेजस्तो भइराख्या बेलामा पशुपति क्षेत्रमा छिमेकी राष्ट्र भारतका अलावा श्रीलङ्का, बङ्गलादेश, इण्डोनेशिया देखिलिएर युरोप–अमेरिका तथा अफ्रिकासम्मबाट पनि भक्तजनहरु आउन चाहने क्रममा बढोत्तरी भएको छ । योचाहिँ पूँजीवादी व्यावसायिकताले प्रदान गरेको सकारात्मक पक्ष हो । ‘धार्मिक पर्यटन’को अवधारणा यसकै आडमा जन्मेको हो । यद्यपि यसबाट गुणात्मक तवरमा सांस्कृतिक आधारलाई पनि मजबुत पार्ने कुनै निश्चितता (ग्यारेन्टी) हुँदैन ।


अन्त्यमा

 प्रातकालका नायक अनि आदिकालदेखिका आदिगुरु शिवप्रति समर्पित आजको दिनमा सबैको कल्याण होस् !

संसारमा सबै कुरा शिवतत्वबाटै आउँछ अनि त्यसै तत्वमा मिसिन्छ, धन, जन या तन त्यागेर भन्दा पनि सँच्चा मान्छे हुन अहम त्यागेर त्यागी बन्न सकौं । गाँजा भाँङ अनि धतूरोको सेवनले शिव बनाउँदैन, शिवतत्वको आत्मसाथ गरौं, यो शिवरात्रिमा रिस, राग अनि अहंकारको त्याग गरौं अनि जीवनको साँचो पथतर्फ लम्कदैजाँऔ । शुभकामना !