नेपाली बनौँ, नेपाली भनौं
विचार

नेपाली बनौँ, नेपाली भनौं


सत्ययुगमा सत्यावती, त्रेतायुगमा तपोवन, द्वापरयुगमा मुक्तिसोपान, र हाल कलियुगमा नेपाल नामले परिचित हिमवत्खण्डको पवित्र भूमि सृष्टि कालदेखि धर्म, अध्यात्म तथा ज्ञान विज्ञानको केन्द्रका रुपमा रह्यो। दिव्य हजारौं वर्षदेखि महान ऋषिमुनि तथा तपस्वीहरूको साधना भूमिको रुपमा यस क्षेत्रले आफ्नो गरिमा, यश किर्ति फैलाउदै अगाडि बढ्यो। हिमवत्खण्डको अटुट पावन पवित्र भुमि नेपाल, वेदको रचना भएको, वैदिक ज्ञानको सम्पादन भएको, प्रथम पटक सभ्यता, संस्कृति र सुसंस्कारको अनुशीलन भएको क्षेत्रको रुपमा सर्वप्राचिन, सर्वप्रचलित र सर्वसम्मानित रहदैं आएको छ। समग्र भारतवर्षको केन्द्र तथा वैदिक ज्ञान दर्शनको मूल जननी भूमिको रुपमा विश्वले नेपाललाई चिन्दछ। यो नै नेपाल र नेपालीको गौरवको विषय हो। 


प्रथम पटक मानव सृष्टि भएको कालिगण्डकी क्षेत्र आज पनि विश्वका सनातनी वर्णाश्रम धर्मका अनूयायिहरूले मोक्षको कामना गर्ने साक्षात देवालोकको रुपमा प्रख्यात नै छ। शालिग्राम बग्ने कालिगण्डकी नदीको बारेमा ऋग्वेदमै व्याख्या भएको हुनाले पनि यसको अझ विशेष महत्व रहेको छ। साथै विश्वका प्रथम शासक तथा भगवान मनु महाराजले यसै भुमिबाट शासन गरेर विश्वमा समाज, सभ्यता, धर्मराजनीति आदिको पाठ सिकाउनु भयो। संस्कृतका महान व्याकरणाचार्य महर्षि पाणिनि यहि अर्घाखाँचीमा जन्मिएका थिए। कौशिक ऋषिले सप्तकोशी नदि तटमा प्रथम पटक गायत्रीको उपसाना गरे। पंचपाण्डव यहि प्युठान-स्वर्गद्वारीबाट स्वर्गलोकको प्रस्थान गरे। महर्षि पतंजलिले योग र आयुर्वेदको ऋचा यहि कोरे। तिनै महान ऋषिमुनि तथा दिव्य आत्माहरूको  तप, तपस्या र योगबलको फलले यस धर्ति आजपनि पुलकित छ। नेपाली माटो त्यस्ता दिव्य महापुरुषहरूको यश किर्तिले धन्य छ। 


शिरमा कैलाश मानसरोवर तथा भगवान शिवको तपस्थालीका रुपमा परिचित हिमश्रृंखलाले नेपालको सम्पन्नताको परिचय दिन्छ। अग्ला हिमश्रृंखला र पर्वतहरू हाम्रो सभ्यताको जननी हो। तिनै हिमालका काखमा साधना गरेर हाम्रा ऋषिमुनि पिता पुर्खाले जीवन दर्शन सभ्यता र संस्कृतिको खाका कोरे। हामी तिनै ऋषिमुनि र पिता पुर्खाका सन्तति हौँ। जसरी लामो साधना र संघर्ष पछि जीवनमा सफलता प्राप्त हुन्छ, त्यसरी नै अनेकौं जन्ममा संचित पुण्य कर्मको फलस्वरुप नेपालमा जन्म हुन्छ। नेपालमा जन्म लिनु भनेकै तप साधनाको लागि हो। देवभूमि नेपालमा जन्मिने हरेक व्यक्तिले विश्वलाई सभ्य शुसंस्कृत बनाउने जिम्मेवारी बोकेर नै जन्मिन्छ। धर्म अध्यात्मको अमृतमयी फल विश्वलाई सेवन गराई तृप्त गराउनु सनातनी वर्णाश्रम धर्म अनुयायी नेपालीको प्रमुख कर्तव्य हो। 


