जंगबहादुर राणा र लामापाथी
इतिहास

जंगबहादुर राणा र लामापाथी


. . . . .मोहन लामा रुम्बा 

प्रधानमन्त्री जंगबहादुर राणाले नवलपुर घ्याँको छोटोप दोर्जी लामालाई दिएको लामापाथी उठाउने अधिकार…… 

"स्वस्तिश्रीमद् राजकुमारात्मज श्रीप्राईमिनिष्टर यान् कमाण्डर इन चीफ जनरल जङ्गबहादुर कुंवर राणाजी कस्यपत्रम् ---

आगे भादगाउँ ठिमिवोडे नकदेम चोरपुर लुभुभर अम्वलका सुव्वा द्वान्या पर्धान्या महान्याम लामा निसरैति गैह्रकै यथोचित उप्रान्त सोहि अम्वलमा बसि १ को जपध्यान पूजापाठ गरि २ को जय मनाई तंले कवोल गर्याकाभर अम्वल भित्रका रैतिहरुको हिउंदबर्षे वालिमा असिनावचाई वाली भित्र्याउन दिनु कदाचित् वालिमा असिनापरि वाली नोकसान भयोभन्या टलसिंमोही वोटिको वाली तेरा घरघरानाबाट बुझाउनु हिंजोका लामाले निमिषाई आएवमोजिम अमाल अमालमा गै बुझारथ गरि आफ्ना अम्वल भित्रका रैतिशीत लामापाथी उठाई खानु भनी नवलपुर घ्याँको छोटोप दोर्जी लामालाई दसखत गरिदियाको छ,सो वमिजिम तिमिहरुले पनि आफ्ना आफ्ना वालिमा अषिना देखि वचाउ गर्नलाई लामापाथि भरिदेउ ।इति सम्वत १९०५ साल मिति फागुण वदि ६ रोज शुभम् ।"

भादगाउँ(भक्तपुर) क्षेत्र तिरका जनतालाई अषिना देखि बचाउ गर्न लामापाथी भरिदेउ भनेर हुकुम जारी गरेको रहेछ यदि कदाचित असिना परि बाली नोक्सानी भएको खण्डमा लामाको घरघराना बाट बुझाउनु पनि भनेको रहेछ यस्तो चुनौती लाई त्यो पनि जंगबहादुरको चुनौती लाई स्विकार्दै असिना रोक्न बस्ने लामा कुनै ख्याल् ख्यालको कुरा पक्कै होइन अहिलेको पिढिलाई त झन् हाँसो लाग्ला तर त्यतिबेला हठ योगी तान्त्रिक लामाहरु हुन्थे गर्थे।

यसै प्रसंगमा सम्झना आयो हाम्रो गाउँमा दुई जना सुर्य प्रसाद घिमिरे र बालकृष्ण घिमिरे दुई दाजुभाइ हुनुहुन्थ्यो हाम्रो काका बाउले पुजा गरेको ठाउँमा जहाँ पनि टुप्लुक्क आउनु हुन्थ्यो, म सानै छँदा लुम्बिनी जाँदा पनि संगै गएको थियो यो धेरै अगाडिको कुरा हो त्यतिबेला अहिलेको जस्तो लुम्बिनीमा सार्वजनिक गाडी चल्दैन थियो न त बाटो नै अहिलेको जस्तो पक्की थियो।

यि घिमिरे दाजुभाइ किन लामा प्रति मोहित भएको थियो भनेर त्यतिबेला त थाहा भएन म पनि भुराभुरी नै थिएँ, केही महिना अगाडि उनको नाती संग प्रसंगवस कुरा चल्दा पो थाहा पाएँ कुरा यस्तो रहेछ।

उनको हजुरबुबा बाल्यकाल हुँदाको एउटा घटना घटेको रहेछ, झमक्क साँझ परेको बेला एकजना बृद्धअबश्थाको लामा वास माग्न आयो रे लामालाई खानपिन गराएर पिंढिमा सुत्ने व्यवस्था गर्दै गर्दा ठूलो हावाहुरी मेघ गर्जन सहित असिना पानी पर्न थालेपछि ओहो अब बालिनाली नाश हुने भयो चिन्तित हुँदै कुरा गर्दा लामाले "आ बाजे चिन्ता लिनु पर्दैन ढुक्कसँग सुत्नु केहि हुदैन भनेर घर भित्र सुत्न पठाएछ, रातभर हावाहुरी पानी पर्‍यो भोलिपल्ट बिहानै उठेर ढोका खोलेर हेर्दा हिजोको लामा छैन कतिखेर हिंडी सकेछ तलतिर खेतीपाती हेर्न पर्‍यो भनेर जाँदा एकै ठाउँमा असिनाको थुप्रो लागेको देखेर छक्क परेछ त्यसपछि हजुरबुवा लाई ज्युज्यु बुबाले तिमीहरूले लामालाई कहिल्यै नछोड्नु है लामा संग तान्त्रिक शक्ति हुन्छ भनेर अर्ती दिएको भएर हाम्रो हजुरबुवा प्रायः लामाले गर्ने पुजामा जहाँ पनि सरिक हुने गर्नुहुन्थ्यो भनेर बताए।

अहिले त्यस्तो हठ योगी तान्त्रिक लामाहरु मैले देखेको छैन भनुँ वा मेरो सम्पर्कमा छैन यसको लागि लामाको आहारबिहार शुद्ध हुनुपर्छ तरकारीमा लहसुन प्याज परहेज देखि दैनिकी रूपमा इन्द्र देवको (ह्ला वाङ्पो)अनुष्ठान गर्दै बज्र (दोर्जे)भुँइमा गाडेर एकान्त निर्जन स्थान ओढारमा जप साधना गरेर सिद्ध हुनुपर्ने हुन्छ।

यस पत्र बाट के बुझ्नुपर्ने हुन्छ भने यहाँ नेपालमा तँ- हिन्दु म- बौद्ध भनेर कित्ताकाट २००७ सालदेखि आधुनिक युगको प्रारम्भ भएपछि बाट मात्रै जनस्तरमा भएको हो त्योभन्दा अगाडि धर्म एउटै थियो त्यो हो सनातन ! बाँकी फरकफरक आआफ्नो जातीय कुलधर्म हो भन्दै मानी आएका थियौं सबैले। त्यसैले होला पृथ्वीनारायण शाहले इसाई पादरीहरु लाई चार भञ्ज्याङ् कटाएर लगारे पछी आआफ्नो कुल धर्म थामी खानु भनेर उर्दी जारी गरेको !

अत: आआफ्नो कुल धर्म जोगाऔं।

जय सनातन !!

(तस्बिर सौजन्य: खोजराज गोले उहाँले दोलखा झ्याँकु निवासी सुन माया मोक्तान बाट प्राप्त गर्नुभएको रहेछ)