दरबार हत्याकाण्ड
विचार

दरबार हत्याकाण्ड


मैले अहिलेसम्म मदन भण्डारी होस् वा दरबार हत्याकाण्डको सन्दर्भमा कहिल्यै पोस्ट बनाएर हालिन, सकेसम्म यो कालो दिन भुल्न चहान्छु र यस्तो फ़ेरि कहिल्यै नहोस् भन्ने कामना गर्छु, चिन्तित हुन्छु, उपाय सोंच्ने गर्छु।

तर आजभोलि सामाजिक संजालमा फ़ेरि यही घटनालाई लिएर कॉन्सपिरेसी थिअरीजमा कपोकल्पित कुरा गर्दै समाजलाई द्विगभ्रमित पारेर "हिरोगिरी" बन्ने होडबाजी चल्दै गइरहेको देखिन्छ।


अहिले त युट्युबको जमाना आयो हिजो सामाजिक संजाल नभएको बेला यही विषयमा "हिरोगिरी" बन्न सनसनी कुरा लेखेर पुस्तक पत्रपत्रिका बिक्री गर्न थुप्रैले पुस्तक लेखे, हालालुछ गरिगरी खोजीखोजी पुस्तक पढे तर आज आएर तिनै लेखकले "मैले त गणतन्त्र ल्याउनलाई राजाको साख गिराउन भनेर लेखेको थिएँ " भनेर नलजाईकन भन्न भ्याए ! अर्को थियो बाबुराम भट्टराईको "कोत पर्वलाई मान्यता दिन हुँदैन" भनेर सनसनी लेख लेख्ने तिनले पनि यसपालि आएर मैले त अनुमानमा मात्रै भनेको थियो भनेर हात टकटकाए ! अर्को प्रचण्ड थियो भारतिय राजदूत राकेश सुदको अगाडि बसेर हत्याकाण्डको अनुसन्धान गर्न आयोग बनाउछौं भनेर नारायणहिटी दरबारमा बसेर बोलेको थियो तर त्यस देखि यता यस्तो जेठ १९ कतिवटा आए गए !!


कुनै दिन जुलियन असान्जे जस्तोले विक्लिकस मार्फत यो घटना "लिक" गराएछ/हुन पुगेछ भने पनि हामी त्यो दिन ट्वाल्ल परेर हेर्नु बाहेक अर्को गर्नसक्ने केही ल्याकत राख्दैन ! यो तितो यथार्थ हो। धेरै पुरानो कुरा होइन सबैलाई थाहा भएको कुरा एकजना सांसद मिर्जा दिलसाद वेग लाई दिन दहाडै गोली हानेर मार्‍यो उता मलेसिया बाट छोटे राजनले मैले मारेको हो भनेर मिडियामा सार्वजनिक जानकारी दियो त्यसपछि हामीले के गर्‍यौं ? तैं चुप मैं चुप भयौं ! फाइल बन्द भयो भने यो त झन् पुरै राजसंस्थाको वंश विनाश हत्याकाण्ड पर्‍यो यसमा संलग्न कस्ता कस्ता छोटे राजन होला ? 


एकपटक आँखा चिम्लेर सोंचौ !  उदाहरण हेर्न टाढा किन जाऔं छिमेकी भारतमा राजीव गान्धी हत्याकाण्डको त फाइल कुम्लोमा पोको पारेर चुपचापले बस्न पर्‍यो भने नेपालको धेरै ठूलो ठुलो कुरा नगरौं ! 

सन् १९९१ मा राजीव गान्धी हत्याकाण्डमा सबैको औंलो तामिलनाडु कांग्रेसको प्रमुख र उप प्रमुख नेता  जीके मूपनार र जयन्ती नटराजन भन्ने तर्फ घुम्दै थियो।  राजीव गान्धी तामिलनाडु एअरपोर्ट झरेदेखि विभिन्न कार्यक्रममा एउटै कारमा झन्डै ५० किलोमिटर साथमा हिंड्ने यी तामिल नेताहरू जब मञ्च तर्फ लाग्दै गरेको बेला मुपनार लाई एकाएक सिग्रेटको तलतल लागेर एउटा कुना तिर गएको बेला बम बिस्फोट हुने भने अर्को जयन्ती नटराजन भन्ने चाहिँ कार्यक्रम स्थल बाट नै गायप थिइन्। त्यतिमात्र होइन तामिलनाडुको उच्च स्तरको कुनै पनि नेता त्यो घटनामा परेन ! त्यसपछिका दिनहरु त्यही कांग्रेस पार्टीको एक लौटी सरकार नै थियो थप अनुसन्धान लाई अगाडि बढाएन बरु राजीवको छोरीले ती हत्या काण्डमा संलग्न लाई आममाफी दिनु भनेर भन्न पुगिन।


