गोरखामा प्रसिद्ध श्री अकला देवी मंदिरको भव्य पुनर्निर्माण
समसामयिक

गोरखामा प्रसिद्ध श्री अकला देवी मंदिरको भव्य पुनर्निर्माण


गोरखामा प्रसिद्ध श्री अकला देवी मंदिरको भव्य पुनर्निर्माण ॥ मेयर राजनराज पन्तबाट उद्‍घाटन ।


वर्तमान नेपालको जनक एवम् ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सुन्दरताले धनी गोरखाको जिल्ला सदरमुकामबाट १२ किलोमिटर पूर्व गोरखा नगरपालिका वडा नं. १ ताप्लेमा अवस्थित २०७२ सालको भुइँचालोबाट क्षतिग्रस्त श्री अकला देवी मंदिर पुनर्निर्माण भएको छ।


मनासलु र गणेश हिमशृंखलाहरूको मनोरम दृश्यावलोकन गर्न सकिने मंदिर रमणीय डाँडामा अवस्थित छ।


गोरखा नगरपालिकाका प्रमुख राजन राज पन्त र वडा नं. १ का वडा अध्यक्ष हिक्मत बहादुर कुँवरको हातबाट संयुक्त रुपमा उद्‍घाटन भएको मंदिर त्यस क्षेत्रमा मात्रै नभै छिमेकी जिल्लाहरूमा समेत प्रसिद्ध छ।


स्व. प्रेम नारायण पनेरूबाट स्थापना भएको मंदिर खाली आकाश मुनी, खरको छाप्रो, ढुङ्गा माटोको संरचना हुँदै यस अवस्था सम्म आइपुगेको छ। क्षतिग्रस्त मंदिर पुनर्निर्माणको लागि श्री कमल प्रसाद पनेरूको अध्यक्षतामा मंदिर पुनर्निर्माण समिति गठन गरिएको थियो। मंदिर पुनर्निर्माणको लागि आर्थिक एवम् जिन्सी सहयोग प्राप्त गर्न तिर्थ बहादुर कुँवर, नवराज पनेरू, सुदिप पनेरू, रेशम भट्ट लगायतका स्थानीय युवाहरूले सामाजिक सञ्जाल मार्फत अभियान नै सञ्चालन गरेका थिए। जसको परिणाम स्वरूप लाखौं नगद तथा गजुर, घण्टा, मूर्ति, काठ, रंग आदि जिन्सी सहयोग प्राप्त भएको थियो।


भुकम्प मैत्री एवम् आधुनिक सामग्रीहरूको प्रयोग गरि पुनर्निर्माण गरिएको मंदिर उद्‍घाटन कार्यक्रममा स्थानीय एवम् शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख अतिथि गोरखा नगरपालिका प्रमुख राजन राज पन्तको साथै अतिथिको रुपमा अरू वडाका वडा अध्यक्ष र सदस्यहरूको समेत उपस्थिति रहेको थियो।


स्थानीय तहको निर्वाचन अघि आफूले निर्वाचन जितेमा मंदिर पुनर्निर्माण गर्न सहयोग गर्ने बाचा गर्नुभएका नगर प्रमुख पन्तले आफू विजयी भएको नै श्री अकला देवीको कृपाले भएको भन्दै यस मंदिरको विकास र उन्नतीको लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।


त्यस क्षेत्रमा प्रसिद्ध श्री अकला देवी मंदिर प्रति भक्तजनहरूको छुट्टै आस्था र श्रद्धा रहेको स्थानीय श्याम बहादुर नेपालीले बताउनुभएको छ। कसैको कुनै काम अड्किएको छ वा कुनै संकट आइपरेको छ भने त्यसबाट मूक्ति पाउनको लागि अकला देवीको भाकल गर्दछन्। देवीको कृपाले धेरै भक्तजनहरूको भाकल पूरा भएको स्थानीय बताउँछन्।


पुनर्निर्माण संगै मंदिरको राम्ररी व्यवस्थापन गरी नियमित पूजाआजा गर्ने, भजन किर्तन गर्ने र विभिन्न सांस्कृतिक कार्यक्रमलाई थप निरन्तरता दिंदै पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना रहेको वडा अध्यक्ष कुँवरले बताउनुभयो।