पशुपतिक्षेत्रका बौद्धमूर्तिहरू
अध्यात्म

पशुपतिक्षेत्रका बौद्धमूर्तिहरू



 पशुपतिक्षेत्रमा उपरोक्त शेषशायी विष्णु र उमामहेश्वर फलक जस्ता प्राचीन बुद्धमूर्तिहरू पाइएका छैनन् तापनि  पशुपतिक्षेत्रमा लिच्छविकालीन बौद्ध चैत्यका अवशेषहरू यत्रतत्र छरिएर रहेका छन्। देउपाटनमा भुवनेश्वरी मन्दिर संगैको सानो ढुङ्गेधारामा लिच्छविकालीन बौद्ध चैत्यका खण्डहरू पर्खालको ढुङ्गाका रूपमा राखिएका छन्। यसैगरी जयवागेश्वरीको ढुङ्गेधाराको सिँढीको दाँयाबाँया पनि लिच्छविकालीन चैत्यका अवशेषहरू राखिएका छन्। जयवागेश्वरी मन्दिरको ढोकामा लिच्छविकालीन चैत्यको एउटा खण्डलाई खुट्टाले टेक्ने खुड्किलोको रूपमा प्रयोग गरिएको छ। यसरी यी प्राचीन सम्पदालाई चिन्न नसकेर यसको अपमान र दुरूपयोग भइरहेको छ । अत: यी प्राचीन सम्पदाका अवशेषहरूलाई एकत्रित गरेर यथा स्थानमा सजाएर राखी यसको सम्मान र संरक्षण गर्न अत्यावश्यक छ। 

पशुपतिक्षेत्रमा पाइएका यी लिच्छविकालीन बौद्ध चैत्यहरूमा केवल गवाक्ष र फूलबुट्टाहरूमात्र अङ्कित गरिएका छन्। यी बौद्ध चैत्यहरू नेपाली चैत्य वास्तुकलाको विकासक्रमको दोश्रो वर्गका बौद्ध चैत्यका अवशेषहरू हुन्। नेपाली चैत्य वास्तुकलाको पहिलो विकासक्रमका चैत्यहरू एउटै संग्लो ढुङ्गामा बनेका र गवाक्ष एवम् फुबुट्टाहरू अङ्कित नगरिएका हुन्छन्। दोश्रो विकासक्रमका चैत्यहरूमा गवाक्ष र फूलबुट्टाहरू अङ्कित गरिएका हुन्छन् तर पशु तथा पंक्षीका आकृतिहरू भने अङ्कित गरिएका हुदैनन्। तेश्रो विकासक्रमका चैत्यहरूमा गवाक्ष, फूलबुट्टा र पशु पंक्षीका आकृतिहरू अङ्कित गरिएका हुन्छन् तर गवाक्षमा पञ्चध्यानी बुद्धका मूर्तिहरू भने अङ्कित गरिएका हुदैनन्। चौथो विकासक्रमका चैत्यका गवाक्षहरूमा पञ्चध्यानी बुद्धका मूर्तिहरू अङ्कित गरिएका हुन्छन्। त्यसकारण पशुपतिक्षेत्रमा पाइएका यी बौद्ध चैत्यहरूलाई नेपालको चैत्य वास्तुकलाको विकासक्रमको दोश्रो वर्गमा राखिएका हुन्। पशुपतिक्षेत्रका यी चैत्यहरूलाई ईस्वी छैटौं–सातौं शताब्दीताकाको मान्न सकिन्छ। 

पशुपतिक्षेत्रको मृगस्थलीमा अहिले विश्वरूप भनिने कामकामेश्वरी मन्दिरको नैऋत्य कोणमा पनि एउटा लिच्छविकालीन बौद्ध चैत्य अवस्थित छ । यसैगरी सूर्यघाट परिसरमा पनि एउटा मध्यकालीन चैत्यको त्रयोदशभुवन भाग मिल्किरहेको अवस्थामा मैले देखेको थिए। पशुपतिक्षेत्रमा बौद्ध चैत्य स्थापना गर्ने परम्परा पछिसम्म पनि कायम रहेको देखिन्छ । देउपाटनको चौबाटोमा ढुङ्गेधारानेर रहेको आधुनिक बौद्ध चैत्यबाट यो कुरा सिद्ध हुन्छ।