त्यस्तै अमेरिकाको जॉन एफ कैनेडीको घटना पनि रहस्यकै गर्भमा बसेको झन्डै ६० बर्ष पुग्न लाग्दा पनि चित्तबुझ्दो रिपोर्ट अहिलेसम्म पाउन सकेको छैन। नेपालको भीषण राजदरबार हत्याकाण्ड बारेमा लम्बाई चौडाइ कुरा गर्नै पर्दैन तत्कालीन सेनापती हाल नभए पनि हत्याकाण्डको भोलिपल्टै भारत गएकी देव्यानीलाई साथमा राखेर कुरा गरे भइ हाल्यो ! अर्को विवेक शाह छन् उनलेे कसरी सैनिक ब्यारेकमा पत्रकार सम्मेलन कसको निर्देशनमा किन गरेको थियोे भनेर बुझे भइहाल्छ।


उक्त भोजमा गिरिजाप्रसाद लाई पनि बोलाउन खोज्नुको कारण के थियो ? धन्न राजा बिरेन्द्रले पारिवारिक भोजमा पर्दैन बोलाउन भनेर बालुवाटार जोगेछ ! बालुवाटार र नारयणहिटी एकैपटक शुन्य बनाएर गर्न खोजेको के थियो ?घटना घटेको रातभर गिरिजाप्रसाद लाई अस्पतालमा अघोषित नियन्त्रणमा किन राखे र राजा ज्ञानेन्द्र लाई त्यो रातभर गजुरी ब्यारेकमा किन नियन्त्रणमा राख्यो त्यो आदेश दिने प्रज्वल शमशेरलाई पनि आदेश कहाँबाट आइरहेको थियो ?


दरबार हत्याकाण्ड भएपछि राजा ज्ञानेन्द्र संग दुईवटा विकल्प थियो एउटा छिमेकी चीन वा रुसमा शरण लिन गएर नेपालमा भएको सबै नालिबेली खोलेर बोल्ने ! अर्को आँखा चिम्म पारेर चुपचापले राजसंस्था जोगाउने ! पहिलो मध्ये दोस्रो विकल्प चुने। त्यसैले घाँटी घाँटी सम्म आएको कुरालाई पनि राष्ट्रिय अन्तर्राष्ट्रिय वस्तुगत परिस्थिति हेरेर मौन बसिरहन बाध्य छ कुरा यति हो, यति हो पारसको मानसिक बिछिप्त हुनका कारण पनि सबै कुरा थाहा भएर पनि मौन बसिरहन पर्ने वाध्यतालाई राजा ज्ञानेन्द्रको कमजोरी ठानेर अहिले सामाजिक संजालमा कोही वकिल कोही न्यायाधीश कोही CID बनेर गफ छाँटी रहेकोे देख्दा हग्ने लाई भन्दा देख्नेलाई लाज भनेको जस्तो भैरहेको छ।


राजा ज्ञानेन्द्रले पटकपटक अनुसन्धान गर्न आग्रह गरेको गरेकै छ उनलेे गद्दी छोडेर जाने बेलामा अन्तिम पत्रकार सम्मेलन गर्दा पनि थप अनुसन्धान गर्न आग्रह गर्दै दरबार छोडेर हिंडेका हुन। राजतन्त्र गएपछि गणतन्त्र आएको छ सार्वभौमसत्ता पाएपछि अनुसन्धानलाई अगाडि बढाउन गणतन्त्रवादीहरुलाई अहिलेसम्म के ले रोकेको छ ? तर एउटा मर्यादित संस्था माथि मेरो अनुमान् मेरो विचारमा मलाई यस्तो लाग्छ भन्दै यस्तो जघन्य आरोप सार्वजनिक मिडियामा आएर जोसुकैले जोसुकैलाई जहाँसुकै बोल्दै लेख्दै हिंड्न कानुनी छुट पाइन्छ र ? यो अराजकताको परकाष्ट होइन ?