पहिले पहिले बम्बै लैजान्थ्यो
दिल्ली अनि बैङलोर पुर्याउथ्यो
त्यो अवश्य गैरकानुनी थियो
न दले दाइले राज्यलाई कर तिर्थ्यो
न कुनै राहधानी र टिकट बेच्न पाइन्थ्यो
न नेता मन्त्रीलाई कमिशन दिन्थ्यो
केवल एउटा दले दाइ एक्लैले गर्थ्यो कारोवार
त्यसैले गैरकानुनी थियो
अहिले त मेलमिलाप छ
कानुनबाट पारित भएको छ
मौलाएको छ कारोबार
कुवेत, साउदी, लेवनानमा पनि
जताततै !
किनकी,
अब त पिता स्वयं अनुमति दिनुहुन्छ
दिलाइदिनुहुन्छ राहधानी
पितालाई रेमिट्यान्स काकालाई कमिशन चाहिएको छ
त्यसैले म्यानपावरले महिला मिशन थपेको छ
हो अचेल,
छोरी-चेलीहरु पावरफूल बनाइएका छन्
पहिला जब लगिन्थे, लुकाएर लगिन्थे
अचेल खुलेआम पठाइन्छन्
मोलमलाइ पनि कानुन सम्मत भएको छ,
हर हिसाब खाता बाटै हुने भएको छ
आखिर, बेचिने आखिर रगत पशिना नै हो
शरीर पनि हो इज्जत पनि हो
फरक के छ ?
खाडी र बम्बैमा बेचिने वस्तु एकै हो
मात्र तरिका फेरिएको हो परिणति उस्तै छ
दलालीको उचाइ फेरिएको हो नियती उस्तै छ
छोरीको दु:ख उस्तै छ, पीडा उस्तै छ
हिजो दाजु दले थियो, आज पिता स्वयं दले छ
हो, सरकार पिता हो, जो पतित भएको छ
जो छोरी-चेलीको बिकाउन यसरी समर्पित भएको छ !