तीर्थ शब्दको परिचय
जिज्ञाशा

तीर्थ शब्दको परिचय


सन्तोष भारद्वाज देवघाटधाम,तनहूँ


धार्मिक महत्त्वले भरिपूर्ण देवभूमी ,हाम्रो देश नेपालमा विश्वसामु छुट्टै अस्तित्त्व बोकेको तीर्थहरुको कमि नभए पनि आजको जनमानसमा तीर्थहरुको यथार्थ महत्त्व अझै पुग्न सकेको छैन ।“ नजिकको तीर्थ हेला” भन्ने उखान चरितार्थ भएको छ ।


तीर्थ भन्नासाथ हाम्रो मानव मस्तिकमा धार्मिक विशेषता युक्त स्थल भन्ने बुझ्ने गरेका छौं । पाणिनीया व्याकरणमा भने प्लवन र तरण अर्थमा रहेको तृ धातुदेखि थक् प्रत्ययको योगबाट तीर्थ शब्द सिद्ध हुन्छ । अमरकोष अनुसार निपान ( पानी , पोखरी ) आगमशास्त्र , ऋषिहरुद्वारा सेवित जल र गुरुलाई तीर्थ शब्दले बुझाउछ । अर्को ऋषिमुनि र सिद्ध पुरुषहरुद्वारा सेवित प्रसिद्ध नदी वा नदीहरूको सङ्गमलाई तीर्थ शब्दले लक्षित गरेको छ । शब्द कल्पद्रुममा तीर्थहरूलाई तीन भागमा विभाजन गरिएको छ । जङ्गम तीर्थ , मानस तीर्थ र स्थावर तीर्थ , कर्म निष्ठ ब्राह्मण र साधु सन्तहरू जङ्गम तीर्थ हुन् भने सत्य , क्षमा , दया , आदि मानस तीर्थ हुन् ।


काशी , गया , मुक्तिनाथ आदि स्थावर तीर्थ हुन् । यज्ञ बाट प्राप्त हुने फल तीर्थ स्नान बाट पनि  प्राप्त गर्न  सकिन्छ। हाम्रो मार्ग निर्देशन गर्ने पुराणहरूमा पनि भनिएको छ :- तीर्थ स्नान गर्नाले पशुपन्छी भएर जन्मिनु नपर्ने , स्वर्ग र अन्त्यमा मोक्ष समेत प्राप्त हुन्छ भनी व्याख्या गरेको पाइन्छ ।