पशुपतिक्षेत्रका बुद्धमूर्तिहरूमा पशुपति, राजराजेश्वरीघाटको बुद्धमूर्ति उल्लेखनीय छ । राजराजेश्वरीघाटको यस बुद्ध मूर्तिले नेपालका बुद्ध मूर्तिहरूको कलाशैलीको सीमारेखाको काम गर्दछ । ईस्वी पाँचौं–छैटौं शताब्दीसम्मका बुद्ध मूर्तिहरू दुबै हात तलपट्टि झारेको अवस्थामा रहेका हुन्छन्। काठमाडौँ, बाङ्गेमुढा र चावहिलको बुद्ध मूर्ति यसका उदाहरण हुन्। ईस्वी सातौं शताब्दीदेखिका बुद्ध मूर्तिहरू दाहिने हात तलपट्टि झारेको र बायाँ हात भने बायाँ  काँधको  समतलसम्म उठाई चिवरको टुप्पालाई मुठा पारेर समातेको अवस्थामा रहेको हुन्छ । यस शैलीका बुद्धमूर्तिहरूमा पुतलीसडक, ल फर्मको बुद्धमूर्ति पहिलो हो। त्यसपछि पशुपति राजराजेश्वरीघाटको बुद्ध मूर्तिको क्रम आउछ। त्यसकारण पशुपति राजराजेश्वरीघाटको बुद्ध मूर्तिलाई नेपाली बुद्धमूर्तिको कलाशैलीको सीमारेखा मानिएको हो। 

पशुपतिक्षेत्रको मृगस्थलीमा उध्र्वपद्मपीठमाथि उभिएको पद्मपाणि बोधिसत्वको एउटा प्राचीन प्रस्तर मूर्ति अवस्थित छ । कलाशैलीमा उध्र्वपद्मपीठलाई प्राचीनशैली मानिन्छ । पशुपतिक्षेत्रका बौद्ध मूर्तिहरूमा जयवागेश्वरीको ढुङ्गेधारामा स्थापना गरिएको र अहिले राष्ट्रिय संग्रालय छाउनीमा संग्रहित बुद्ध जन्मको दृश्य अङ्कित मूर्ति नेपाली प्रस्तर मूर्ति कलाको अनुपम नमुना हो। यस मूर्तिमा बुद्ध जननी मायादेवीलाई शालभञ्जिका मुद्रामा अत्यन्तै सुन्दर रूपमा प्रस्तुत गरिएको छ । पशुपतिक्षेत्रको मृगस्थलीमा गोरखनाथको अखडासंगै  शिवलिङ्गहरूको लहरमा आधुनिककालको एउटा बुद्धमूर्ति अवस्थित छ । यसैगरी गोरखनाथ मन्दिरको सामुन्ने पट्टिको पर्खालको भित्तामा पनि आधुनिककालको एउटा बुद्ध मूर्ति अवस्थित छ । गौरीघाटबाट गुह्येश्वरी जाने बाटोमा पनि दाहिने पट्टि एउटा सानो बुद्ध मूर्ति अवस्थित छ । यसबाट पछिसम्म पनि मृगस्थलीमा बुद्धका मूर्तिहरू स्थापना गर्ने प्रचलन रहिआएको देखिन्छ। वनकालीको सानो ढुङ्गेधारानेर पनि पद्मपाणि बोधिसत्वको एउटा मध्यकालीन खण्डित प्रस्तर मूर्ति अवस्थित छ । यसरी पशुपतिक्षेत्रमा रहेका यी बौद्ध चैत्य एवम् बुद्ध तथा बोधिसत्वका मूर्तिहरूले शैव संस्कृति र बौद्ध संस्कृतिको सम्मिलन गराई अखण्ड शिव–बुद्ध समन्वयवादको सिद्धान्तलाई चरितार्थ गरिरहेका छन्।

- प्राज्ञ डा. जगमान गुरुङ।