नमस्कारको महत्व
अध्यात्म

नमस्कारको महत्व



हिन्दु वैदिक समाजका साथसाथै बौद्ध, किरात, जैन र बोन सबै ओमकार धर्मालम्वीहरुको साझा संस्कार हो नमस्कार । हाम्रा मौलिक धर्म र समाजहरुलाई जोढने एक प्रमुख संस्कार समेत हो नमस्कार । वैदिक परम्परामा भगवानको स्तुति गर्नमा होस वा सामाजिक चालचलनमा यसको विशिष्ट पहिचान छ । जुनसुकै हिन्दु धार्मिक अनुष्ठानहरु पनि नमस्कार बाट नै सुरुवात हुने गर्दछ । किटानीका साथ भन्न सकिन्छ कि भगवानको स्तुति नमस्कार विना असम्भव नै छ ।

आज विश्वमा नै नमस्कार अर्थात नमस्ते गर्ने चलन विश्वव्यापी बन्दै गएको छ । यसको वैज्ञानिक तथा आधात्मिक महत्वका कारण दिन प्रतीदिन यसको महत्व झन झन बढदै गएको छ । नमस्कार गर्दा जो कोहि पनि प्रशन्न भई  गर्दछन जुन सामाजिक मयार्दा, र सम्मानको प्रयाय हो ।


नमस्ते तथा नमस्कार विचको भिन्नता

नमस्ते र नमस्कार एक आपसमा पर्यावाची शब्द हुन तथापी यसमा केहि शाब्दिक भिन्नता रहेको छ । व्याकरणको दृष्टिकोणमा नमस्ते एकवचन हो भने नमस्कार बहुवचन हो । नमस्ते सामान्यतया आफु समानको व्यक्ती लाई गरिनछ भने नमस्कार आफुभन्दा ठुला (भगवान, गुरुजन र अभिभावक) तथा सम्मानित व्यक्तीलाई गरिन्छ । 


नमस्कारको सांस्कृतिक अर्थ 

नमस्ते र नमस्कार दुबै शब्द नम शब्दबाट आएको हो जसको अर्थ हुन्छ नमन गर्नु अर्थात झुक्नु वा सम्मान गर्नु । हिन्दु सनातनी परम्परा अनुसार प्रत्येक व्यक्तिको हृदयमा ईश्वरको वास हुन्छ । तसर्थ एक व्यक्तिले अर्काे व्यक्ति संग भेटदा नमस्कार गर्नुको अर्थ तपाई भित्रको ईश्वरलाई नमन गर्दछु भन्ने अर्थ लाग्दछ । अर्थात नमस्ते वा नमस्कार गर्दा हामी यो विचार राख्दछौँ कि तपाई म भन्दा सर्वश्रेष्ठ हुनुहुन्छ, म हजुरको सम्मान गर्दछु भन्ने जस्तो अर्थ लाग्दछ । नमस्कार शब्दको यस्तो गहिरो सामाजिक तथा संस्कृतिक रहस्य भएर नै होला जब हामि कसैसंग नमस्कार गरेर बोल्न थाल्दछौ तव हामिभित्रको क्रोधपना त्यत्तिकै हरायर जान्छ र हामि मित्रवत व्यवहार गर्न पुग्दछौ । यस्तो महान भावले युक्त नमस्कार पद्धतीकै कारण हाम्रो व्यवहारमा दया, क्षमा र विनय गुण व्याप्त रहेको छ । 


आधात्मिक महत्व 

आधात्मिक दृष्टिकोणक अनुसार दायाँ हात आचार र बायाँ हात बिचार अर्थात दर्शनको प्रतिकको रुपमा मानिन्छ । नमस्कार गर्ने क्रममा दुबै हात एक आपसमा जोडिन्छ । मानव शरिरमा नकारात्मक र सकारात्मक दुबै तत्व हुन्छ । जब हामि मुस्कुराएर नमस्कार गर्दछौ तव हाम्रो शरिरमा सकारात्मक उर्जाको संचार हुन्छ । नमस्कार गर्दाको समयमा हामिले आशिर्वाद पनि ग्रहण गरिरहेका हुन्छौ जसले आधात्मिक विकासमा सहयोग गर्दछ । 


नमस्कारको वैज्ञानिक महत्व 

आधात्मिक तथा सांस्कृतिक महत्व जस्तै यसको वैज्ञानिक महत्व पनि त्यत्तिकै रहेको छ । जब हामि मुस्कुराएर नमस्ते अर्थात नमस्कार गर्छाै तव हाम्रो शरिरमा सकारात्मक उर्जा प्रवाह त हुने नै भयो यसका साथसाथै यसले मस्तिष्क तथा हृदयमा समेत अत्यन्त सकारात्मक संचार गर्दछ । नमस्कार गर्दाको समयमा हाम्रो दुबै हातको औलाहरुमा भएको हृदय चक्र र आज्ञा चक्र एक आपसमा मिल्दछन, जुन सिधै मस्तिष्क संग जोडिएको हुन्छ । नमस्कार गर्दाको समयमा दुबै हातका हृदय चक्र र आज्ञा चक्रहरु एक आपसमा मिलन भई मस्तिष्कको स्मरण शक्ति बढाउने हर्माेन हरु सक्रिय भई हाम्रो भेट लाई स्मरणिय बनाइदिन्छ, नबिर्सने बनाइदिन्छ । 


नमस्कारको प्रकार 

सामान्यतया नमस्कार तिन प्रकारका रहेका छन । 

१) सामान्य नमस्कार : कुनै व्यक्ति लाई भेटदा सामान्य तवरले दुबै हात जोडि, हल्का शिर झुकाएर केहि सेकेण्ड समयको लागी आखाँ समेत बन्द गरि गरिने नमस्कार नै सामान्य नमस्कार हो । 

२) पद नमस्कार : परिवारका मान्यजन, गुरु वर्ग तथा आमा बुबा, गुरु आदिको पाउँसमेत छोई गरिने नमस्कार नै पद नमस्कार हो । 

३) साष्टागं नमस्कार : यसलाई दण्डवत नमस्कार पनि भनिन्छ । यस्तो प्रकारको नमस्कार केवल भगवानको शरणमा मात्र गरिन्छ । 


अतः नमस्कार गर्ने परम्पराको सांस्कृतिक महत्व, मनोवैज्ञानिक महत्व तथा वैज्ञानिक महत्य अत्यन्त सुन्दर छ । नेपाली तथा हिन्दु संस्कारको गहनाको रुपमा रहेको नमस्कार परम्परा शदियाँै पहिलेदखी चलिआएको हाम्रो मौलिक पहिचान हो । यसको प्रयोग तथा जगेर्ना हाम्रो कतव्य हो ।