कुन मन्दिरमा किन जाने ?
जिज्ञाशा

कुन मन्दिरमा किन जाने ?



पति-पत्नीको मेल गराउनु परेमाः कोटेश्वर महादेव, काठमाडौं

काठमाडौ, भक्तपुर र ललितपुरको संगममा कोटेश्वर क्षेत्र पर्दछ । कोटेश्वरको बीच भागमा अवस्थित कोटेश्वर महादेव कोटेश्वरवासीहरुका स्थानीय देवता हुन । यस मन्दिरमा पतिको आरोग्यको कामना गर्दै पत्नीहरु र पत्नीको आरोग्यको कामना गर्दै पतिहरु जाने चलन छ । कोटेश्वर महादेव पारिवारिक आरोग्य र मेलका देवता मानिन्छन । 


मोक्ष चाहिएमाः कालमोचनघाट, थापाथली 

हामी सनातन धर्मालम्वीहरु पुर्वजन्म र पुनर्जन्ममा विश्वास गर्दछौ । मानव जुनी चौरासीलाख जन्म भोग गर्दै प्राप्त हुन्छ भन्ने मान्यता छ । सनातन धर्ममा बारम्बार जन्मदै र मर्दै जानुपर्ने कालचक्रबाट मुक्ति पाउनुलाई मोक्ष पाउनु भन्दछन । 

मृत्युपछि सधैँको निम्ति मोक्ष चाहिएमा अर्थात मोक्षमा कामना भएमा अन्तिम कर्मको निम्ति तोकिएको उपयुक्त स्थान थापाथलीमा रहेको वाग्मती नदीको किनारमा अवस्थित कालमोचन घाट हो । टुकुचा र वाग्मतीको संगम यस तीर्थ अहिले वाग्मती नदीको प्रदुषणसँगै ओझेलमा 

परेको छ । 


पितृहरुलाई तार्नु परेमाः उत्तरकाशी गोकर्ण, काठमाडौ 

काठमाडौ, जोरपाटी र सुन्दरीजलको बीचभागमा वाग्मतीको किनारमै एउटा विशाल शिव मन्दिर, गोकर्णेश्वर नामले प्रसिद्ध छ । यस मन्दिर परिसरको क्षेत्र उत्तर काशीको नामले चिनिन्छ । त्यहाँ श्राद्ध गर्ने गर्दछन ।


अन्तरिक्षमा सन्देश पुर्याउनु परेमाः वहिरा गणेश, मृगस्थली 

काठमाडौँ पशुपति क्षेत्रमा रहेको जंगल (मृगस्थली)  अन्तरगत विश्वरुपा मन्दिरको दक्षिणतर्फ बहिरा गणेशको मुर्ति सहितको मन्दिर छ । विशेष गरेर मार्गकृष्ण पक्ष चतुर्दशीमा आफ्ना विगंत पितृहरुको पुण्यलोकको कामना गरी सतवीज छर्ने क्रममा वहिरा गणेशलाई घच्घच्याउने प्रचलन छ । त्यस्तो गरेमा ती गणेशले आफ्ना सन्तानहरु सतवीज छर्न आएको आएको कुरा पितृहरुलाई अन्तरिक्ष (सर्ग) सम्म पुर्याइदिन्छन भन्ने मान्यता छ । 


बच्चाको सातो गएमाः नृसिंह, काठमाडौ 

भगवान विष्णुका दशा अवतार मध्ये नृसिंह एक अवतार मानिन्छन । उनको एउटा प्रसिद्ध मुर्ति हनुमान ढोकाबाट भित्र पस्दा दायाँपट्टि पर्दछ । कुनै बच्चा तर्सिएमा वा उसको सातो गएमा यी नृसिंह देवतालाई पूजा गरिन्छ । नृसिंहको जन्तर बनाएर लगाउने चलन छ ।  


गोसाईकुण्ड जान नसकेमाः कुम्भेश्वर ललितपुर 

ललितपुरको मध्यभागमा अवस्थित पाँचतले कुम्भेश्वर मन्दिर एकीकृत काठमाडौँका मल्लराजा जयस्थिति मल्लले निर्माण गरेका हुन । यस मन्दिरको हाताभित्र एउटा पोखरी छ । यो प्राकृतिक मूल फुटेर बनेको हो । यसका निर्माणकर्ताले पोखरी निर्माण गर्दा पाइएका मूर्तिहरु पोखरीको वरपर स्थापित गरिदिएको भन्ने भनाई छ । 

यहाँको पानीको मूल रसुवाको गोसाईकुण्डदेखि आएको हो भन्ने विश्वास गरिनछ । त्यसैकारण यहा जनैपूर्णिमा विशेष मेला लाग्ने गर्दछ । नेवारहरुमा पतिपत्नी सँगै गोसाईकुण्ड जाने चलन छैन । यसरी गएमा विछोड हुन्छ भनाइ छ । तर, यस कुण्डमा दुवै स्नान र पुजाआजा गर्ने गरेको पाइन्छ । 


हिंगलादेवी पाकिस्तान जान नसकेमः हिंगलादेवी मृगस्थली 

हाल पाकिस्थानमा पर्ने१०८ शक्तिपीठ मध्येको एक हिंगलादेवी हिन्दुहरुमात्र नभई अन्य धर्मालम्बीहरुको समेत आस्थाको केन्द्र मानिन्छ । भारतको राजस्थान स्थित थार मरुभूमि पार गरेर जानुपर्छ । त्यहाँ जान चाहने तर जान नसक्नेहरुका निम्ति पशुपति मृगस्थलीमा हिंगलादेवी छन । मनकामनास्थानको पश्चिमपट्टि रहेकी यी देवीको दर्शन गर्नाले मनोकाक्षां पूर्ण हुने मान्यता छ ।