कैलाश क्षेत्रबाट प्रवाहित जलधाराको रुपमा सप्त गण्डकी, सप्त कर्णाली र सप्तकोशी सहितका २१ हिमगङ्गाले नेपाल भुमि सिंचित छ। हाम्रा नदीहरु जिवन र संस्कृतिका आधारहरू हुन्। तिनै नदीले प्रवाहित गरेका खेतका गर्र्हा, र फाटहरु हाम्रो अन्नभण्डार हुन्। ति नै हाम्रो संस्कृति र चाडपर्वको धरोहर हुन् ।  प्रकृतिसंग नै सामंजस्य गरेर मनाईने हाम्रा हरेक चडपर्वहरुमा यहाको ढुङ्गा, नदि, माटो, वृक्ष र जीव जनावरको पुजा अर्चना गरिन्छ।  सम्पुर्ण प्राणि जगतलाई आफ्नो परिवार ठान्ने हाम्रो जीवन दर्शनमा राम राज्यको स्पन्दन भेटिन्छ।  


राजनैतिक सिमाना फेरबदल भईरहेपनी हिमवत्खण्डको सांस्कृतिक सामाजिक र धार्मिक एकता कहिल्यै विभाजित भएन।  उत्तरमा कैलाश मानसरोवर, पूर्वमा ब्रम्हपुत्र, दक्षिणमा गङ्गा तथा पश्चिममा कश्मीर-सिन्धु नदिसम्मको क्षेत्र पवित्र हिमवत्खण्ड हो। त्यसको अविछिन्न उत्तराधिकारी नेपाल नै हो । हामी नेपाली नागरिकले यस अर्थमा गर्व गर्नु पर्छ कि हाम्रा पुर्खाको साधना, तपस्या, अगम्य राष्ट्रप्रेम र बिरताको कारण हामी कहिल्यै पराधिन भएनौ। हाम्रा महान पुर्खाले यस देवभूमिमा फिरिंगी (म्लेच्छ) हरूको प्रत्यक्ष शासन हुनबाट मुलुकलाई बचाए। 


नेपाल एकिकरण गर्ने अभियानमा गुरु गोरखनाथ लगायत सिद्ध महापुरुष, योगी तथा साधुहरूको साथ थियो। "जय जय काली जय जय गोरख" को नारा सहित नेपाली/गोर्खाली सेना युद्ध मैदानमा होमिन्थ्यो। देवीस्थान तथा मन्दिरहरूमा भाकल गरि पञ्चबली सहितको पुजाअर्चना गरेर युद्धको घोषणा गरिन्थ्यो । बिर रसको छन्द गीति काव्य तथा पञ्चै बाजा र नगराहरुले युद्ध मैदान गुञ्जायस हुने गर्दथ्यो। नेपाल निर्माण अभियानको प्रमुख धेय नै वैदिक भूमिको पवित्रतालाई म्लेच्छहरूबाट जोगाउनु थियो।नेपालीको शिरको टोपी कैलाशको प्रतिक हो भने कम्मरको खुकुरी देवी दुर्गाको प्रतिक हो। शिरमा कैलाश-शिवस्वरूप टोपी पहिरिएर हिडने तथा कम्मरमा देवी दुर्गाको चिनो भिरेर हिडने गोर्खाली नेपाली जाती विश्वमा कसैसंग डगमगाएको इतिहास छैन। देवी दुर्गाको भक्त तथा सत्य र धरमको मार्गमा हिडनेलाई बहादुर भनिन्छ। क्षात्रतेजले युक्त नेपालीले आजपर्यन्त आफ्नो नाममा बहादुर लेख्ने गरेका छन्।